देउराली । न्यायका देवता र कर्मदाताका रूपमा पुजा उपासना गरिने शनि देवको पूजा उपसनाका लागि धरानको तीनकुने स्थित शनिमन्दिमा सनातन धर्मावलम्बीहरूको भीड लाग्ने गरेको छ ।
धार्मिक आस्था र विश्वासको केन्द्र शनि देवले भक्तजनलाई कर्मअनुसार फल दिन्छन् भन्ने सनातनि विश्वास रहेको छ । भनिन्छ, यदि कुण्डलीमा शनिदेवको स्थान राम्रो छ भने त्यो व्यक्तिलाई जीवनमा धेरै सफलता प्राप्त हुन्छ । साथै, जब शनि अशुभ हुन्छ, तब जीवन अस्तव्यस्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
शनि देवको क्रोधका कारण मानिसको जीवनमा जागिर, व्यापार, स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आउने गर्दछ भन्ने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण पनि धरानको तीनकुने निजकै रहेको शनि मन्दिरमा टाढा–टाढाबाट पनि भक्तजनहरू आउने गरेको पाइन्छ । शनि देवलाई खुसी राख्न सके परिवार र जीवनमा सम्बृद्धि, सुखशान्ति, उन्नति, हुन्छ भन्ने विश्वास भक्तजनहरूमा रहेको छ ।
हिन्दू धर्ममा सबै देवीदेवताका वाहनहरू छन्, जस्तै माता दुर्गाको वाहन सिंह हो, भगवान विष्णुको गरुड हो, गणेशको वाहन मुसा हो, देवी सरस्वतीको हाँस, महादेवको नन्दी भएजस्तै शनिदेवको वाहन काग हो ।
धरान स्थित शनि मन्दिरमा तिनै शनिदेवका वाहन 'काग' भक्तहरूको मनोकामना शनिदेवसम्म पुर्याउने गर्दछन् । अर्थात, शनिदेको उपासना गरेको आफूलाई शनिदेनेको वाहनको रूपमा परिचित गराउने 'काक बाबा' मन्दिरका मुख्य पुजारी हुन् ।
टाउकामा कालो फेटा, कालै कपडा, गलामा रुद्राक्षका माला तर सेतै फुलेका दारी, नाकमा नत्थी, अग्ला कदका, भीमकाय तर वृद्ध, अघोरी भेषमा देखिने यी बाबा काक बाबा हुन् ।
हिन्दु धर्म, ग्रह विज्ञान र ज्योतिष शास्त्र मान्नेहरुका अनुसार शनि ग्रह दशा नलाग्ने कोही मान्छे यो भूलोकमा हुँदैनन् । हिन्दू धर्मअनुसार शनि शङ्कटा (दशा) लागेपछि यसको निवारण गर्नका लागि शनिलाई खुसी बनाउन पूजाआजा, दानधर्म गर्ने गरिन्छ ।