छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरेको छ ।
इरानमा वर्षौंदेखि शरणार्थीका रूपमा बस्दै आएका ७४ हजार ३६ अफगानी शरणार्थीविगत एक महिनामा अफगानिस्तानको निमरोज प्रान्त हुँदै आफ्नो मातृभूमि फर्केका छन् र यो प्रक्रिया जारी रहेको प्रतिवेदनमा उल्लेख छ । अफगानी सञ्चारमाध्यमका अनुसार अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार ११५ शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको संख्या एक लाख ३८ हजार १५१ पुगेको छ ।
इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै संख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा रहेका छन् । अफगानिस्तानको कामचलाउ सरकारको नेतृत्व गरेको तालिवान समूहले विदेशमा रहेका अफगानी शरणार्थीहरुलाई स्वदेश फर्कन र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आह्वान गर्दै आएको छ ।
—रासस