पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गाउँसभाको १३ औं अधिवेशनबाट “समृद्ध फाल्गुनन्दः कृषि, पर्यटन, पुर्वधार र सुसंस्कृत समाज” भन्ने नारा सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पूर्वाधार क्षेत्रको विकास गर्दै कृषि, पशु, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम मार्फत गाउँपालिकाले मुख्य उपलब्धिको रुपमा प्रशासकीयक भवनको निर्माण कार्य सुरु गर्ने भएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ का लागि ५४ करोड ४९ लाख ४१ हजार चार सय रुपैयाँ बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्बाङले संचित कोषमा आम्दानीको श्रोतसहित वार्षिक बजेट प्रस्तुत गरेका हुन् । जस मध्ये नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ८८ लाख, राजश्व बाँडफाँड ८ करोड ५८ लाख ३३ हजार चारसय, प्रदेश सरकार समानिकरण अनुदान ६० लाख ४७ हजार, राजश्व बाँडफाँड ३६ लाख ६२ हजार, आन्तरिक श्रोत ५५ लाख ५० हजार सार्वजनिक गरेका थिए ।
त्यस्तै शशर्त अनुदान नेपाल सरकारबाट २८ करोड ९३ लाख, शशर्त अनुदान प्रदेश सरकारबाट १ करोड ८२ लाख, समपुरक अनुदान नेपाल सरकारबाट ५० लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड, विशेष अनुदान नेपाल सरकारबाट ७५ लाखसहित ५४ करोड ४९ लाख ४१ हजार ४ सय रुपैयाँ सहितको रकम सार्वजनिक गरेका हुन । अधिवेशनमा लेखा समितिका संयोजक बिष्णु कुमार चेम्जोङले चालु आवमा ०७९÷०८० जेठ मसान्तसम्म पूँजीगत खर्च र चालु खर्च गरी ५५.३१ प्रतिशत खर्च भएको प्रतिवेदन सार्वजनिक गरेका थिए ।