भद्रपुर । करोडौँ रुपैयाँ लागतमा नवनिर्मित भद्रपुरस्थित प्रादेशिक अस्पताल गुणस्तरहीन भएको भन्दै नेकपा (माओवादी केन्द्र) भद्रपुर नगरसमितिले असन्तोष व्यक्त गरेको छ ।
समितिले शनिबार बिहान अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै करोडौँ रुपैयाँ लागतमा नवनिर्मित भवन गुणस्तरहीन देखिएको बताएको छ ।
गत जेठ २२ गते अस्पतालको नयाँ भवन ठीक छ भनी हस्तान्तरण भएपछि पार्टीको गम्भीर ध्यानाकर्षण भएको नगरअध्यक्ष शिवकुमार राजभण्डारी र सचिव हंशधर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । भवन निर्माणाधीन रहेकै अवस्थामा पटक–पटक सम्बन्धित निकायलाई लिखित तथा मौखिक जानकारी गराउँदासमेत त्रुटिपूर्ण रहेको अस्पताल भवनलाई लिने–दिने कार्य अत्यन्त निन्दनीय र खेदजनक भएको जनाइएको छ । विज्ञप्तिमा भवनमा विभिन्न १२ वटा त्रुटि भएकाले कमसल र त्रुटिपूर्ण रहेको भवनलाई त्रुटि सच्याउन सक्ने उच्चस्तरीय प्राविधिकहरूबाट पुनः स्टिमेट गराई यथाशीघ्र सुधार गर्न गराउन माग गरेको छ ।
भवन निर्माण भइसकेपछि सघन सहरी आयोजनाले जिम्मा लगाएको अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले बताए । प्राविधिक विषयमा ज्ञान नभएकाले पानी परेपछि भवन चुहिन थालेको देखिएको उनले जनाए । केही ठाउँमा पानी चुहिने र अन्य जडान गरिएका सामग्रीहरू पनि कमसल देखिएकाले असार ६ गते विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको उनले बताए । बरालले दुई स्थानमा पानी चुहिएको बताए पनि ५० ठाउँभन्दा बढी स्थानमा पानी चुहिएको स्थलगत अनुगमनमा भेटिएको छ ।
अस्पताल निर्माणमा स्थानीयदेखि केन्द्रसम्म ठूलो आर्थिक चलखेल हुँदा गुणस्तरहीन बन्न पुगेको युवा नागरिक समूह भद्रपुरका अध्यक्ष प्रेम खनालले आरोप लगाएका छन् । भवनमा संलग्न व्यक्तिहरू दोषी देखिएकाले ठेकेदार कम्पनीको प्रमाण–पत्र खारेज, भवन आयोजना प्रमुखको राजीनामा माग, अस्पताल विकास समितिका अध्यक्ष बराल फिर्ता, भवन हस्तान्तरण रोहवरमा बस्नेको पदमुक्तलगायतका माग राखिएको उनले बताए ।
भवनको विषयमा बेवास्ता गरे जिल्लाभरका सचेत नागरिकको उपस्थिति रहनेसमेत उनले बताए । ठेकेदारलाई काम रोक्न सम्बन्धित निकायमार्फत् जानकारी गराए पनि राति कामदार लगाएर मर्मत सुधार गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए ।
अस्पताल विकास समितिले विज्ञप्तिमार्फत् सार्वजनिक गरिसकेकाले उचित निकास नभएसम्म भवनको सम्पूर्ण काम बन्द गर्न निर्देशन दिएको अस्पताल विकास समितिका पदेन सदस्य तथा नगरप्रमुख गणेश पोखरेलले बताए । निर्देशनलाई अटेर गरेर काम गरेको पाइएमा भवनमा खटिएको नगर प्रहरीमार्फत् कामदारलाई नेपाल प्रहरीको जिम्मा लगाइने उनले जानकारी दिए ।
जेठ २२ गते नै सघन सहरी विकास आयोजना झापाका सिडिई रूपक आचार्यले मेडिकल सुपरिटेन्डेन्ट डा. जयकुमार ठाकुरले सो भवन हस्तान्तरणको फारममा हस्ताक्षर गरी बुझिलिएका छन् भने आयोजनाको पत्रमा समितिका अध्यक्ष बराल, पदेन सदस्य पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, समितिका सदस्य लक्ष्मण पोखरेल, जानुका पौडेल, वडानम्बर ८ का वडाध्यक्ष गौरव सुब्बालगायतले रोहवरमा हस्ताक्षर गरेका छन् । उद्घाटन गर्ने भनेर तयारी भइरहेको कोशी प्रदेशअन्तर्गतको एक मात्र प्रादेशिक अस्पताल हस्तान्तरण नै नभई चुहिन थालेपछि यसको सर्वत्र चर्चा चलेको छ ।
मेची अस्पतालको पुरानो भवन जीर्ण भएको, खरिद गरिएका उपकरणहरू बिग्रने र बिरामीहरूको चाप पनि बढ्दै गएकोले हस्तान्तरण प्रक्रियामा रहेको प्रादेशिक अस्पतालको नयाँ भवन अनुगमन गर्दा भवन कमसल बनेको र पानी चुहिने समस्या रहेको अस्पताल विकास समितिले स्वीकार गरेको छ ।
असार ६ गते विकास समितिले विज्ञप्तिमार्फत् असारको पहिलो साताकै वर्षामा पानी रसाएर चुहिएको, आइसियु कक्षमै छतबाट पानी चुहिएको, छानाको फाइबर कमसल भएको र तीनवटा सेक्सनको छानाको जडानबाट पानी चुहिएको उल्लेख गरेको छ । त्यस्तै गत जेठ २२ गते बसेको अस्पताल विकास समितिको बैठकमा हस्तान्तरण प्रक्रियाका विषयमा छलफल भएको जनाउँदै विज्ञप्तिमा अस्पतालको झ्याल ढोकाको सामग्री कमसल भएको, शौचालयमा धेरै समस्या देखिएको लगायतका विषय उठान हुँदा उक्त समस्या समाधान गर्ने र अन्य समस्याहरू भए ठेकेदारले धरौटी स्वरूप राखेको रकमबाटै आवश्यक व्यवस्थापन गर्ने गरी अघि बढ्ने छलफल भएको पनि जनाइएको छ ।
विज्ञप्तिमा हस्तान्तरण भइनसकेको जनाइए पनि हस्तान्तरण भएको प्रमाण सुरक्षित छ । विज्ञप्तिमा भवन निर्माण प्रक्रियामा अस्पताल विकास समितिको कुनै संलग्नता नभएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा देखिएको त्रुटि र प्राविधिकहरूको संलग्नता सम्बन्धमा छानबिन गरी सम्बन्धित ठेकेदार तथा अनुगमन सुपरीवेक्षण गर्ने पक्षलाई कानूनी दायरामा ल्याई क्षतिपूर्तिसमेत असुल उपर गर्न सरकारसँग माग गरिएको छ ।
अस्पताल विकास समितिले नवनिर्मित सो भवनमा देखिएको लापरबाही र असाधारण त्रुटिहरू निराकरण नभएसम्म सेवा प्रवाह गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेको छ । भवनमा केही त्रुटि देखिएकाले त्यसको उचित समाधानका लागि ठेकेदारलाई जानकारी गराइसकिएको सघन सहरी विकास आयोजना झापाका सिडिई रूपक आचार्यले बताए । कार्यालयका प्राविधिकलाई समेत जानकारी लिएर दीर्घकालीन रूपमा समस्या नआउने गरी काम गर्न गम्भीररूपमा लागेको उनले जानकारी दिए ।
२४ करोड ६२ लाख रुपैयाँ (भ्याटबाहेक २२ करोड ६१ लाख ३७ हजार ३ सय ५२ रुपैयाँ ७१ पैसा) मा २०७४ साल कात्तिक ३० गते काठमाडौंको श्री कन्टेक प्रा.लि. नामक ठेकेदार कम्पनीले २०७९ भदौ ३१ गते कार्य सम्पन्न गर्ने गरी प्रादेशिक अस्पतालको भवन निर्माण सम्झौता गरेको थियो ।
कुशल शर्मा प्रोप्राइटर रहेको सो निर्माण कम्पनीले प्रादेशिक अस्पतालको २ वटा भवनमा ६ वटा ब्लक र एउटा र्याम्प बनाएको छ । भवन अपाङ्गमैत्री छ र त्यसमा दुईवटा लिफ्टसमेत जडान गरिएको छ ।