कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । बैठक अपराह्न १ बजे बोलाइएको छ ।

कोशी प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेको छ ।

राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ ।  कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोशी सरकार यथावत् रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा पनि विश्वासको मत पाउने मुख्यमन्त्री कार्कीको अपेक्षा छ ।  

हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।