नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनमा राख्न नहुने बताएका छन् । 

प्रतिष्ठानलाई छाता ऐनमा नराखी पूर्ण विश्वविद्यालय बनाउन पर्ने मागसहित काठमाडौं पुगेको सर्वदलीय टोलीसँगको भेटमा सभापति देउवाले प्रतिष्ठान छाता ऐनमा रहन नहुनेमा आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले टोलीलाई सोही विषयमा विश्वस्त रहन पनि आग्रह गरे । 

‘बीपी प्रतिष्ठान बचाऊ संघर्ष समिति’को ज्ञापन–पत्र बुझ्दै देउवाले भने– ‘तपाईंहरूको माग पूरा भइसक्यो, ढुक्क हुनुहोस् प्रतिष्ठान छाता ऐनमा जाँदैन ।’ 

उनले प्रतिष्ठानलाई विश्विवद्यालय बनाउन आफू सकारात्मक रहेको समेत बताए । यसैबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री  धनराज गुरूङले प्रतिष्ठानमा देखिएका कानुनी समस्या समाधान गर्न आफू लागि पर्ने बताए । प्रतिष्ठानलाई छाता ऐनमा नराख्ने बताउँदै उनले भने– ‘प्रतिष्ठानको विकासमा अवरोध पुग्ने खालका ऐन भए त्यसको समाधानमा म पूर्ण रूपमा लाग्ने छु ।’

कांग्रेस सभापति र कानुन मन्त्रीलाई समितिका संयोजक मुक्सामहाङ मेयाङ्बो, पूर्व मेयरहरू तिलक राई र मनोज मेयाङ्बो, एमाले नगर इञ्चार्ज नारायण सुवेदी, कांग्रेस नगर सभापति श्याम पोख्रेल, जसपा नगर अध्यक्ष ताजुब लिम्बू, नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ, कोशी प्रदेशकी सांसद मिना श्रेष्ठ, कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालगायतको उपस्थितिमा ज्ञापन–पत्र बुझाइएको थियो ।