धनकुटा । दुषित खानेपानी उत्पादन गर्ने हिमधारा कम्पनी इटहरीलाई मङ्गलबारदेखि खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले छानबिनको प्रक्रिया अघि बढाएको छ ।
कर्मचारी सञ्चयकोषको शाखा कार्यालय धनकुटामा इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार अल्ट्राप्यूर खानेपानीको जारमा आइतबार अखाद्य वस्तु भेटिएको थियो । कार्यालयले आइतबार बिहान ११ बजे धनकुटा–७ कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलबाट लगेको उपहार खानेपानीको जारमा यस्तो अखाद्य पदार्थ भेटिएको थियो । उक्त घटना पछि कर्मचारी सञ्चयकोषको कार्यालयले खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटालाई अनुसन्धानका लागि पत्राचार गर्नुको साथै सञ्चारकर्मीहरूलाई खबर गरेको थियो ।
पत्रकारपश्चात् खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले मङ्गलबार दुषित भेटिएको उपहार खानेपानीको जारको सर्जिमिन मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको हो । दुषित पानीको विषयमा कार्यालयमा लिखित–पत्र आएपछि आवश्यक अनुसन्धान सुरु गरिएको खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख आनन्द डङ्गोलले ब्लाष्टलाई बताए ।
डङ्गोलका अनुसार अनुसन्धानको क्रममा उपहार खानेपानीको जारमा ब्याच नं. उल्लेख नभएको, उत्पादन मिति नभएको, उपभोग्य मिति पनि नभएको, बिर्कोले शिल गरिएको तर सुरक्षण शिल नभएको पाइएको थियो ।
उनले प्रयोगशाला परीक्षणको लागि २ वटा जार सिलवन्दी लाहाछाप गरी एउटा जिल्ला प्रशासन कार्यालय धनकुटा र अर्को एउटा जार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर अनुशन्धानको लागि पठाइएको बताए । अनुसन्धानको क्रममा जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा गजेन्द्र रम्तेल, धनकुटा नगरपालिकाका प्रतिनिधि तेजबहादुर थापा, कर्मचारी सञ्चयकोषका प्रमुख आनन्द डङ्गोल, दिपेन्द्र सापकोटा, उपभोक्ता हित संरक्षण मञ्च धनकुटाका अध्यक्ष केदार दाहाल, आदिवासी जनजाति पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले स्थलगत मुचुल्कामा हस्ताक्षर गरेका छन् ।
अनुसन्धानको क्रममा ४ वटा जारमध्ये एउटा जारमा अखाद्य वस्तु फेला परेको थियो । अन्य तीन वटा जारमा भने केही नभेटिएको खाद्य तथा गुण नियन्त्रण कार्यालय धनकुटाका प्रमुख आनन्द डङ्गोलले बताए । तथापि दुषित भेटिएको र नभेटिएको दुवै जारको परीक्षण हुने उनले बताए । खानेपानी उत्पादक कम्पनी दोषी ठहरिए खाद्य ऐन २०२३ अनुसार कारबाही एवम् सजाय हुने खाद्य अनुसन्धान डिभिजन कार्यालयका प्रमुख डङ्गोलले बताए । दोषी प्रमाणित भएमा २ वर्षदेखि ५ वर्षसम्म सजाय र ५० हजारदेखि ५ लाखसम्म दण्ड जरिबाना हुने प्रमुख डङ्गोलले बताए ।
कार्यालयका नासु रामशरण थापाले धनकुटा–७ को सनोज किराना पसलदेखि ४ वटा उपहार खानेपानीको जार ल्याएको बताए । उनले उक्त पसलबाट ल्याएको खानेपानीको जार अटोबाट झारेर कार्यालयमा लाँदै गर्दा अखाद्य पदार्थ टाढैबाट देखिएको बताए । थापाले भने, ‘अटोबाट झार्ने क्रममा अचानक खानेपानीको जारमा अखाद्य वस्तु देखिएको हो ।’ जारमा भ्यागुताको चेपागाँडा जस्तो कालो वस्तु, डढेको हड्डीको सेतो टुक्राटुक्री जस्तो सहजै देख्न सकिन्छ भन्दै थापाले भने, ‘पानी एकदमै दुषित र खान अयोग्य रहेको छ ।’
कर्मचारी सञ्चयकोषका अर्का कर्मचारी पूर्ण याक्खाले भने, ‘आफूहरूले वर्षौदेखि उपहार पानी खाँदै आएको थियौँ ।’ तर यसपटक थाहा भयो हामीले त वर्षौदेखि दुषित पानी खाइरहेका रहेछौँ ।’ उनले आइतबार ४ वटा उपहार खानेपानीको जार ल्याएको बताए । टाडैबाट हेर्दा खानेपानीको जारमा फोहोर देखिएकाले ४ वटै जार नचलाई कार्यालयमा सुरक्षित राखिएको याक्खाले बताए ।
यता धनकुटा–७ हुलाकटोल कोशी ग्याँस चोकमा रहेको सनोज किराना पसलका प्रोपाईटर सनोज श्रेष्ठले भने, ‘आफ्नो पसलमा ३–४ वर्षदेखि नियमित रूपमा इटहरीको हिमधारा कम्पनीले उत्पादन गर्दै आएको उपहार खानेपानी बिक्री गरिरहेको छु ।’ उता उपहार अल्ट्रा प्यूर ड्रिङ्किङ वाटर हिमधारा कम्पनी प्रा.लि. इटहरी–१० का सञ्चालक जितेन्द्र दाहालले कामदारको कमीकमजोरीको कारण दुषित पानी बजारमा गएको हुन सक्ने बताए । दाहालले भने, ‘खानेपानीको जारमा फोहोरमैला भेटिएको भन्ने धनकुटाबाट आफूलाई पनि फोन आएको छ; यसमा खानेपानी कम्पनीमा काम गर्ने जिम्मेवार कर्मचारीको कमीकमजोरी भएको छ ।’