धरान । जीवन निर्वाह भत्ताको विषयलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्नहरू विगत एक महिनादेखि शान्तिपूर्ण आन्दोलनमा छन् ।
आन्दोलनको क्रममा बिहीबार प्रतिष्ठानको होस्टेलबाट उपकुलपतिको कार्यालय अगाडिसम्म शान्तिपूर्ण र्याली निकालेका छन् । इन्टर्न सङ्घर्ष समिति गठन गर्दै बुधबार र बिहीबार शान्तिपूर्ण र्याली निकालेको समितिका सदस्यमध्ये एक हरिशबहादुर मल्लले जानकारी दिए । उनका अनुसार जीवननिर्वाह भत्ता समयअनुसार बढ्ने गरी नियमावलीमा समावेश गर्नुपर्ने माग राख्दै आन्दोलित भएका छौँ । हाल करिब १ सय ४० जना विद्यार्थीहरू इन्टर्न गरिरहेका छन् ।
समितिले इन्टर्न चिकित्सकको जीवन निर्वाह भत्ता वृद्धिको सुनिश्चितता हुनुपर्ने, इन्टर्न चिकित्सको जीवन निर्वाह भत्ता नेपाल सरकारको आठाँै तहको मेडिकल अधिकृतको ५० प्रतिशत भई सोहीअनुसार घटबढ हुनुपर्ने मुख्य माग राखेको छ । समितिले बीपी प्रतिष्ठान प्रशासनलाई यसअघि गत वैशाख २१* गते नै ध्यानाकर्षण पत्र दिएको थियो । त्यस्तै जेठ ३० गते प्रतिष्ठानका पदाधिकारीहरूलाई जानकारीसहितको प्रेस विज्ञप्ति दिइएको थियो । सोही दिनदेखि उनीहरूले हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् । माग सुनुवाइ नभएसम्म आन्दोलन अगाडि बडिरहने समितिका सदस्य मल्लले जानकारी दिए ।
विगतमा पनि इन्टर्नहरूले जीवन निर्वाह भत्ताको माग राख्दै आन्दोलन गरेका थिए । विभिन्न समयका ब्याचका विद्यार्थीहरूले जीवन निर्वाह भत्ताका लागि आन्दोलन गर्दै आइरहेका छन् । सन् २०२० मा गरिएको आन्दोलनले जीवन निर्वाह भत्ता १५ हजार रुपैयाँबाट बढाई १८ हजार ३ सय १५ रुपैयाँ पुर्याएको थियो । त्यसअघि ११ हजार कायम रहेको थियो । तर, फ्याकल्टी र कर्मचारीको भने हरेक वर्ष महँगीलगायतका भत्ता वितरण गर्दै आइरहेको उनले जानकारी दिए । ‘विगतमा पनि दाइहरूले आन्दोलन गरेरै जीवन निर्वाह भत्ता बढाएको अवस्था रहेछ, अहिले पनि हामीले त्यही गर्नु परिरहेको छ’ उनले फोनसम्पर्कमा भने, ‘हाम्रो भनाइ चाहिँ हरेक वर्ष जीवन निर्वाह भत्ता बढाउने खालको कास (सञ्चालक परिषद्) ले निर्णय गरिदिने वातावरण बनोस् भन्ने हाम्रो माग हो ।’
शान्तिपूर्ण र्यालीपश्चात् बिहीबार नै निमित्त उपकुलपति प्रा.डा. सञ्जीवकुमार शर्माले सङ्घर्ष समितिसँग छलफल पनि गरेको थियो । ‘उहाँले इस्यु चाहिँ जेन्यून हो । प्रतिष्ठान धरासयी अवस्थामा छ भनेर भन्नुभएको थियो’ मल्लले भने । त्यसपश्चात् निमित्त उपकुलपति प्रा.डा. शर्माले जीवन निर्वाह भत्ताको अध्ययन गर्न समिति गठनका लागि एक साताको मौखिम सहमति माग गरिएको उनले बताए । ‘लिखित चाहिँ आएको छैन, मौखिक रूपमा एक साताको समय माग गर्नुभएको छ’ उनले भने ।
समितिका सदस्यहरूका अनुसार हालको महँगीको आधारमा २४ हजारको हाराहारीमा जीवन निर्वाह भत्ता हुनुपर्ने थियो । प्रतिष्ठानका पदाधिकारीहरूलाई जीवन निर्वाह भत्ताका लागि इन्टर्न सङ्घर्ष समिति बन्नुअघि नै वैशाख २१ गते जानकारी गराउँदा निमित्त उपकुलपति प्रा.डा. शर्माले प्रक्रिया अगाडि बढाउने विषयमा जिम्मेवारपूर्वक जवाफ नदिएपछि आन्दोलित बन्नुपरेको जनाएका छन् । समितिले पदाधिकारीहरूको निर्णयअनुसार नै आन्दोलनको रूपहरू पनि परिवर्तन हुने जनाएको छ ।
*सम्पादन गरिएकोः यसअघि २१ हुनु पर्नेमा १ मात्रै भएकाले सच्याइएको छ ।