धरानमा डेङ्गीको संक्रमण बढ्दै गएपछि शुक्रबारबाट उपमहानगरमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान  सुरू गरिने भएको छ । 

पछिल्ला समय डेङ्गीको संक्रमणका कारण प्रत्येक वडामा बिमारी भएसंगै  स्थानीयले तथा सरोकारवालाले उपमहानगरले यसको नियन्त्रणको प्रयास थाल्नु पर्ने आवाज उठाइरहेका थिए ।

धरान १७ की एक महिलाको डेङ्गीको संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएपछि उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान चलाउन ढिलो भएको भन्दै सामाजिक संञ्जालमा असन्तुष्टि आइरहेको थियो । केही वडाहरूले  आफै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरे पनि शुक्रबारबाट भने उपमहानगरपालिकाको  सबै वडामा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान  सुरु गर्न लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार अभियान प्रभावकारी बनाउन वडाध्यक्ष तथा टिएलओका प्रतिनिधिसँग छलफल गरिने भएको छ ।