विराटनगर । भारतको मालदह घर भएका १८ वर्षीय आबु कमलको दश महिनाअगाडि दायाँ आँखामा अल्सर भएको कारणले ज्योति गुमेको थियो । गुमेको आँखाको ज्योति फिर्ता ल्याउन भारत र नेपालका धेरै अस्पतालमा धाए तर, उनले उपचार पाएनन् । बरू उनलाई चिकित्सकले आँखा निकाल्नुपर्ने सुझाव दिए ।

‘आँखा कमजोर हुँदै गयो । चश्मा लगाए भएन, कन्ट्याक्ट लेन्स पनि हालेँ, त्यसले पनि भएन’ उनले भने, ‘त्यसपछि ६ महिनाअगाडि विराटनगर–१४ स्थित दिव्य ज्योति अस्पतालमा गएर जँचाउँदा आँखाको नानीका कारण समस्या भएको पत्ता लाग्यो । डाक्टरको सल्लाहमा नानी प्रत्यारोपण गरेँ । अहिले सहज भएको छ ।’ आँखाको नानी ल्याएर आबुको आँखामा सफलतापूर्वक प्रत्यारोपण दिव्य ज्योति अस्पतालका चिकित्सकले  बताए ।

आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. अभिषेक सुवालको टिमले गरेको हो । आँखाको नानी सफल प्रत्यारोपण भएपछि उनलाई सोमबार हस्पिटलले डिस्चार्ज दिएको छ । आँखाको नानी प्रत्यारोपण गराएपछि उनको जीवन उज्यालो भएको छ । अहिले आँखाको प्रत्यारोपण गराएपछि आँखा देख्न सक्ने भएको उनले सुनाए । ‘आँखाको प्रत्यारोपणपछि मैले नयाँ जुनी नै पाएजस्तो भएको छ’–उनले भने । १८ वर्षको उमेरदेखि नै ज्योति कमजोर हुँदै गएपछि उनलाई दैनिक काम गर्न समेत निकै अप्ठ्यारो हुने गरेको थियो ।

अस्पतालले आबुको मात्र आँखाको नानीको सफल प्रत्यारोपण गरेको होइन । हालसम्म २५ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । ६ महिनाको अवधिमा नेपाल आँखा बैङ्कबाट आँखाको नानी ल्याएर सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । १५ देखि ७५ वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको अस्पतालका सञ्चालक देवा यादवले जानकारी दिए ।

अस्पतालका अनुसार आँखाको प्रकृतिअनुसार १० हजारदेखि ११ हजारसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । अस्पतालमा आँखाको नानी राख्ने बैङ्क नभएका कारण काठमाडौँबाट नानी ल्याउनुपर्ने बाध्यता छ । अस्पतालले आँखाको नानी सङ्कलन मात्रै गर्दै आएको छ । अप्टिसोल मिडिया र कर्निसोल मिलिया नामक रसायन आँखाको कोर्नियालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ।

अहिले नानी सङ्कलन गरेलगतै नेपाल आँखा बैङ्कमा पठाइन्छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिमा आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । कुनै व्यक्तिको मृत्यु भएको ६–७ घण्टाभित्र आँखाको नानी निकाल्न सके उत्तम हुने चिकित्सकहरू बताउँछन् । तर, १२ घण्टासम्म पनि नानी निकाल्न सकिन्छ । नानी निकालेको एक हप्ताभित्र प्रत्यारोपण गरिसक्नु पर्ने  चिकित्सक डाक्टर सुवालले बताए ।

‘आँखा दान भन्ने बित्तिकै धेरैले पूरा आँखाको डल्लो नै फेर्ने भन्ने बुझ्छन्’ अस्पतालका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. सुवालले भने, ‘पारदर्शी हुनुपर्नेमा आँखाको नानी त्यसमा कुनै कारणवश दाग भएर अथवा फुलो पर्न गएको खण्डमा आँखा देख्न सकिँदैन । त्यस्तो आँखाको नानी प्रत्यारोपणलाई नै आँखा दान भनिन्छ ।’