सोमबार अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस मनाइएको छ । नेपालमा पनि सचेतनामूलक कार्यक्रम गर्दै दिवस मनाइएको छ । हाम्रा सामु लागूपदार्थ एउटा जटिल समस्याको रूपमा परिचित छ । यो नेपालको मात्रै समस्या हैन, विश्वको समस्या हो । यो समस्यालाई निराकरण गर्न हाम्राजस्ता देशको स्रोतसाधनले भ्याउने कुरा छैन । तीनतिरबाट भारतसँग जोडिएको नेपालमा खुल्ला सीमाको फाइदा उठाउँदै आइरहेको अवस्था छ । सुरक्षाकर्मीहरूले नेपालमा लागूऔषध कारोबार तथा दुव्र्यसनी बढ्नुमा धेरै कारणमध्ये प्रमुख कारण यसैलाई मानेको पाइन्छ । हुन पनि खुल्ला सीमाका कारण तस्कर र कारोबारीले अनेक जुक्ति लगाउँदै नेपालमा भिœयाउने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि बेला बेलामा ठूलो परिमाणमा लागूऔषधहरू बरामद हुने गरेको समाचारहरू बाहिरिँदै आएका छन् । कडा खालका लागूऔषधहरूको कारोबारको ट्रान्जिट पोइन्ट नेपाल भएको हो कि भन्ने भान पनि हुने गरेको छ । यो अन्तर्राष्ट्रिय समस्या हो । यसलाई नियन्त्रण गर्नका लागि देशहरूले निर्माण गरेको ‘नेक्सस’ ले पनि काम गरिरहेको अवस्था छैन ।

हाम्रोजस्तो देशका लागि लागूऔषध एउटा गम्भीर चुनौती हो । यसलाई निमिट्यान्न पार्न प्रहरीले अनेक खालका रणनीति अख्तियार गरे पनि सकेको अवस्था छैन । यसको प्रमुख कारण नै खुल्ला सिमाना हो । हामीकहाँ प्रतिबन्धित मानिएका औषधिहरू भारतमा वैध मानिन्छन् । एउटा देशको कानूनले अवैध मानेको कुरा अर्को देशको कानूनले वैध मानिदिएको छ । यो पनि अर्को चुनौती हो । भारतमा वैध मानिएका औषधिहरू नेपालमा ल्याइपु¥याएपश्चात् त्यसलाई प्रतिबन्धित औषधिको रूपमा कानूनले परिभाषित गरिदिएको छ । त्यसकारण एउटा देशले चाहेर मात्रै यसलाई नियन्त्रण गर्न सक्ने अवस्था छैन । यसलाई नियन्त्रण गर्न देश देशबीचमा दरिलो खालको नेक्सस तयार गर्न आवश्यक छ । सूचना प्रविधिको ह्वात्तै विकासका कारणले लागूऔषधलाई जो कोहीले पनि सजिलै चिन्न सक्ने अवस्था छ । यो अवस्थाको अन्त्य गर्न सक्ने अवस्था छैन । आजको लागूऔषधको प्रवृत्ति थप बढ्ने देखिन्छ । अहिले लागूऔषधका प्रकृति पनि फरक फरक पाइएको छ । त्यो पनि अर्को चुनौती हो । यस्ता चुनौतीको अन्त्य गर्नका लागि सुरक्षा निकायलाई थप शिक्षा र सचेतनाको खाँचो छ ।

लागूऔषधलाई अन्तर्राष्ट्रिय समस्याको रूपमा पहिचान त गरिएको छ तर, उत्पादनमा नियन्त्रण छैन । कतिपय देशमा खेती नै गरी उत्पादन गरिएको अवस्था छ । अफगानिस्तान, पाकिस्तान जस्ता देशमा अफिमको खेती नै गरिन्छ । त्यहाँ अफिमको खेती वैध मानिन्छ । त्यही अफिमबाट अनेक प्रकृतिका लागूऔषधहरू बनिन्छन् । नेपालजस्तो विकासोन्मुख देशहरूले पूर्ण नियन्त्रण गर्न सक्ने अवस्था छैन तर, पनि कम्तीमा अन्तर्राष्ट्रियस्तरमा निर्माण भएको नेक्ससले यसबारे गम्भीर भएर पाइला चाल्ने हो भने धेरै हदसम्म नियन्त्रण हुन सक्ने थियो । नेपालका खुल्ला सीमालाई नियन्त्रण गर्नका लागि भारत सरकारले सहयोग गरिदिने हो भने पनि लागूऔषध नियन्त्रणमा सहयोग पुग्ने थियो । भारतमा वैध मानिएका औषधिहरू नेपालमा सीमा क्षेत्र वरपर बिक्री गर्न नदिने वातावरण तयार गरिनुपर्छ । यसो हुँदा नेपालका लागि केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने थियो । नेपाल सरकारमातहतको नेपाल प्रहरी, सीमा सुरक्षा बलले जुन प्रयास गरिरहेको छ, त्यो प्रयासलाई थप बढाउनसके थप उपलब्धि हात पर्ने थियो । अपराधको प्रवृत्तिलाई नियाल्ने हो भने लागूऔषधबाट हुने अपराध पनि दोस्रो, तेस्रो नम्बरमा आउँछ । यो हाम्रा लागि ठूलो चुनौती हो । यसको नियन्त्रण चाहेर नचाहेर गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नेपाल सरकारले अहम् भूमिका खेल्नुपर्छ ।