विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई पूर्ण विश्वविद्यालय बनाउन माग गरिएको छ ।
बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ सङ्घर्ष समितिले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका पूर्व उपकुलपतिहरूले पूर्ण विश्वविद्यालय बनाउन माग गरेका हुन् ।
नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एकैठाउँमा राख्ने गरी ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नराख्न माग गरेका हुन् ।
प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइरालाले प्रतिष्ठान चिकित्सा विश्वविद्यालय बनाउने उद्देश्यले स्थापना भएको बताए । उनले छाता ऐनमा राख्न नहुने बताउँदै भने, ‘प्रतिष्ठान भारतको एम्सको मोडलमा स्थापना भएको हो ।
यो अन्य प्रतिष्ठानभन्दा फरक र विशिष्ट प्रतिष्ठान भएकाले छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउनु पर्छ ।’ कोइरालाले प्रतिष्ठानलाई कोशी प्रदेशको मात्र नभई देशकै लागि मेडिकल विश्वविद्यालय बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘प्रतिष्ठानको विशिष्ट पहिचान छ ।
बीपी अन्य प्रतिष्ठानभन्दा विल्कुलै फरक छ ।’ चिकित्सा शिक्षा आयोेगको दम्भ र घमण्डको कारण प्रतिष्ठानमाथि आक्रमण भएको बताए । आयोगका कारणले नै प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन समस्या भएको उनले बताए ।
पूर्व उपकुलपति प्रा.डा. लोकविक्रम थापाले अध्ययन, अनुसन्धान र सेवामा अन्तर्राष्ट्रियस्तरमा ख्याती भएकाले विश्वविद्यालय बनाउनु पर्ने बताए । उनले छाता ऐनमा लानु गलत भएको पनि बताए । उनले भने, ‘चिकित्सा शिक्षाका उच्च तहसम्मको अध्ययन हुदै आएको प्रतिष्ठानले नेपालमा जुन सुकै पनि स्वास्थ्य समस्या समाधान गर्न सामथ्र्य राख्छ ।’
प्रतिष्ठानका संस्थापक निर्देशक मदन उपाध्यायले प्रतिष्ठानलाई मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्ने योजना अनुरूप नै प्रतिष्ठानमा निर्देशक हटाएर उपकुपतिको नेतृत्वमा सञ्चालन सुरु गरेको बताए । उनले भने, ‘दल र नेताका अकमण्र्यताले प्रतिष्ठानलाई छाता ऐनमा लगेर आङ्गिक क्याम्पसको रूपमा पुर्याउन लागिएको हो ।
उनले नेपालको एक मात्र सहरमुखी नभई गाउँमुखी चिकित्सक उत्पादन गर्ने र सेवा दिने स्वास्थ्य संस्था बीपी भएको बताए । कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले बीपी प्रतिष्ठान देशकै गहना भएकाले छाता ऐनमा नराखी विश्वविद्यालय बनाउनु पर्ने बताइन् ।
प्रतिष्ठान बचाउ सङ्घर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङ्बोले प्रतिष्ठान धरानको भाग्य र भविष्यसँग जोडिएकाले छाता ऐनमा लान दिन नहुने बताए । उनले बीपी दक्षिण एसियाकै उत्कृष्ट मेडिकल कलेज बनेको बताए । उनले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री र सह–कुलपति रहेका स्वास्थ्य मन्त्रीलाई समेत भेटेर ज्ञापन–पत्र बुझाउने जानकारी दिए ।