धरान । कोशी प्रदेशमा बग्गीले सेवा दिँदै आएको छ । बग्गीले घरमै ‘होम डेलिभरी सेवा’ दिँदै आएको छ ।
बग्गीले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा एक कार्यक्रम गरी बग्गी एप्सका बारेमा जानकारी गराएको छ । बग्गीले ग्राहकहरूलाई घर–घरमै होम डेलिभरी सेवा दिँदै आएको छ । त्यस्तै घरायसी प्रयोजनका लागि चाहिने सामग्री, मर्मत सेवा, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, प्लम्बिङ सेवा, स्वास्थ्य सेवा, धार्मिकलगायतका सेवाहरू दिँदै आएको छ । उसले दिने सेवाबारे जानकारीसहितको एप्स लन्च गर्नुपूर्व सुझाव सङ्कलनका लागि अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा उद्योगी भोलेश्वर दुलालले कोशी प्रदेशको विराटचोकलाई केन्द्रमा राखी झापा, मोरङ, सुनसरीमा सेवा दिन लागेकोमा टिमलाई धन्यवाद दिए । पूर्व सांसद् राजकुमार ओझाले आजको व्यस्त समयमा दैनिक जीवनयापनको आवश्यकतासँग जोडिएका वस्तुहरू वितरण गर्नु राम्रो कुरा भएको बताए । सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशव अधिकारीले व्यापारसँग पनि जोडिएको र रोजगार पनि सिर्जना हुने भएकोले यस्ता कार्यक्रम निकै लाभदायक हुने बताए ।
सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका नारायण कार्की, सुन्दरदुलारी उद्योग वाणिज्य सङ्घका जीवन ढुङ्गाना, इन्द्रपुर जेसिजका विना सुवेदी आचार्य, लायन्स क्लब अफ विराटचोक सिटीका विवेक न्यौपानेलगायतले शुभकामना व्यक्त गरे । आउँदो असार २० गतेदेखि एकैसाथ कोशी प्रदेशभरि सञ्चालनमा ल्याइने सञ्चालक बाबुराम भट्टराईले जानकारी दिए । उनले प्रविधिलाई भरपूर प्रयोग गरी सेवालाई सरल र गुणस्तरीय बनाउने बताए ।