विराटनगर । विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ ।
कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुने फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार, व्यवस्थापन सङ्कायतर्फका कर्मचारी श्रीराम पौडेल र विज्ञान सङ्कायतर्फका कर्मचारी दीपा केसी बस्नेत रहेकी छन् । सम्मानित भएका शिक्षक र कर्मचारीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले अनुशासित भएर अध्ययन गरे विद्यार्थीहरूले सफलता हात पार्ने बताए । उनले अहिलेको शिक्षा सीपसहितको रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको बताए । विद्यालयहरूलाई सीपसहितको रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपमा सबै उत्कृष्ट शिक्षकहरू रहेको जानकारी गराउँदै विद्यार्थीले दिएको भोटको आधारमा एक जना उत्कृष्ट शिक्षक र कर्मचारीहरूलाई छनौट गरी सम्मान गरेको बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसर बाँकी नराखेको बताए ।
गुणस्तरीय शिक्षा प्रदानमा शिक्षादीप कलेज सधँै अगाडि रहेको छ । यहाँ अध्ययनरत विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउने गरेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले लिने परीक्षामा पनि यहाँ अध्ययनरत विद्यार्थीहरूले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यसअघि शिक्षादीपमा अध्ययनरत छात्रा अदितीकुमारी जैन एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप भएकी थिइन् ।