कोशी प्रदेशसभाको अधिवेशन आह्वान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् । 

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ । 

उक्त बैठकले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राख्ने विश्वासको प्रस्ताव फेल गराउने निर्णय गरेको कांग्रेस नेता केदार कार्कीले जानकारी दिए । 

यस्तै बैठकले चार दलीय गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय पनि गरेको छ । बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भुपेन्द्र राई, सांसद प्रदीपकुमार सुनुवार, नेकपा (माओवादी केन्द्र) को तर्फबाट दलका नेता इन्द्रबहादुर आङ्बो, नेताहरु दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र राजेन्द्र कार्की सहभागी थिए । जसपाको तर्फबाट भने निर्मला तावा लिम्बू सहभागी थिइन् । 

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईसँग फोनमा कुराकानी भएको र उनले सहमति जनाएको बताइएको छ ।

यसअघि जेठ ३१ गते बजेट अधिवेशन स्थगित भएको थियो । सरकारको सिफारिसमा असार १४ गतेका अर्को अधिवेशन आह्वान गरिएको छ । आइतबार बसेको प्रदेश सरकार मन्त्रीपरिषदका् बैठकको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेका हुन् । 

सोही अधिवेशनमा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ जना प्रदेशसभा सदस्यहरुमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढले अर्को सरकार गठनको पहल सुरु गर्ने निर्णय गरेको हो ।