बिर्तामोड । नागरिक उन्मुक्ति पार्टी (एकिकृत) का संरक्षक रेशमलाल चौधरीले देशभरका पहिचानवादी एकजुट हुने बेला आएको बताएका छन् । झापाको बिर्तामोडमा सो पार्टीद्धारा आयोजित एक समारोहमा बोल्दै चौधरीले पहिचानवादी दलहरुको एकता नहुँदा अधिकार स्थापित हुन नसकेको बताए ।

पहिचानवादी दलहरुको एकिकरण आवश्यक भएको भन्दै चौधरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनलाई पनि एकिकरणमा सहभागी हुन अनुरोध गरे । त्यसका लागि पार्टीले जस्तोसुकै सम्झौता गर्न तयार रहेको उनको धारणा थियो ।

‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनलाई पनि म यही मञ्चबाट भन्न चाहन्छु , आउनुहोस हामी जुटौं, हामी फुट्यौं भने बर्षाैदेखि खोसिएको हाम्रो अधिकार फिर्ता हुँदैन, चौधरीले भने–‘बरु अध्यक्ष रञ्जिता श्रेष्ठलाई अनुरोध गरेर भएपनि तपाईलाई अटाउँछौ ।’ चौधरीले लिङदेनलाई पार्टीको अध्यक्ष स्वीकार गर्न तयार रहेकोसमेत संकेत गरे । यसअघि नै लिङदेनसँग बिद्रोह गरेको सो पार्टीको एउटा समुहले नागरिक उन्मुक्ति पार्टीसँग एकिकरण गरिसकेको छ ।

आफु जेलमा बस्दा लिङदेनले सहयोग गरेको भन्दै चौधरीले पटक–पटक उनको प्रशंसा गरे । आफुले झापाको सभामा आउँदा लिङदेनले सिलाइदिएको ढाकाको पोषाक लगाएर आएको समेत उनले बताए । आगामी चुनाबमा देशभरमा उम्मेद्वार उठाउन पहिचान पक्षधरहरुको एकता आवश्यक रहेकाले नै उनी देश दौडाहामा रहेको बताए ।

कैलालीको टिकापुर हत्याकाण्डमा आफ्नो संलग्नता नरहेको उनले दोहो¥याए । सो काण्डमा झापा घर भएका एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या भएको थियो । घटनामा संलग्न नभएको प्रष्ट पार्दै चौधरीले लक्ष्मण न्यौपानेको परिवारलाई स्मरण गरे । घटनाका समयमा आफु बर्दियामा रहेको तथा अदालतको मिसिलमा समेत १९ किलोमिटर टाढा रहेको उल्लेख भएको भन्दै चौधरीले पहिचान माग्दा साढे ८ बर्ष डिल्लीबजार कारागारमा बिताउनु परेको बताए ।

कोशी प्रदेश नाम खारेजी गर्न गठित संघर्ष समितिका संयोजक धनबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता गंगाराम चौधरी, अशोक सुब्बा लगायतले बोल्दै पहिचानको मुद्दा स्थापित गराउन एकजुट हुनुको बिकल्प नरहेको बताएका थिए ।