विजयपुर । धरान उपमहानगरपालिकामा डेङ्गु प्रकोपको रूपमा फैलिएको छ । नगरका प्रायः वडाका प्रत्येक घरघरमा डेङ्गुका बिरामी रहेका छन् तर, डेङ्गु नियन्त्रणमा नगरले चासो देखाएको छैन ।

उपमहानगरको स्वास्थ्य महाशाखाका अनुसार नगरका प्रायः सबै वडाहरूमा डेङ्गुको सङ्क्रमण फैलिएको छ । महाशाखाका अनुसार धरानको वडा नं. ८,  ११, १५, १६, १७ मा अत्यधिक सङ्क्रमण फैलिएको छ भने अन्य वडामा पनि बिरामी देखिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने रोगीको सङ्ख्याले पनि प्रकोप बढिरहेको देखाउँछ ।

असारको पहिलो साता ३६ जनाको स्वास्थ्य  परीक्षण गर्दा १९ जना डेङ्गु रोगी देखिएका थिए । यसै साता ५४ जनाको परीक्षण गर्दा ४२ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । अघिल्लो साता कुल बिरामीको ५२ दशमलव ७७ प्रतिशत सङ्क्रमित देखिएकोमा यसै साता ७७ दशमलव ७७ प्रतिशत सङ्क्रमित देखिएका छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलले भने, ‘डेङ्गुका बिरामी बढ्दो क्रममा छन् ।’ २०७६ सालमा डेङ्गु प्रभावित क्षेत्रमा परेको धरानमा यसवर्ष पनि डेङ्गु प्रकोप बढिरहेको छ ।

नगरले नियन्त्रणमा प्रभावकारी कदम चालेको छैन । हाल केही वडाहरूले नियन्त्रणका लागि सामान्य पहल थाले पनि पर्याप्त नभएको गुनासो बिरामीका आफन्तहरूको छ । कुन वडामा कति डेङ्गुका बिरामी छन् भन्ने तथ्याङ्कसमेत नगरसँग छैन । स्वाथ्य महाशाखा प्रमुख उमेश मेहेताले धरानका प्रायः वडामा बिरामी रहेको बताए । उनले भने, ‘कति सङ्क्रमित छन्, यकिन तथ्याङ्क आएको छैन ।’

कतिपयले डेङ्गु हो भनेर परीक्षण नै नगराउने भएकाले पनि यकिन तथ्याङ्क नआएको उनले बताए । महाशाखा प्रमुख मेहेताले सबै वडा कार्यालयलाई नियन्त्रण गर्न पत्राचार गरेको बताए । डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नुपर्ने उनले बताए । महाप्रमुख मेहेता भन्छन्, ‘नियन्त्रणका लागि काम नै नगरेको भन्ने होइन । काम गरिरहेका छौँ । डेङ्गु नियन्त्रण गर्न लार्भा नष्ट नै प्रभावकारी उपाय हो । तर, जनमानसमा ‘फगिङ’ नगरेकाले काम नै गरेन भन्ने बुझाइ छ ।’

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशमा पनि डेङ्गु नियन्त्रण गर्न सहयोग माग गरेको उनले बताए । मेहेताले भने, ‘निरीक्षण, नियन्त्रण र अनुगमनका लागि स्वास्थ्य निर्देशनालयको टोली आउँदैछ ।’

यस्तै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंलाई पनि पत्राचार गरेर डेङ्गु परीक्षणका लागि ६ हजार किट माग गरेका छौं । किट आएपछि स्याम्पलिङ गरेर नियन्त्रणको पहल गर्ने प्रमुख मेहेताले बताए । धरान–१७ मा डेङ्गुकै कारणले एक जनाको मृत्यु भएको भन्ने खबर बाहिरिएको थियो । तर, महाशाखा प्रमुख मेहेताले भने, ‘डिस्चार्ज पेपरमा मृत्युको कारण डेङ्गु लेखिएको छैन ।’

डेङ्गुको लक्षण
महाशाखा प्रमुख मेहेताका अनुसार डेङ्गुको प्रमुख लक्षण एक्कासि ज्वरो हो । ज्वरो हप्तादिनसम्म रहन सक्छ । यस्तै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्नु, वाक्वाकी लाग्नु, पेट दुख्नुलगायतका लक्षण देखा पर्दछ ।

बच्ने उपाय
लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ गर्नुपर्ने मेहेता बताउँछन् । उनी भन्छन्, ‘सर्च एण्ड डिष्ट्रोय’ प्राइमरी उपाय हो । फगिङ सेकेण्डरी हो ।’ पानी तीन दिनभन्दा बढी भण्डारण गरी राख्न हुँदैन । बिहान घाम झुल्किने र अस्ताउने बेलामा डेङ्गु सार्ने लामखुट्टे सक्रिय हुने भएकाले शरीर पूरा ढाक्ने गरी लुगा लगाउन उनी सुझाव दिन्छन् । डेङ्गुबाट बच्नका लागि घर आसपास, टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी भण्डारण गरिएको भाँडावर्तन खुला छाड्नु हुँदैन । भान्सा र बाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल, ढोकामा जाली लगाउनु पर्छ ।