कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको वर्तमान सरकार विश्वास गर्न योग्य र लायक भएको बताएका छन् ।
आज प्रदेश सभामा विश्वासको मत लिने क्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार विश्वास गर्न योग्य र लायक रहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले वर्तमान प्रदेश सरकार प्रदेशका ५० लाख जनताले विश्वास गर्न योग्य रहेको दाबी गरेका छन् ।
उनले सरकारलाई विश्वासको मत दिनै पर्ने बताए । ‘कि एजेण्डाहरु ठीक छैन भन्नु पर्यो, कि काम ठीक छैन भन्नु पर्यो अन्यथा बिनाकारण प्रदेश सरकारप्रति, प्रदेश संरचनाप्रति नै घृणा व्यक्त गर्ने गरी अविश्वासको मत अभिव्यक्त गर्नु हुँदैन,’ मुख्यमन्त्री कार्कीले भने, मप्रति र सरकारप्रति विश्वास गर्नुपर्छ, प्रदेश सरकारलाई बद्नाम गर्ने प्रवृत्ति प्रति सचेत बन्नुपर्छ, मपछि पनि अर्को सरकार निर्माण हुने नै छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत दिन आग्रह गरेका छन् । विश्वासको मत लिने क्रममा मुख्यमन्त्री कार्कीले पहिचानवादीहरुसँग नामकरणको विवाद अन्त्य हुने गरी विवाद समाधानका लागि आगामी दिनमा काम गर्ने बताए । पहिचानवादीले उठाएका माग सम्बोधन गर्ने गरी काम गर्नेसमेत मुख्यमन्त्री कार्कीले प्रतिबद्धता गरे ।