अविरल वर्षाका कारण कोशी प्रदेशको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी भएको मानवीय र भौतिक क्षतिमा नेपाली सेनाले अग्रपंक्तिमा रहेर बेपत्ताहरुको खोजी, उद्धार तथा विस्थापितलाई राहत वितरण सहकार्य गरिरहेको छ ।  

मनसुनमा आउने प्राकृतिक प्रकोप क्षति न्यूनीकरण तथा खोज तथा उद्धारको लागि पूर्वी पृतना मुख्यालय इटहरी तयारी अवस्थामा रहेको बताइएको छ । प्रदेशको पहाडी जिल्लाहरु सङ्वासभा, इलाम, पाँचथर र  ताप्लेजुङलगायतको स्थानमा असार २ गतेदेखि आएको भारी वर्षामा सेनाले गरेको कार्यको विवरण प्रस्तुत गरेको छ । 

Bipad ma Nepali Sena_blastkhabar (3)

ताप्लेजुङको सिदिङवा गाउँपालिकाको वडा नं ६ मेहेलमा गएको पहिरोमा परी ज्यान गुमाएका किशोर राई र सुरेश राईको शव र घाइते उद्धार गरिएकी तारा राईलाई झापाको चारआली ब्यारेकमार्फत् आफन्तलाई बुझाइएको छ भने अर्का सोही स्थानका ५२ वर्षका रामकुमार राईको उद्धार गरिएको जानकारी दिए ।

पृतनापति उपरथि आशबहादुर तामाङ ‘पिएचडी’ ले कार्यविवरण प्रस्तुत गर्दै पाँचथरको याङवरक गाउँपालिकाको वडा नं १ खोलाघारी गाउँमा पहिरोमा फसेका १० जनालाई हेलिकप्टरबाट उद्धार गरी स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीलाई बुझाइएको बताए ।

आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले उपलब्ध गराएको ३ सय ७५ किलोग्राम विभिन्न ९ प्रकारका औषधि र १ सय ५० थान त्रिपाल विपद् व्यवस्थापन समिति ताप्लेजुङलाई हस्तान्तरण गरिएको छ । यसैगरी विपद व्यवस्थापन समिति  ताप्लेजुङबाट प्राप्त ४ सय किलोग्राम विभिन्न भाँडाकुँडा, त्रिपाल र औषधि सोही जिल्लाको सिदिङवाको मेहेलेका जनप्रतिनिधिलाई बुझाइएको पृतनापति तामाङले जानकारी दिए ।

Bipad ma Nepali Sena_blastkhabar (4)

उक्त जिल्लाहरुको हेवा, पिलुवा र सभा खोला र कोशी नदीमा सेनाको ६ सय जवान तैनाथ गरिएको भन्दै उपरथि तामाङले सेनाले लगातार प्रभावित स्थानहरुको निरीक्षण अनुगमन गर्दै स्थानीय विपद व्यवस्थापन समितिको सम्पर्क रहेको उनले बताए ।

पत्रकार भेटघाटमा कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्रालयको उपसचिव अजुर्न निरौला, प्रतिनिधि,सुरक्षा निकायका प्रमुखहरु, पुर्वी पृतनाका स्टाफ अधिकृत र पृतना भित्रका युनिटपतिहरुको उपस्थिति रहेको थियो । 

कोशी प्रदेश प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोला, सशस्त्र प्रहरी वराह बाहिनीका प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल, कोशी पदेश राष्ट्रिय अनुसन्धान निर्देशक कृष्णप्रसाद खनालको उपस्थिति रहेको धनकुटाको भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिए । 

लगातार भइरहेको वर्षाका कारण शनिबार राति आएको बाढीमा परी सङ्वासभाको चैनपुरको दोभानेमा निर्माणाधीन सुपरहेवा जलविद्युत केन्द्रका १९ जना कामदार बेपत्ता भएका छन् ।

Bipad ma Nepali Sena_blastkhabar (2)

उता ताप्लेजुङमा आएको पहिरोमा परी हराएका दुई जनाको पुरुष शव भेटिएको भने एक पुरुष तथा महिलाको उद्धार गरिएको सुरक्षा निकायले बताएका छन् ।

बुधबार पूर्वी पृतना मुख्यालय इटहरीमा गरिएको पत्रकार भेटघाटमा पृतनापति उपरथि आशबहादुर तामाङ ‘पिएचडी’ ले विपद्मा सेनाको सहकार्यबारे विवरण प्रस्तुत गरेका हुन् ।