विराटनगर । बाढी पहिरोमा परी एक सातामा कोशी प्रदेशमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । बाढी पहिरोमा परी २८ जनाको अवस्था अझै अज्ञात रहेको छ । १ असारदेखि ८ गतेसम्म बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको हो ।
ओखलढुङ्गामा बिहीबार रातिको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा पहिरोमा परी ४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरीले बताएको छ । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ, उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङ, उनीहरूका छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो । पहिरोमा बेपत्ता रहेका दिनेश र कृतिकाको शव शुक्रबार फेला पारेपछि निकालेको छ ।
पहिरोले रणबहादुर र दुई स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको थियो । बलबहादुर र जरसिंहका परिवारका सदस्यहरू भागेर जोगिन सफल भएको प्रहरीले जनाएको छ । यसअघि ताप्लेजुङमा चार, पाँचथरमा दुई, भोजपुरमा एक र सङ्खुवासभामा एक जनाको ज्यान गएको छ । ती घटनामा नौ जना घाइते भएका छन् । २८ को अवस्था अझै अज्ञात रहेको कोशी प्रदेश पहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा ताप्लेजुङ सिदिङ्वा–६ का ६७ वर्षका केशर राई, ३६ वर्षका सुरेश र ३० वर्षका गणेश तामाङ रहेका छन् । पाँचथर फालेलुङ–४ का आठ वर्षीय जुना साउदेन, फिदिम–११ का २८ वर्षीय सन्जोग लिम्बू र २५ वर्षीया एलिसा माझीको ज्यान गएको छ ।
यसैगरी भोजपुर ट्याम्केमैयुङ–८ का ३२ वर्षीय मन्दीप राईको बाढी पहिरोमा परी ज्यान गएको छ । सङ्खुवासभाको पाँचखपनका–९ का २६ वर्षीय सन्तोष राईले ज्यान गुमाएका छन् । बाढी पहिरोमा परेर हराएकोका खोजी कार्य अहिले पनि जारी रहेको डिआइजी बास्तोलाले बताए । वर्षापछि विभिन्न खोलाहरूका आएको बाढीले घर बगाउँदा बेपत्ता भएका हुन् ।
सङ्खुवासभाको हेँवाखोलामा गत शनिबार आएको बाढी–पहिरोमा परेका १८ मजदुरसहित २० जनाको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन । स्थानीयको प्रयास र सुरक्षाकर्मी परिचालन गरिए पनि लगातारको वर्षा र विकट भूगोलका कारण खोजीमा कठिनाइ भइरहेको छ ।
असार १ गते राति एक्कासि बाढी(पहिरो आउनुअघि निर्माणाधीन ६ मेगावाटको सुपरहेँवा जलविद्युत् आयोजनामा काम गरिरहेका मजदुरहरू नजिकैको आयोजनाले निर्माण गरेको अस्थायी टहरामा सुतेका थिए । भोलिपल्ट उज्यालो भएपछि कामलाई निरन्तरता दिने योजना थियो ।
तर, आयोजनामा कार्यरत २१ मध्ये १८ जनाको अवस्था शनिबार रातिको बाढीपछि अज्ञात छ । खोलाको बहावछेवैको आयोजनास्थल र बाढीपछि त्यहाँको अवस्थाले बेपत्ता भएका मजदुर कोही पनि सकुशल भेटिने सङ्केत नदेखिएको स्थानीयको भनाइ छ ।
बेपत्ता भएका मजदुरमध्ये बर्दियाका ५ जना, कैलालीका ४ जना, सङ्खुवासभाका ३, झापाका २, सुनसरी, इलाम र धनकुटाका एक–एक जना थिए । तीमध्ये आयोजनाका साइड इन्चार्ज, सुपरभाइजर, मेसिन अपरेटर, इलेक्टिसियन सबैलाई मध्यरातमा हेँवाखोलामा आएको बाढीले हाइड्रोपावरबाटै बेपत्ता पारेको हो । खोजीमा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था अज्ञात छ ।
अविरल वर्षाका कारणले गर्दा हेँवाखोला, सभाखोला र पिलुवा खोलामा आएको त्यो बाढीको कारणले गर्दा विभिन्न स्थानमा मानवीय र भौतिक क्षति भएको छ’–डिआइजी बास्तोलाले भने । सभापोखरीका २ र चैनपुरका १ जना पनि बेपत्ता भएका र फेला परेका छैनन् । बाढीले पाँचखपन, चैनपुर र सभापोखरीमा १८ घर बगेका छन् । बाढीपहिरो प्रभावितहरू राहत र पुनर्वासको पर्खाइमा छन् ।