देउराली । धरानको भानुचोकस्थित नयाँ तरकारी बजारबाट लागूऔषध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
केही समय अघि एक कारोबारी काठमाडौँमा सय ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । त्यही घटनाको छानबिनका क्रममा आज नयाँ बजारका अर्का एक तरकारी व्यापारी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुपोउल जिल्ला दहुलतपुरका २४ वर्षीय राम भजन चौधरी रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
यस अघि विराटनगरबाट काठमाडौँ हिँडेका तरकारी बजारका व्यापारी भारतीय नागरिक विकास विकाशलाई काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैबाट लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी), काठमाडौँको टोलीले सयग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।
भारतबाट नेपालमा लागूऔषध ल्याउने एक गिरोहलाई पिछा गर्ने क्रममा विकाश जोगबनी नाकाबाट लागूऔषध नेपाल भित्र्याई डिलरको रूपमा काम गरिरहेको खुलेको प्रहरी स्रोतले जनाएको छ । एनसीबीको अनुसन्धानमा राम भजन पनि विकाशसँगको लागूऔषधको कारोबारमा संलग्न देखिएकाले एनसीबीकै निर्देशनअनुसार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
धरानमा तरकारी पसल सञ्चालकको भेषमा बस्ने उनीहरू भारतबाट लागूऔषध ल्याएर काठमाडौँमा आपूर्ति गर्ने गरेको भेटिएको प्रहरीले बताएको छ । विकाशले धरानको भानुचोकपूर्वमा रहेको नयाँ बजारमा आलु, प्याज जस्ता तरकारीको व्यापार गर्ने गरेको बताइएको छ । उनी पासपोर्ट बनाउन काठमाडौँमा जान लागेको बताउँदै धरानबाट हिँडेको एक व्यापारीले बताएका छन् । राम भजनलाई भने आँप बेचिरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।