अङ्ग्रेजी साहित्यकार विलियम शेक्सपियरले भनेका थिए– महान्तादेखि नडराऊ । कोही महान् जन्मिन्छन्, कोही महानता प्राप्त गर्दछन् र कोहीमाथि महानता थोपरिन्छ ।

हर्क साम्पाङ महान् बनिरहेका छन् । त्यो महानता जन्मिएको हो, प्राप्त गरिएको अथवा थोपरिएको हो ? यो प्रश्नबाट बहस सुरु गरौं । मलाई लाग्छ– हर्कले महानता प्राप्त गरेका हुन् । कर्मले, श्रमले र धैर्यतासहित निरन्तरको प्रयासले । एक हिसाबले त्यो महानता थोपरिएको हो, अरू महान् बन्न नसकेपछि एउटा टेम्पोमा, एक्लै माइकमा बोल्ने भुइँमान्छेलाई ।

धरान उपमहानगरपालिकाको दीर्घकालीन समस्या समाधानको विषय कसरी अगाडि बढ्ला ? त्यो कार्ययोजनाका हिसाबले तय होला । तर, धरान उपमहानगरपालिकाले विश्वभर परिचय बनाएको ‘कोहिनुर’ लाई स्थापित गरेको छ । यस्तो हीरा जसको मूल्य यकिन गर्न सकिन्न अनि, जसलाई खायो भने विषको काम गर्दछ ।

धरानको तत्कालिक समस्याका रूपमा रहेको खानेपानीको अस्थायी समाधान निकालेका मेयर हर्क साम्पाङको लोकप्रियता भूगोलमा अहिले कस्तो छ भन्ने अनुमानमा संश्लेषण हुन सक्ला तर, भर्चुअल विश्वमा भने गुणी भनी स्पष्ट छन् । हर्कबारे टिप्पणीकारको एउटा शब्दमा सटिक विश्लेषणलाई शीर्षकमा उठाएको छु– गर्व र उदेकका समास ।

तिर्खाएको धरानमा पानी बगाएर हर्षको आँसु खसाल्ने एउटा हर्कलाई स्यालुट गर्न मन लाग्छ । तर, जब आलोचना गर्नेविरुद्ध नगरपिताबाट प्रष्फुटित भएका शव्द सुन्दा उदेक लाग्छ । यसकारण यी दुवै गुण र अवगुणका समास हुन् साम्पाङ । हर्क अरूलाई होइन, आफूलाई नै उत्कृष्ट व्यक्ति र नेता ठान्छन् । आफैसँगको प्रतिस्पर्धाबाट उदाएको विगत भएका कारणले नै उनले यस्तो ठान्नुलाई अस्वभाविक मान्न सकिँदैन ।

भनिन्छ, नेता त्यो हो, जसले बाटो चिन्दछ, हिँड्छ र अरूलाई डोर्याउँछ । हर्क कता–कता यही गुणका एक वाहकजस्तो पनि लाग्दछ । धरानको दीर्घकालीन समस्याका रूपमा रहेको पानी उनको मुद्दा बन्यो । अहिलेसम्म राजनीतिक विचारधारा, समाजवाद, साम्यवाद इत्यादि राजनीतिक आडमा धरान सरकारका निम्ति प्रतिस्पर्धा भए । तर, हर्क ती भूईंमान्छेका रूपमा चुनावी मैदानमा अथक लागिरहे कि धरानको विषय, समस्या भनेको कुनै वाद होइन, तिर्खा हो । त्यसैका निम्ति श्रमदानलगायतका अभियानमा उनको अग्रसरताले अस्थायी समाधान भेट्टायो । अस्थायी समाधानमा नै हर्षित धरानमा उनका खुसीको वेगमा खसेका आँसुले भन्छ– नगरबासीको तिर्खा मेट्नु पहिलो वाद हो । उनको राजनीति यही विन्दुले सकारात्मक दिशामा छ ।

पछाडिबाट नेतृत्व गर्नु र अरूलाई अगाडि राख्नु राम्रो हो, विशेषगरी जब राम्रा चिजहरू हुन्छन्, जब विजय मनाइन्छ । तर, खतरा हुँदा तपाईं अगाडि उभिनुहुन्छ, तब मानिसहरूले तपाईंको नेतृत्वको प्रशंसा गर्नेछन् भन्ने शिल्पमा नै हर्कको अभियान देखियो । धरानको तिर्खा अहम् अराजनीतिक विषयवस्तु थिएन तर, जोखिम थियो । त्यो जोखिमको नेतृत्व हर्कले गरेका कारण उनी एक नेता हुन् ।

मानव भएका कारण उनमा रहेको आवेग एउटा गुण हो । तर, पदीय जिम्मेवारीमा रहेका कारण त्यो आवेग एउटा नकारात्मक प्रभावको कारक पनि बन्न सक्छ । काठमाडौंका मेयर बालेन्द्र साहसँगको भर्चुअल जुहारी होस् वा इटहरीका मेयरसँगको टिप्पणीको प्रश्नोत्तर, यसले हर्कलाई केही हदसम्म घोचेको थियो नै । चाहे उनले मिडियाकर्मीसँग गरेको व्यवहार होस् र त्यसविरोधमा गरिएको पत्रकारको अर्को विरोधले हर्कलाई केही न केही धक्का त पारेकै थियो ।  

नियम, कानून र पद्दतिलाई आत्मसात नगरी लिँडेढिपीले मात्र पनि नेता बनिदैन । स्वतन्त्र व्यक्तिका रूपमा मेयरमा जनताले राखे पनि हर्कले नगर कार्यपालिकाको विधि र पद्दतिलाई अस्वीकार गर्न कहाँ मिल्छ र ? उनी जस्ता स्वतन्त्र हिसाबले नै जित निकालेका काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नगर कार्यपालिकालाई सन्तुलित, व्यवस्थित र आफ्नो एजेन्डामा आधारित बनाएर चलाउने सफलता देखाएका छन् ।

प्रत्येक वडाका प्रतिनिधि भनेका पनि जनताबाट निर्वाचित नै हुन् भन्ने विषयलाई हेक्का राखेर तिनका विषय सुन्ने, तिनलाई सहज प्रतिक्रिया दिए उनले भूईंमान्छेबाट उठेर बनाएको व्यक्तित्व अझ प्रभावी र बलियो हुनेमा दुईमत छैन । तर, हर्कले केही विषयमा अन्य जनप्रतिनिधिको हुर्मत लिनेगरी दिने वक्तव्य उनको जिम्मेवारीका लागि कति सुहाउँदो छ ? यस विषयमा आत्मसमीक्षा गर्न सकुन् ।

अभिभावकले हरस्वभावका सन्तानका सवाललाई सुन्ने, समस्यालाई बुझ्ने र तिनको सरल समाधान निकाल्ने, समाधान निकाल्न सहज बाटो र वातावरण बनाउने काम गर्दछ । हर्क धरानका अभिभावक हुन्, यसकारण त्यहाँभित्र रहेका असन्तोष, असन्तुष्टि र कतिपयका राजनीतिक तुष्टिलाई पनि समाधानको उपायमार्फत् सम्बोधन गर्नुपर्दछ । समाजमा विविधता, भिन्न विचार र कार्यशैली भएका कारणले नै त्यो सन्तुलित हुन्छ भन्ने ठानेर विवाद होइन, गाली होइन, सहज निकासका लागि हर्कलाई सफलता मिलोस्, शुभकामना !