विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा जनरल बेड मङ्गलबारदेखि निःशुल्क गरिएको छ ।
कोशी अस्पतालको ३ सय ३० बेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको हो । कोशी अस्पतालको मङ्गबलार निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सङ्घीय सरकार मातहत रहेको कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल बेड निःशुल्क गरिएको बताए । यसअघि प्रतिबेड १ सय रुपैयाँ शुल्क लिने गरिएको थियो ।
अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए । यसअघि वीर अस्पतालको ७ सय बेड निःशुल्क गर्ने निर्णय भएको छ । यसरी क्रमशः सङ्घीय मातहतको अस्पतालको जनरल बेड निःशुल्क गरिने मन्त्री बस्नेतले बताए । ‘यसअघि मैले वीर अस्पतालको ७ सय बेड निःशुल्क गर्न निर्देशन दिएको छु । लागू पनि भएको छ । कोशी अस्पतालको पनि जनरल बेड निःशुल्क भएको छ’ मन्त्री बस्नेतले भने, ‘यहाँ पनि मङ्गलबारदेखि लागू हुनेछ ।’
बेड निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जेनेरल बेडमा भर्ना भएका बिरामीको मङ्गलबारदेखि जनरल बेड निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले जानकारी दिए ।
‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरूलाई सहज हुँदैन’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल बेड निःशुल्क गर्ने निर्णय भएको हो ।’ जनरल बेड निःशुल्क भए पनि आइसियु र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३ सय ५० शय्याको अस्पताल हो । यहाँ दैनिक ओपीडीमा १ हजारदेखि १ हजार पाँच सय जनासम्म बिरामी आउने गरेका छन् ।
काठमाडौंबाहिर वीर अस्पतालपछि कोशी अस्पतालको जनरल बेड निःशुल्क गर्ने दोस्रो अस्पताल हो । कोशीपछि मेची प्रादेशिक अस्पताल निरीक्षण गर्न मन्त्री बस्नेत गएका छन् । मेची प्रादेशिक अस्पतालको जनरल बेड पनि निःशुल्क गरिने तयारी गरिएको छ । आज (बुधबार) काठमाडौंका चार अस्पतालको पनि जनरल बेड निःशुल्क गरिने तयारी गरिएको मन्त्री बस्नेतले बताए ।
गङ्गालाल हृदय रोग केन्द्र, सरुवा रोग केन्द्र, प्रसूति गृह, कान्ति बाल अस्पतालको पनि जनरल बेड निःशुल्क गरिने मन्त्री बस्नेतले जानकारी दिए । ‘त्यसको लागि आज (बुधबार) बिहान ९ बजे बैठक बस्ने भएको छ । त्यसपछि निर्णय गरेर यी अस्पतालको पनि निःशुल्क जनरल बेड घोषणा गरिनेछ ।’