वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको ६ माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि ३६ लाख रुपैयाँ बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ ।
एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य छ लाख रुपैयाँ रहेको छ । केन्द्रले विद्यालयलाई निःशुल्क रुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले जानकारी दिए ।
फिल्टर मेसिन पाउने विद्यालय मेचीनगर–८ को आदर्श माध्यमिक विद्यालय, वडा नं १० को इस्ट होराइजन आवासीय अङ्ग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नं ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नं १३ को सहिद दशरथ माध्यमिक विद्यालय र वडा नं १४ को बालसुबोधिनी माध्यमिक विद्यालय रहेका छन् ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होम भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजारभन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने बताए ।
नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मेसिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उनले जानकारी दिए ।
आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने बताए ।