विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रूपैयाँ बराबरको बजेट ल्याएको छ ।

कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा  बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले  प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार,  कार्यक्रम तथा योजना खर्च चालु र पूँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रूपैयाँ विनायोजन गरेकी हुन् । 

आय तर्फ संघीय सरकारबाट सामानिकरण अनुदान  १२ करोड ५८ लाख, संघीय सरकारबाट सर्शत अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय,  प्रदेश सरकार सामानिकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ४६ लाख ६५ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ  । यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विषेश अनुदान १ करोड,  संघीय सरकार समपुरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपैया प्राप्त हुने अनुमान गरिएको छ । 

गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१.३६ प्रतिशत हो । 

आम जनतामा सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पु¥याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन्

 । यो कुल बजेटको १०.०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८.८५ प्रतिशत हो । यसैगरी  कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ । 

खानेपानी तथा सरसफाईका लागि १८ लाख, साँस्कृतिक प्रवद्र्धन अन्तरगत भाषा, धर्म, संस्कृति, भेषभुषा संरक्षण र प्रवद्र्धनका लागि  २२ लाख ६५ हजार विनियोजन गरेकोछ ।  यस्तै खेलकुद तथा मनोरञ्जन अन्तरगत गाउँपालिकाभित्र विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नका लागि ४ लाख, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासका लागि १९ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।

तुलसी खेती गर्ने कृषकलाई प्रति कठ्ठा ३ हजार अनुदान 

कृषीको क्षेत्रमा कटहरी गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको छ । तुलसी खेती गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने भएको छ । तुलसी खेती प्रति आर्षकण बढाउने उद्देश्यले अनुदान कार्यक्रम ल्याएको गाउँपालिकाले बताएको छ । 

तुलसी खेती गर्ने किसानहरूलाई प्रति कठ्ठा ३ हजारका दरले अनुदान दिने भएको छ । त्यसको लागि  २ लाख १५ हजार रूपैयाँ गाउँपालिकाले बजेट विनियोजन गरेको छ । यहाँका कृषकले उत्पादन गरेको तुलसी कटहरी ५ मा रहेको आर्युवेदिक औषधीको उद्योगले खरिद गर्नेछ । दुई वर्ष अगाडी कटहरीमा उक्त आयुर्वेदिक उद्योग स्थापना भएको थियो । सो उद्योगले वर्षौनि करडौं मुल्यको तुलसी भारतबाट निर्यात गर्ने गरेको छ ।