विराटनगर । घटना नम्बर एकः झापा दमककी ४० वर्षीया माया राई (नाम परिवर्तन) गर्भपतन गराउन घरदेखि करिब पाँच किलोमिटर पश्चिम मोरङको उर्लाबारी नगरपालिका–६ मधुमल्लारोडमा आइन् । उनको गर्भमा ५ महिना १३ दिनको भ्रूण थियो । उनले २५ हजार रुपैयाँ तिरेर मधुमल्लारोडस्थित आश्रय मेडिकल हलमा औषधि सेवनबाट गर्भपतन गराइन् । उनले गर्भपतन त गराइन् । तर, उनले गराएको गर्भपतन सुरक्षित थिएन । असुरक्षित गर्भपतनले निम्त्याएको जटिलताका कारण उनले आइतबार मृत्युवरण गरिन् ।
उनले गर्भपतन गराउन औषधिको प्रयोग गरेकी थिइन् । औषधि सेवनपछि उनको अत्यधिक रक्तश्राव भएको थियो । अत्यधिक रक्तश्राव र सङ्क्रमणका कारण उपचारकै क्रममा आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भयो । पछि थाहा भयो कि गर्भपतन गराउने अनुमति नै नपाएको मेडिकल हलमा उनलाई गर्भपतनको औषधि दिइएको रहेछ । मायाको मृत्यु भएपछि प्रहरीले आइतबार असुरक्षित गर्भपतन गराएको आरोपमा मेडिकल पसल सञ्चालन गर्दै आएको झापाको दमक घर भएका ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । घिमिरेको मेडिकल हलमा जेठ ३२ गते गर्भपतन गराउनका लागि ती महिला पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए । ‘आश्रय मेडिकल हल पुगेकी मायालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ । मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएका थिए । मायालाई कुन औषधि दिइएको भन्ने खुल्न सकेको छैन ।’
घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ । घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि महिलालाई रक्तश्राव हुन थाल्यो र नरोकिएपछि उर्लाबारीको मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा थप उपचारका लागि घिमिरेले नै लगेका थिए । ‘गम्भीर अवस्थामा अस्पताल पुगेकी मायालाई चिकित्सकले परीक्षण गर्दा गर्भपतन भइसकेको पत्ता लाग्यो’ –डिएसपी दाहालले भने । अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर रहेको र यहाँभन्दा पनि सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेका थियौँ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले भने, ‘उनको परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि यहाँ नै उपचार थाल्यौँ । रक्तश्राव रोक्न र गर्भभित्रको भ्रूण निकाल्नका लागि शल्यक्रिया गरे पनि रक्तश्राव रोकिएन ।’
बिरामीको शरीरमा ‘हेमोग्लोबिन’ को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डाक्टर साहले बताए । शनिबार राति नै थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्दैगर्दा आइतबार बिहान पौने ४ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरी मोरङ अदालतमा सोमबार ज्यानसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
घटना नम्बर दुईः असुरक्षित गर्भपतनका कारण तेह्रथुममा पनि एक महिलाको मृत्यु भयो । २६ हप्ताको गर्भपतन गर्न खोज्दा तेह्रथुमको म्याङ्लुङ नगरपालिका–३ की ३५ वर्षीया महिलाको मृत्यु हुन पुग्यो । यो घटना २०७७ साउन महिनाको हो ।
उनले गर्भपतन गराउन औषधिको प्रयोग गरेकी थिइन् । औषधि सेवनपछि उनको अत्यधिक रक्तश्राव भएको थियो । अत्यधिक रक्तश्राव र सङ्क्रमणका कारण साउन २ गते उपचारकै क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भयो । पछि थाहा भयो कि गर्भपतन गराउने अनुमति नै नपाएको एक संस्थाले उनलाई गर्भपतनको औषधि दिएको रहेछ ।
उल्लेखित घटना प्रतिनिधिमूलकमात्र हुन् । यसरी नेपालमा बर्सेनि लाखौं महिलाले असुरक्षित गर्भपतन गराउँदै आएको तथ्याङ्कले देखाएको छ । सामान्यत गर्भ रहेको केही समयपछि महिलाले आफ्नो स्वेच्छाले गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । तर, सर्वसुलभ सेवा र सही जानकारी नहुँदा महिलाहरू ज्यानै जोखिममा पारेर असुरक्षित गर्भपतन गराउन बाध्य छन् । यी दुई घटनाले पनि नेपालमा डरलाग्दो असुरक्षित गर्भपतनको समस्यालाई स्पष्ट पार्छ । कानूनी रूपमा सुरक्षित गर्भपतन सुरु भएको २१ वर्ष पुगिसक्यो । २०५९ साल असोज १० गते गर्भपतनले कानूनी मान्यता पाएको थियो । नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था भए पनि सुरक्षित गर्भपतनको बारेमा ५९ प्रतिशत महिलालाई थाहा नै छैन । सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था, तालिमप्राप्त स्वास्थ्यकर्मी र औषधिबाहेक अन्य तरिकाबाट गरिएको गर्भपतन असुरक्षित हो । तर, यही जानकारीबाट अधिकांश महिला अनभिज्ञ छन् । त्यसैले त सुरक्षितभन्दा असुक्षित गर्भपतन गराउनेको सङ्ख्या धेरै छ । नेपालमा बर्सेनि ३ लाख २३ हजार बढी गर्भपात गराएको वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) को अभिलेखमा देखिन्छ । जसमध्ये ४२ प्रतिशत महिलाले मात्र मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गराउँछन् । बाँकी ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउँदै आएका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी नर्सिङ कम्युनिटी अधिकृत कविता अर्यालले हाल देशमा १५ सय स्वास्थ्य संस्था सुरक्षित गर्भपतनको सेवा दिन सूचीकृत भएको बताइन् । सूचीकृत स्वास्थ्य संस्थाबाट वि.सं. २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । ‘असुरक्षित गर्भपतनको एकिन तथ्याङ्क भने सुरक्षितको जस्तो लिन सहज छैन’ उनले भनिन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार देशभर हाल १५ सय स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ । सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि करिब ४ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।
कोशी प्रदेशमा मात्र एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७८÷०७९ मा कोशी प्रदेशमा सो संख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो ।
कसरी रोक्ने असुरक्षित गर्भपतन ?
सुरक्षित गर्भपतन गर्न पाउनु महिलाको अधिकार हो । तर, यही अधिकारबारे तिनै महिलाहरू जानकार छैनन् । सुरक्षित गर्भपतन सेवालाई सर्वसुलभ र सबैको पहुँचयोग्य नबनाएसम्म असुरक्षित गर्भपतन नरोकिने डाक्टर बालकृष्ण साहले बताए । ‘ग्रामिण क्षेत्रका महिलाहरूमा सुरक्षित गर्भपतन सेवाबारे ज्ञानको कमी छ’ उनले भने, ‘सबैको पहुँचमा छैन । त्यसैले सचेतना फैलाउन पनि जरुरी छ ।’
उनले भने, ‘महिलाहरूमा कुन अवस्थामा गर्भपतन गराउन पाउने, कानूनी मान्यताबारे जानकारी छैन, ज्ञानको कमी छ, पहुँच छैन । यही कारणले असुरक्षित गर्भपतनमा कमी आउन सकेको छैन ।’ ऐनले विभिन्न व्यवस्था गरे पनि त्यसको कार्यान्वयन फितलो भएको उनले बताए । सरकारले सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन, मेडिकल गर्भपतनलाई सर्वसुलभ बनाउन, मान्यता प्राप्त स्वास्थ्य संस्था बढाउनमा जोड दिनुपर्ने उनले बताए ।
‘असुरक्षित गर्भपतनले निम्त्याउँछ समस्या’
डा. बालकृष्ण साह
असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले बताए । उनका अनुसार असुरक्षित गर्भपतनले अत्यधिक रक्तश्राव हुने, औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने, प्वाल पर्ने, सङ्क्रमण हुन सक्ने जोखिम हुन्छ । पटक–पटक गर्भपतन गर्ने महिलामा बाँझोपनाको समस्या हुने उनले बताए । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा महिलाको ज्यान पनि जान सक्छ ।
मान्यताप्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर नपर्ने उनले बताए । तर, समाजको डर र अनिच्छित गर्भधारण आदिका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराइन्छ ।
यस्तो छ कानूनी व्यवस्था ?
सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको परिच्छेद ४ मा सुरक्षित गर्भपतनसम्बन्धी विभिन्न व्यवस्था गरेको छ । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् । यो ऐनले २८ हप्तासम्मको गर्भ पनि गर्भपतन गराउन पाउने व्यवस्था गरेको छ ।
जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा, भू्रणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भू्रणमा खराबी रहेको, वंणाशुगत ( जेनेटिक ) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था भएमा मात्र २८ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन ऐनले स्वीकृति दिएको छ । यस ऐनले बलपूर्वक गराउने गर्भपतन र लिङ्ग पहिचान गरी हुने गर्भपतनलाई अपराध मानेको छ ।
असुरक्षित गर्भपतन गराउनेलाई के छ सजाय ?
मुलुकी अपराध संहिता ऐनले गैरकानूनीरूपमा या असुरक्षित गर्भपतन गर्ने र गराउनेलाई सजायको व्यवस्था गरेको छ । १२ हप्तासम्मको गर्भपतन गरे १० हजार रुपैयाँ जरिवाना र एक वर्षको जेल सजाय हुने कानूनी व्यवस्था छ । २५ हप्तासम्मको गर्भपतन गरे ३० हजार जरिबाना र तीन वर्षको जेल, २५ हप्ताभन्दा माथिको गर्भपतन गरे ५० हजार जरिबाना र ५ वर्षको जेल सजाय यस ऐनले तोकेको छ । गर्भमा भएको भ्रणको लिङ्ग पहिचान गरेर गर्भपतन गराउनेलाई ऐनले झन् बढी सजाय तोकको छ । ऐनमा उल्लेख छ– ‘गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भू्रणको लिङ्ग पहिचान गर्ने वा गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद र उपदफा ( ३ ) मा लेखिएको सजायमा थप एक वर्ष कैद हुनेछ ।’