धनकुटा जिल्लामा छ महिनाको अवधिमा ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले बिहीबार सन् २०२३ को जनवरी १ देखि हालसम्म जिल्लामा ५७ वटा मानव अधिकार उल्लंघनका घटनामा ५८ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।
जसमा २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्र्यवहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना, ३ बालिकासहित ७ जना बलात्कृत, बाल यौन दुर्व्यवहार २ जना, घरेलु हिंसा ४० जना, सार्वजनिक सेवाबाट बञ्चित १ जना, तलब नपाएको १ जना गरी ५८ जना पीडित भएको अभिलेख गरिएको छ ।
सन २०२२ भरिमा ७५ जना पीडित भएकोमा अहिले छ महिनाको अवधिमा ५८ जना पीडित भएको इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले बताए ।
इन्सेक धनकुटाले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्व समीक्षा गरेको जिल्ला प्रतिनिधि थापाले जानकारी दिए ।
पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,सशस्त्र प्रहरी बल ६ नं. गुल्म धनकुटाका प्रमुख डिएसपी दीपक बलामी मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर मानप्रसाद श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल, गैरसरकारी संस्था महासंघ धनकुटा अध्यक्ष मिनप्रसाद सुवेदीले सबै पक्ष गम्भीर बनेमा मात्र मानव अधिकार संरक्षण हुने बताए ।
उनीहरुले पछिल्लो समयमा लागूऔषध दुव्र्यसनीको संख्या दिन प्रतिदिन धनकुटामा बढ्दै गएको प्रति गम्भीर चासो देखाएका छन् । लागूऔषध ओसार–पोसार तथा सेवनलाई नियन्त्रण गर्न सरोकारवालाहरुको ध्यान जानु पर्नेमा सहभागीले जोड दिए ।