सुरक्षित गर्भपतन गर्न पाउने महिलाको नैसर्गिक अधिकार भए पनि अहिले पनि लुकिचोरी गर्भपतन गराउने महिलाहरूको ज्यान जाने गरेको छ । नेपाल सरकारले कानूनी रूपमै गर्भपतन गराउने व्यवस्था २१ वर्षअगि नै गरेको हो । यो सेवा नेपालमा २०५९ साल असोज १० गतेबाट सुरु भएको हो । नेपालमा गर्भपतन सेवाले कानूनी मान्यता पाएको २१ वर्ष पुगिसक्दा पनि अझै असुरक्षित गर्भपतन गर्नेहरू बग्रेल्ती भेटिन्छन् । जसको प्रत्यक्ष मारमा महिलाहरू नै पर्दै आएका छन् । सुरक्षित गर्भपतन गराउने कानूनी व्यवस्था हुँदाहुँदै किन असुरक्षित गर्भपतन सेवा लिन तत्पर छन् भन्ने बुझ्न चाहिँ आवश्यक हुँदै गएको छ । अहिले पनि नेपालमा ५९ प्रतिशत महिलालाई यसबारे ज्ञान नभएको आँकडा छ । सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था, तालिम प्राप्त स्वास्थ्यकर्मीले यो सेवा दिँदै आएको छ । तर, पनि अन्य तरिकाबाट गर्भपतन गराउने हुँदा महिलाहरू दिनानु दिन असुरक्षित हुँदै गइरहेका छन् । यसमा ज्ञानको अभाव मात्रै हैन, विभिन्न अन्य कारणले पनि समस्या भइरहेको छ । असुरक्षित तरिकाले गरिने यौनसम्पर्क पनि यसको एउटा कारक तत्व हो ।

आँकडामा हेर्ने हो भने नेपालमा बर्सेनि तीन लाख २३ हजारभन्दा बढीले गर्भपतन गराएको वातारण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) को अभिलेखमा देखिन्छ । जसमध्ये ४२ प्रतिशत महिलाले मात्र मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गराउँदै आएको उसको तथ्याङ्कमा छ । बाँकी ५८ प्रतिशत महिलाहरूले असुरक्षित गर्भपतन गराउँदै आएका छन् । नेपालमा १५ सय स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतनको सेवा दिनका लागि अनुमति दिएको अवस्था छ । सूचीकृत स्वास्थ्य संस्थाबाट वि.सं. २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित तवरबाट गर्भपतन गराएको आँकडा छ । यसबाहेक कतिले असुरक्षित तवरले गर्भपतन गराउँछन् भन्ने कुनै तथ्याङ्क छैन । किनकि गर्भपतन गराएकै कारण मृत्यु भएपछि मात्रै थाहा पाउने अवस्था छ । सुरक्षित गर्भपतन सेवा सञ्चालनका लागि करिब ४ हजार स्वास्थ्यकर्मीलाई तालिम दिइएको अवस्था छ । कोशी प्रदेशमा मात्र एक वर्षमा १५ हजार नौ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको आँकडा छ । सुरक्षित गर्भपतनले महिलाको ज्यान सुरक्षित मात्रै हुँदैन । अत्यधिक रक्तश्राव हुनबाट पनि जोगाउँछ । त्यति मात्रै हैन, गर्भपतनका लागि प्रयोग गरिने औजारहरू सुरक्षित तवरले राखिएका हुन्छन्, जसले गर्दा सङ्क्रमणको डर हुँदैन । दक्ष जनशक्तिबाट भएको कार्यले पाठेघरमा चोट लाग्ने, घाउ हुने वा प्वाल पर्नेजस्ता समस्याबाट पनि मुक्त भइन्छ ।

सुरक्षित गर्भपतनले परिवारको सदस्यको ज्यान मात्रै बच्दैन । उसको दीर्घजीवन पनि सुरक्षित हुन्छ । यसबारे चाहिँ बुझाउन आवश्यक हुँदै गएको छ । त्योसँगै असुरक्षित यौनसम्पर्क, गर्भ राख्ने हुँदा पनि पतिपत्नीबीच व्यापक छलफल गरेर मात्रै राख्दा राम्रो हुन्छ । ता कि त्यसले अनिच्छित गर्भलाई रोक्ने काम गर्छ । सुरक्षित गर्भपतन महिलाको नैसर्गिक अधिकार मात्रै होइन, यो उसको स्वतन्त्र अधिकारको कुरा पनि हो । मानवअधिकारको कुरा पनि हो । यसमा पुरुषको हस्तक्षेप हुनु हुँदैन । सरकारले असुरक्षित गर्भपतन सेवा दिने त्यस्ता स्वास्थ्य संस्था तथा फार्मेसीहरूमा निगरानी बढाउन आवश्यक छ । अहिले तीन तहको सरकार छ । तीनै तहका सरकारलाई अनुगमन गर्ने अधिकार दिइएको छ । हरेक स्थानीय तहले आफ्नो गाउँपालिकालाई चुस्त राख्नका लागि जतिखेर पनि अनुगमन गर्न सक्छ । त्यसो हुन सकेमा असुरक्षित गर्भपतन हुनबाट जोगाउन सकिन्छ । अर्कातर्फ महिलाहरूलाई जनचेतना फैलाउन आवश्यक छ र असुरक्षित गर्भपतन दिएर यदि कसैको ज्यान गएमा उनीहरूलाई कर्तव्य ज्यान मुद्दा मात्रै हैन, संस्थागत मूल मान्यताभन्दा बाहिर गएर काम गरेको विषयमा पनि कारबाही गरिनुपर्छ । यसतर्फ सरकार सचेत हुने हो भने पक्कै पनि असुरक्षित गर्भपतन सेवा हट्न सक्छ ।