धरान ४ स्थित वसन्तटारमा रहेको शिक्षाज्योति आधारभूत विद्यालयमा पूष्पवाटिका निर्माण गरिएको छ । आज बुधबार पुष्पवाटिकामा फूलका विरुवा रोप्दै वडाध्यक्ष धनबहादुर राईले वाटिकाको औपचारिक उद्घाटन गरेका छन् । 

धरान उपमहानगरपालिकाको वातावरण शाखाअन्तर्गत पूष्पवाटिका प्रवद्र्धन कार्यक्रममार्फत् विनियोजित २ लाख रुपैयाँबाट वाटिका निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि राईले जानकारी दिए । 

वडा नं. ४ मा रहेका विद्यालयहरु मध्ये सबैभन्दा बढी विद्यार्थी संख्या रहेको र नमूनाका रुपमा विकास गर्न लागिएको शिक्षाज्योति आधारभूत विद्यालयलाई वातावरणमैत्री बनाउनका लागि पूष्पवाटिका निर्माण गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए । 

निर्मित पूष्पवाटिकामा विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि र स्थानीय शिक्षाप्रेमीहरुले फूलका बिरुवा रोपेका छन् । 

Shiksha-jyoti-aadharbhut-bidyalaya-dharan-4-basantatar-blastkhabar (3)

२०५२ सालमा स्थापना गरिएको विद्यालयमा स्थानीय १ सय १२ जना बालबालिका बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत छन् । विद्यालयको सौन्दर्यीकरणमा पूष्पवाटिकाले मद्दत पुर्याएको प्रअ मेनुका सापकोटाले बताइन् ।

स्थानीयको घरबाट ट्युसन कक्षादेखि सुरु गरिएको विद्यालयको आफ्नै संरचना र जग्गा नभएपछि स्थानीय शिक्षासेवी पर्शु गुरुङले अढाई कट्ठा जग्गा प्रदान गरेका थिए । 

अधिकांश मजदुरी गर्ने अभिभावकका छोराछोरी र अभिभावक नभएका बालबालिकालाई अध्यापन गराइरहेको विद्यालयमा ‘क्यान एजुकेशन फाउण्डेशन’ ले अध्ययन अध्यापनका लागि आर्थिक सहयोग गर्दै आएको छ । कक्षा १२ सम्मका लागि शैक्षिक सामग्री र लत्ता कपडा र भरणपोषणमा समेत आर्थिक सहयोग गर्दै आएको फाउण्डेशनका स्थानीय संयोजक रमेश राईले जानकारी दिए ।