विराटनगर । निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि मोरङको तराई मधेसलाई यातायातमार्फत् पूर्व–पश्चिम जोड्ने लक्ष्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती भएको भन्दै कटहरी गाउँपालिकाका जनप्रतिनिधिहरू अनसन बस्ने भएका छन् ।
हुलाकी सडक निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नभएको भन्दै कटहरी गाउँपालिका–३ का जनप्रतिनिधिहरू आज(बिहीबार) देखि अनसन बस्ने भएका हुन् । कटहरी–३ का वडाध्यक्ष जदुलाल कामत, वडासदस्यहरू वल्सी दास तत्मा, शङ्कर पासवान, दुखनी कुमारी पासवान र सुलेखादेवी गनगार्इंले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी यस्तो घोषणा गरेका हुन् ।
‘विराटनगरको हाटखोलादेखि कटहरी हुँदै रङ्गेली भएर झापासम्म पुग्ने हुलाकी सडक निर्माणको कार्य सुरु भएको चार वर्ष बितिसक्यो । अहिलेसम्म निर्माण कार्य सुस्त छ’ वडाध्यक्ष कामतले भने, ‘सडककै कारणले कटहरी गाउँपालिकाभित्र पर्ने सडकमा दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुनुको मुख्य कारण भनेकै सडक समयमै निर्माण नहुनु हो । निर्माणाधीन सडकको खाल्टाखुल्टीको कारण दुर्घटना भएर ज्यान धेरैको गइसक्यो ।’ ठेकेदारलाई पटक–पटक निर्माणको लागि आग्रह गर्दा पनि बेवास्ता गरेको कारणले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
‘समयमै सडक बनाउन माग गर्दा अहिले कटहरीका पाँच युवालाई मुद्दा हाल्ने प्रयत्न भएको छ’ उनले भने, ‘एक जनालाई पक्राउ गरी अहिले मोरङ प्रहरीको हिरासतमा रहेका छन् । समयमै सडक बनाउन माग राख्दा यसरी प्रहरीले पक्राउ गरी ज्यादती गरेको छ ।’ पक्राउ परेका राजेश कामतलाई तत्काल रिहा गरिनुपर्ने उनले बताए । ‘कटहरी गाउँपालिका अध्यक्षले हुलाकी सडक निर्माणमा कुनै पनि पहल कदमी नगरेको कारण बाध्य भएर हामी आन्दोलनमा उत्रिनु परेको हो’–वडाध्यक्ष कामतले भने ।
राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पूरा हुने छाँटकाँट छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक–खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति त्यसको आधा मात्रै छ । निर्माण व्यवसायीको हेल्चेक्र्याइँले सडक अलपत्र पर्दा सर्वसाधारणले अनेकौँ सास्ती भोग्नु परेको छ । सडक कहिले निर्माण सम्पन्न हुने हो टुङ्गो छैन । सङ्घ, प्रदेश र स्थानीय सरकारले यो विषयमा खासै चासो देखाएका छैनन् । नागरिक दबाव परे अनुगमन गर्ने नत्र चुपचाप बस्ने प्रवृत्तिले निर्माण सुरु भएको लामो समयसम्म सडक भद्रगोल बनेको हो ।
सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मोरङ कटहरी गाउँपालिका–२ का स्थानीय रत्न मण्डलले बताए । समयमै सडक नबन्दा खानामा धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’ एक महिनायता सडकको काम ठप्प पारेका छन् । विना जानकारी सडक ठप्प पारेर बेपत्ता उनीहरू हुलाकी सडक आयोजनाकोसमेत सम्पर्कमा छैनन् । बनाउँदा(बनाउँदैको सडक अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारहरूको लापरबाही र उनीहरूका अघि राज्य संयन्त्रको कमजोरीले सर्वसाधारण वर्षौंदेखि समस्या भोग्न विवश बनेका छन् ।
मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कात्तिकसम्म पु¥याइएको थियो । तर, अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ । सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको छ ।
ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएको कर्सिया सडक–खण्ड हुँदै विराटनगर केशलिया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।
सडक बनाउन माग राख्दा पक्राउ, रिहाइको माग
विराटनगर । हुलाकी सडक निर्माण गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कटहरीका पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले कटहरी ३ का ४५ वर्षीय राजेश कामतलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । प्रहरीले कटहरी–३ का ४५ वर्षीय महेश कामत, सोही ठाउँका ५५ वर्षीय शङ्कर पासवान, २२ वर्षीय राजा कामत र ३० वर्षीय विकेश मण्डललाई पक्राउ पुर्जी १ असारमा जारी गरेको छ ।
कटहरीका युवाहरूले जेठ ३२ गते हुलाकी सडक समयमै निर्माण गरिनुपर्ने माग राख्दै कटहरी बजारमा आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा मे १ ख २५२३ नम्बरको ट्रकमा ढुङ्गा प्रहार गरी क्षति पुगेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको हो भने एक जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यहाँका कटहरी–३ का जनप्रतिनिधिहरूले हुलाकी सडक तत्काल निर्माण गरिनुपर्ने र पक्राउ गरेकालाई तत्काल रिहा गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिने तयारी गरेका हुन् ।