कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको  छ ।

बैठकले मुख्यमन्त्री हिक्मत कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र  आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको दलका नेता इन्द्रबहादुर आङ्बो मौसमले जानकारी दिए ।

मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेकपा एमालेबाट सरकारको नेतृत्व गरिरहेका कार्कीलाई नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले दिएको समर्थन फिर्ता गरेसँगै सरकार अल्पमतमा परेको छ ।

विश्वासको मत प्राप्त गर्न कार्कीलाई ४७ मत आवश्यक छ । एमालेका ४० र राप्रपाका ६ सांसद मुख्यमन्त्रीको साथमा छन् । गठबन्धनतर्फ कांग्रेसका २९, माओवादी केन्द्रमा सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) ४ र जसपा १ सांसद छन् ।