नेकपा एमालेको निर्णयविरुद्ध सुनसरी क्षेत्र नं. १ मा गत प्रतिनिधि सभाको निर्वाचनमा बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेयाङ्बोलाई पुनः एमालेमा फर्काउन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्भिन्स’ गरेका छन् ।  

‘बिपी बचाऊ’ अभियानका क्रममा काठमाडौं पुगेका धरानका पूर्व मेयर मनोज मेयाङ्बो र नेकपा एमालेका अध्यक्ष ओलीबीच बालकोटमा अढाई घण्टा लामो सौहार्दपूर्ण कुराकानी भएको छ । 

पूर्व प्रधानमन्त्री ओलीले पुरानो धरान र सुनसरी क्षेत्र नं. १ को शाख फर्काउन पूर्व मेयर मेयाङ्बोलाई ‘कन्भिन्स’ गरेका हुन् । कोशी प्रदेशकी सांसद तथा अध्यक्ष ओलीकी पूर्व स्वकीय सचिव मीना श्रेष्ठले अध्यक्ष ओलीको  आग्रहमा मेयाङ्बोलाई बालकोट पुर्याएकी थिइन् । ‘पार्टी अध्यक्षसँग अढाई घण्टा लामो उहाँको कुराकानी भयो, मनका कुण्ठाहरु पार्टी अध्यक्षलाई पोख्नु भयो, बागी उठ्नुपर्ने कारण, चित्त नबुझेका सबै कुरा उहाँ (मेयाङ्बो) ले राख्नुभयो’, सांसद श्रेष्ठले भनिन्, ‘अध्यक्षज्यूले पार्टी काममा फर्किनुपर्छ, सक्रिय हुनुपर्छ, पार्टीबाट टाढा नहुनू दूरी नबढाउनू भन्ने अनुरोध गर्नुभयो ।’

KP Oli vs Manoj Meyangbo (1)

एमाले अध्यक्ष ओलीसँग कुराकानीपश्चात् धरानका पूर्व मेयर मेयाङ्बोले हाल न्युट्रल बसेको कुरा दोहोर्याएका थिए । यद्यपि एमाले फर्कने विषयमा उनको मौन स्वीकृत रहेको बुझिएको छ ।   

‘बिपी बचाऊ’ अभियानका टोलीलाई बिदा गर्ने समयमा समेत एमाले अध्यक्ष ओलीले मेयाङ्बोलाई पार्टी काममा फर्कन आग्रह गरेका थिए । 

मंसिर ४ को निर्वाचनमा जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईलाई सुनसरी १ एमालेले छाडेपछि धरानका पूर्वमेयर मेयाङ्बोले बागी उम्मेदवारी दिएका थिए । उनले ७ हजार ८१२ मत पाएका थिए । मेयाङ्बोले विद्रोह गर्दा एमालेका प्रदेश कमिटी सदस्यदेखि स्थानीय नेता कार्यकर्ताले समेत उनलाई समर्थन गर्दै चुनावी अभियानमा लागिपरेका थिए ।  

एमालेले मेयाङ्बोसहितका नेता कार्यकर्तालाई गरेको कारबाही फिर्ता लिइसकेको छैन ।