विराटनगर । कोशी प्रदेशको तराई र पहाडी जिल्लामा डेङ्गु रोगका बिरामीको सङ्ख्या दिनानु दिन बढिरहेका बेला रोग परीक्षण गर्ने किटको चरम् अभाव भएपछि समस्या उत्पन्न भएको छ ।

डेङ्गु रोगको परीक्षणको लागि किट उपलब्ध गराउने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आएको किट सकिएपछि माग गरेको जिल्ला अस्पतालहरूमा पठाउन नसक्दा समस्या भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चालु आर्थिक वर्षमा पठाएको ३ हजार ६ सय ५० थान किट सकिएपछि अहिले दिनानु दिन डेङ्गु बढिरहेको बेला परीक्षण गर्न नपाउँदा समस्या भएको छ । बर्खायाम सुरु भएसँगै डेङ्गु रोगका बिरामीको सङ्ख्या बढेर गएको छ । त्यही भएर अहिले डेङ्गु परीक्षणको लागि प्रदेशका स्वास्थ्य कार्यालयहरूबाट किटको माग बढी आइरहेको छ । भएको किट प्रदेशको जिल्ला अस्पताहरूमा पठाएको र अहिलेसम्म किट नभएको कारणले पठाउन नसकिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाइजर मानबहादुर मगरले जानकारी दिए ।

डेङ्गु परीक्षण गर्ने किटको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग माग गरिएको उनले बताए । आइतबारसम्म पाँच सय थान आउने जानकारी आएको उनले सुनाए । ‘हामीसँग भएको किट जिल्ला अस्पतालहरुमा पढायौं । किट अभाव भएको एक हप्ता हुन लागिसक्यो । अहिले प्रदेशका धेरै अस्पतालहरूबाट किटको माग आइरहेको छ’ उनले भने, ‘हामीसँग किट नभएको कारणले पठाउन सकिरहेका छैनौं, धरानमा डेङ्गु बढेको कारणले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाटै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले किट लिएर गएको छ ।’

चालु आर्थिक वर्षको असार १० गतेसम्म कोशी प्रदेशमा १ सय ५७ जनामा डेङ्गु देखिएको छ । सुनसरीको धरानमा मात्रै मङ्गलबार ४० जनामा डेङ्गु देखिएको स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका निमित्त कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । बुधबारसम्म सुनसरीमा १ सय २ जनामा डेङ्गु देखिएको उनले बताए । सुनसरीपछि सङ्खुवासभामा नयाँ १५ जनामा डेङ्गु देखिएको बस्नेतले जानकारी दिए । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि किटको अभाव देखिएको उनले बताए । किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको उनले बताए ।

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका किटजन्य रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन दिलिप सिंहले एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने बताए । ‘धरान डेङ्गुको उच्च जोखिममा छ, पछिल्लो समय डेङ्गुुका बिरामी बढ्न थालेका छन्’ उनले भने, ‘प्रयोगशालामा लामखुट्टेको लार्भा परीक्षण गर्दा डेङ्गु सार्ने प्रजाति भेटिएको छ ।’

धरान–१७ की ३० वर्षीया हिरा चौधरीको डेङ्गुको कारणले मृत्यु भइसकेको उनले बताए । पानी जम्ने ठाउँ, पानीको ट्याङ्की, पुराना टायरलगायतमा जमेको पानीमा यो जातको लामखुट्टेले लार्भा पार्छ । यसको वृद्धिबाट डेङ्गुको प्रकोप बढ्छ । ‘यो लामखुट्टेबाट जोगिन घर वरपर पानी जम्न दिनु हुँदैन’ उनले भने, ‘अहिले डेङ्गु परीक्षण गर्न किट अभाव छ ।’

डेङ्गुबाट बच्न विषादी छर्किन र विषादीयुक्त झुलको प्रयोग गनुपर्ने हुन्छ । ‘उच्च ज्वरो, हाडजोर्नी, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने यसका प्रमुख लक्षण हुन्’ उनले भने, ‘डेङ्गु देखिए केहीमा श्वास–प्रश्वासको समस्या पनि देखिन सक्छ ।’ जिल्लामा डेङ्गु र मलेरियाका बिरामी देखिन थाले पनि परीक्षणका लागि किटको अभाव रहेको छ । केही दिनयता अस्पतालमा मलेरिया र डेङ्गुका बिरामी देखिन थालेको उनले बताए ।