विराटनगर । नेपाल औषधि व्यवसायी सङ्घको ५० औं स्थापना दिवसको अवसर पारेर औषधि व्यवसायी सङ्घ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सङ्घले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट दुई सय जनाले स्वास्थ्य परीक्षण गरेका थिए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुधीर श्रेष्ठ, वरिष्ठ नवजात तथा शिशुरोग विशेषज्ञ डा. राजेश यादव, फिजिसियन डा. चन्दन विश्वास, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रेनुका राठीले सुन्दरहरंैचा नगरपालिकाभित्रका दुई सय जनाको स्वास्थ्य जाँच गरेको औषधि व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

शिविरमा आएर स्वास्थ्य परीक्षण गरिएका बिरामीलाई चिकित्सकले सिफारिस गरेको औषधि पनि निःशुल्क वितरण गरेको उनले बताए । सङ्घका सह–कोषाध्यक्ष पुष्पराज पोखरेलको संयोजकत्वमा उक्त शिविर भएको हो ।

सङ्घको स्थापना दिवसमा मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । यसअघि कोशी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण र खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ ।

सङ्घले आइतबार सप्ताहव्यापी कार्यक्रम समापन गर्दैछ । नेपाल पत्रकार महासङ्घमा दिउँसो कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम विधिवत् रूपमा सम्पन्न गर्नेछ । समापनमा सङ्घले अग्रज व्यवसायीहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।