डेङ्गुले एकपछि अर्को जिल्ला आक्रान्त बन्दै गइरहेको अवस्था छ । यसले प्रकोपको रूप लिँदा पनि स्थानीय तहहरूमा चिन्ता खासै देखिएको छैन । सुनसरीको धरान उपमहानगरपालिका सबैभन्दा बढी आक्रान्त छ । डेङ्गु नियन्त्रणका लागि अहिलेसम्म कुनै खालको पहल भएको पाइँदैन ।

यसप्रति बुद्धिजीवीहरूले चिन्ता व्यक्त गर्न सुरु गरिसकेका छन् तर, पनि नगरको घैँटोमा घाम लागेको अवस्था छैन । डेङ्गुको परीक्षण गर्नका लागि प्रदेश तहमै किट अभाव भएको छ । यसले परीक्षणलाई प्रभावित पार्ने देखिएको छ । प्रकोपले महामारीको रूप धारण गर्नुअघि नै नियन्त्रणमा प्रभावकारी पाइला चाल्नुपर्ने देखिँदै गएको छ । डेङ्गु हरेक वर्ष फैलिँदै गरेको अवस्था छ । २०७६ यता यसले प्रकोपको रूप लिएको हो । यसलाई बेलैमा नियन्त्रण गर्न नसके झन् जटिलता निम्तिने पक्कापक्की छ ।

डेङ्गु लामखुट्टेको टोकाइबाट हुने रोग हो । त्यसकारण लामखुट्टेबाट बच्नका लागि उपायहरू अपनाउनु चाहिँ पहिलो दायित्व हो । बर्खाको समयमा लामखुट्टे झन् बढी सक्रिय हुने भएकाले यस्तो बेलामा उसको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान चलाइनु पर्छ । तर अहिले त्यसो हुन सकेको छैन । सबैभन्दा बढी प्रभावित भएको धरान उपमहानगरपालिकामा पनि अहिलेसम्म यो अभियान चलाएको पाइँदैन । अन्य स्थानीय तहको अवस्था पनि उस्तै छ । केही वडाहरू तथा क्षेत्रमा ‘फगिङ’ गरेको पाइन्छ । तर, यो दीर्घकालीन समाधान होइन ।

दीर्घकालीन समाधान भनेको लार्भा नष्ट गर्ने अभियान नै हो र नागरिकलाई बढीभन्दा बढी सचेतना नै यसको प्रभावकारी उपाय हो । धरानमा पानीको सङ्कट हुने भएकाले अधिक समय भण्डारण गर्ने परिपाटी छ । यो भण्डारण नै डेङ्गुको प्रमुख कारण हो । तीन दिनभन्दा बढी भण्डारण गरिएको सफा पानीमा लार्भा हुने भएकाले पनि पानीको भण्डारणमा सबैभन्दा बढी ध्यान दिनुपर्ने देखिन्छ । तर, सर्वसाधारणमा यसको ज्ञान भए पनि पानीको अभाव नै प्रमुख कारण बनेको देखिन्छ ।

त्यसकारण पानी अभाव हुने स्थानीय तहहरूले निश्चित समयसम्म पानी दिने वातावरण तयार गर्नु चाहिँ सबैभन्दा बढी श्रेयष्कर हुन्छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म प्रदेशभरि एक सय ५७ जनामा डेङ्गु देखिएको छ । जसमध्ये सुनसरीमा मात्रै एक सय दुईजना छन् । त्यसमा पनि सबैभन्दा बढी धरानमै छ । यसर्थ धरानलाई डेङ्गुका लागि सबैभन्दा बढी जोखिम क्षेत्र हो भनेर किटान गर्न सकिन्छ ।

डेङ्गुबाट बच्नका लागि झुल लगाएर मात्रै सुत्ने, लामखुट्टे प्रतिरोधी औषधि दलेर सुत्ने, पानीको भण्डारण निश्चित समयसम्म मात्रै गर्ने र परिवर्तन गरिरहने हो भने केही हदसम्म नियन्त्रण हुने थियो । अर्कोतिर जथाभावी रूपमा गाडीका टायरहरू फाल्नेजस्ता कार्यहरू पनि गर्नु हुँदैन । यस्ता चिजहरूको उचित व्यवस्थापन गर्ने बानीको विकास गर्न स्थानीय तह नै जागरूक हुनुपर्दछ । प्रदेशमै परीक्षण गर्ने किटको अभाव हुनुले हाम्रो काम गर्ने प्रणालीलाई उजागर गर्दछ ।

अर्कोतिर स्थानीय तहले पनि लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा किन नजरअन्दाज गरिरहेको छ ? सोचनीय विषय छ । डेङ्गु नियन्त्रणमा चाँडोभन्दा चाँडो पहल गरिएन भने अहिलेको आँकडा झनै उकालिने निश्चित छ । त्यसकारण सबै स्थानीय तहहरूले सचेतनासँगै लार्भा नष्ट अभियानलाई तीव्र रूपमा अगाडि बढाऊन् । प्रदेश तहले पनि तत्कालै परीक्षण गर्ने किटको प्रबन्ध गरोस् । जसले गर्दा नागरिकले सहज रूपमा परीक्षण गर्ने वातावरण बनोस् ।