भद्रपुर । झापामा एमालेका दुईजना कार्यकर्ता कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने एमालेका जिल्ला सदस्य र नगर वडाध्यक्ष छन् । 

मेचीनगर नगरपालिका–१३ का वडाध्यक्ष कृष्णराज सिग्देललाई नेकपा (एमाले) ले कारबाही गरेको हो । एमाले मेचीनगरको असार ७ गते बसेको सचिवालय बैठकले वडाध्यक्ष सिग्देलले पार्टीको अनुशासन पालना नगरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गर्ने निर्णय गरेको एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले जानकारी दिए ।

त्यस्तै एमाले प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व सांसद् श्रीप्रसाद मैनालीमाथि हातपात गर्ने एमाले जिल्ला सदस्य भूपाल ओलीलाई जिल्ला कमिटीबाट बर्खास्त गर्न सिफारिससमेत गरेको अध्यक्ष पोखरेलले बताए । ओलीलाई जिल्ला कमिटीबाट हटाउन भन्दै मेचीनगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको उनले बताए ।

असार ६ गते द्रोणाचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन काँकडभिट्टा खानेपानीको सभाहल जाने क्रममा बाटोमा नै एमाले नेता मैनालीमाथि ओलीले हातपात गरेका थिए ।