विजयपुर । चौपायामा लाग्ने रोग ‘लम्पी स्किन’ को सङ्क्रमण झनै बढेको छ भने मृत्यु तेब्बरले बढेको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको तथ्याङ्कले प्रदेश १४ जिल्लामा गाईगोरु, भैँसीराँगाको मृत्युदर तेब्बरले वृद्धि भएको देखाउँछ । निर्देशनालयको तथ्याङ्कअनुसार २०८० वैशाख ३० गतेसम्ममा १ हजार १ सय ३२ गाईभैँसीको मृत्यु भएको थियो जेठ ३० गतेसम्म (एक महिना) मा ३ हजार ४ सय ६४ चौपाया मरेका छन् । जसमा ३ हजार ४ सय २१ गाईगोरु छन् भने ४३ भैँसीराँगा छन् । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको सङ्क्रमण पनि बढेको छ । कोशी प्रदेशमा २०८० वैशाख ३० सम्ममा कुल ८५ हजार ७ सय ८४ पशु सङ्क्रमित थिए भने जेठ ३० गतेसम्म १ लाख ५४ हजार ५ सय ६२ चौपाया सङ्क्रमित भएका छन् । १ लाख ५३ हजार २ सय ८ गाईगोरु सङ्क्रमित हुँदा रागाभैँसी भने १ हजार ३ सय ५४ मात्र सङ्क्रमित भएका छन् ।

निर्देशनालयका पशु चिकित्सक तथा सूचना अधिकारी विनोदकुमार साहका अनुसार यसअघि मध्यपहाडी जिल्लामा बढी फैलिएको थियो । उनले भने, ‘तराईमा सङ्क्रमण धेरै बढिरहेको छ ।’ निर्देशनालयको तथ्याङ्कअनुसार वैशाख ३० गतेसम्म झापामा ६ हजार ४९५ सङ्क्रमितमा एक सय २० चौपाया मरेका थिए । जेठ ३० गतेसम्ममा २० हजार १४ सङ्क्रमित भएका छन् भने ३ सय ३८ वटा गाईगोरु मरेका छन् । वैशाख ३० गतेसम्म इलाममा २१ हजार ५ सय १५ सङ्क्रमितमध्ये ४ सय ३५ मरेका थिए । जेठ ३० गतेसम्ममा २९ हजार ९७ सङ्क्रमित भएकोमा एक हजार ७ सय ३९ गाईगोरु मरेका छन् । भैँसीराँगा ९ सङ्क्रमितमा २ वटा मरेका छन् । पाँचथरमा ४ हजार ४ सय ७२ सङ्क्रमितमध्ये १७ मरेका थिए । पाँचथरमा जेठ ३० सम्ममा २५ हजार ५ सय सङ्क्रमित भएका छन् भने मृत्यु नभएको निर्देशनालयले जनाएको छ । ताप्लेजुङ जिल्लामा वैशाख ३० गतेसम्म सङ्क्रमण देखिएको थिएन भने एक महिनाको अवधिमा १ सय २० सङ्क्रमितमा भैँसीराँगा एक रहेको छ भने मृत्यु भएको छैन ।

मोरङमा वैशाख ३० गतेसम्म ७ हजार ५५ सङ्क्रमितमा एक सय ८२ मरेका थिए । जेठ ३० गतेसम्ममा ७ हजार ३ सय ५८ सङ्क्रमित भएका छन् भने एक सय ८७ मरेका छन् । वैशाख ३० गतेसम्म उदयपुरमा १६ हजार ५ सय ८० सङ्क्रमितमा १ सय २० मरेका थिए । जेठ ३० गते सम्ममा १९ हजार १ सय ७५ सङ्क्रमित छन् भने २ सय २६ मरेका छन् । वैशाख ३० गतेसम्म खोटाङमा ८ सय सङ्क्रमितमध्ये ३ मरेका थिए । जेठ ३० गतेसम्ममा ६ हजार ४ सय २५ सङ्क्रमित भएका छन् भने १ सय ५५ मरेका छन् । वैशाख ३० गतेसम्म ओखलढुङ्गामा ६ सय ६३ सङ्क्रमितमध्ये ५ मरेका थिए । जेठ ३० गतेसम्ममा २ हजार ५ सय ५५ सङ्क्रमित भएका छन् भने ६९ मरेका छन् । वैशाख ३० गतेसम्म सङ्क्रमण नदेखिएको जिल्ला सोलुखुम्बुमा २४ सङ्क्रमित भएका छन् । धनकुटामा १० हजार ४ सय ७९ सङ्क्रमितमध्ये ६४ मरेका थिए  । जेठ ३० गतेसम्ममा १५ हजार ४ सय ४६ सङ्क्रमितमध्ये एक सय १२ मरेका छन् । तेह्रथुममा १ हजार ८ सय १६ सङ्क्रमितमध्ये ३९ मरेका थिए ।

जेठ ३० गतेसम्म एक महिनामा ३ हजार १ सय ७५ सङ्क्रमितमा ६४ मरेका छन् । वैशाख ३० गते सङ्खुवासभामा ४ हजार १ सय ८४ सङ्क्रमितमा ३७ मरेका थिए । जेठ ३० गतेसम्ममा ११ हजार ३ सय ५२ सङ्क्रमित भएकामा ३ सय २३ मरेका छन् । भोजपुरमा वैशाख ३० गतेसम्म ४ हजार सङ्क्रमितमा १७ मरेका थिए । जेठ ३० गते सम्ममा ५ हजार ५ सय सङ्क्रमित भएका छन् भने ३३ मरेका छन् ।  सुनसरीमा वैशाख ३० गतेसम्म ७ हजार ७ सय २५ सङ्क्रमितमा ९३ चौपाया मरेका थिए । जेठ ३० गते सम्ममा ८ हजार ७ सय ८० सङ्क्रमितमा १ सय २३ मरेका छन् । निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल १ लाख ५४ हजार ५ सय ६२ गाईगोरु, भैँसीराँगा सङ्क्रमित भएका छन् । १ हजार ३ सय ५४ भैँसीराँगा रहेका छन् । यस्तै कुल ३ हजार ४ सय ६४ मरेकोमा ४३ भैँसीराँगा रहेका छन् भने अन्य गाईगोरु रहेका छन् ।

पशु सेवा विभाग ललितपुरका अनुसार मुलुकभर ‘लम्पी स्किन’ का कारणले २५ हजार ४ सय ८ चौपाया मरेका छन् । बुधबार विभागले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म सङ्क्रमित ६ लाख ८२ हजार ८० भएका थिए भने ४ लाख ९ हजार १ सय ७५ चौपाया निको भइसकेका छन् । २ लाख ४७ हजार ४ सय ९७ पशु सङ्क्रमित छन् । नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैंचा नगरपालिकाका गाईगोरुमा देखापरेको ‘लम्पी स्किन’ हाल मनाङबाहेक ७६ वटा जिल्लामा फैलिएको छ । प्रदेशभरमा क्षतिको यकिन तथ्याङ्क भने कुनै निकायसँग छैन ।

नियन्त्रणका लागि के गर्दैछ सरकार ?
निर्देशनालय सूचना अधिकारी साहका अनुसार सरकारले नियन्त्रणका लागि प्रयास गरिरहेको छ । निर्देशनालयका सूचना अधिकारी साहले नियन्त्रणका लागि लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक समूह परिचालन गरेको बताए । उनले सह–सचिव नेतृत्वका प्राविधिक टोली खटाएको बताए । कोशी प्रदेशमा सङ्घीय सरकारकी सह–सचिव शर्मिला चापागाईं नेतृत्वको टोलीले जिल्ला जिल्लामा पुगेर नियन्त्रणको प्रयास गरेको सूचना अधिकारी साहले बताए ।

उनले भने, ‘बढी प्रभावित क्षेत्र गयौं । औषधि दिएर टोली फर्किएको छ ।’ रोग नियन्त्रणका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा नै ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले २४ लाख रुपैयाँको बजेट विनियोजन गरेर नियन्त्रण प्रयास गरेको छ । सूचना अधिकारी साहले पालिकाले आन्तरिक स्रोत व्यवस्थापन गरी भ्याक्सिन लगाइरहेको बताए । आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि सङ्घीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ ।

कतिलाई लगाइयो खोप ?
कोशी प्रदेशमा हालसम्म जेठ ३० सम्म ७२ हजार ४९ चौपायालाई खोप लगाएको छ । निर्देशनालयका अनुसार झापामा ३० हजार ४ सय ५६, इलाममा २२ हजार ५ सय १८, पाँचथरमा ९ हजार, ताप्लेजुङमा २ सय, मोरङ ९ सय, उदयपुरमा एक हजार ३ सय ७५, खोटाङमा ४ हजार, ओखलढुङ्गामा एक हजार ८ सय र धनकुटामा १ हजार ८ सय चौपायालाई खोप लगाइएको छ । कम सङ्क्रमित चौपाया भएका जिल्लामा भने खोप लगाइएको छैन । मुलुकभर हालसम्म ७ लाख ३७ हजार डोज खोप सातवटै प्रदेशका १ लाख ७२ हजार १ सय २८ पशुमा लगाइएको छ ।

लम्पी स्किन समस्याले खोजियो स्थानीय तहको साथ
इनरुवा  । लम्पी स्किन रोग नियन्त्रणका लागि भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले स्थानीय तहको सहयोग खोजेको छ ।
लम्पी स्किन पशुपालक किसानका लागि समस्याका रूपमा देखिएको निष्कर्र्षसहित कार्यालयले रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहको साथ र सहयोग खोजेको हो । सीमित सरकारी बजेट रोगको रोकथाम तथा नियन्त्रणका लागि पर्याप्त नभएको भन्दै स्थानीय तहसँगको समन्वय र सहकार्य खोजिएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख कुमार सिंह खत्रीले बताए । खत्रीले लम्पी स्किन जिल्लाभर महामारीको रूपमा फैलन सक्ने आँकलनका बीच समन्वय बैठक डाकी सो बारे सरोकारवाला माझ जानकारी गराइएको बताए । प्रजिअ हुमकला पाण्डेसहित स्थानीय तहका प्रमुखलगायत सरोकारवालाको उपस्थितिका बीच रोगको रोकथाम तथा नियन्त्रण र उपचार विषयमा केन्द्रित रही समन्वय बैठक सम्पन्न गरेको खत्रीले बताए । खत्रीले खोप नै रोगको उपचार भएकाले त्यसतर्फ समन्वय र सहकार्यका लागि पालिका प्रमुख र सरोकारवाला समक्ष अनुरोध गरेका थिए ।

समन्वय बैठकमा दिइएको जानकारीअनुसार सुनसरीमा लम्पी स्किन रोगबाट सङ्क्रमित पशुको सङ्ख्या ९ हजार ६ सय २२ रहेको छ । उक्त रोगबाट मृत्यु भएका पशुको सङ्ख्या २ सय ५५ र खोप लगाइएको पशुको सङ्ख्या १ हजार रहेको छ । रोगबाट सङ्क्रमित पशुको सङ्ख्या सुनसरीको हकमा सबैभन्दा बढी इटहरी क्षेत्रमा रहेको कार्यक्रममा जानकारी दिइएको छ । इटहरीपश्चात् सङ्क्रमित पशुको सङ्ख्या धेरै हुने पालिकामा वराहक्षेत्र, धरान र रामधुनी रहेको कार्यालयले जनाएको छ । रोगबाट सङ्क्रमित पशु मृत्यु भएको पालिका भने कोसी गाउँपालिका रहेको छ । कार्यक्रममा पशु सेवा विभागकी सह–सचिव शर्मिला चापागाईंले देशभर फैलँदै गएको उक्त रोग र सरकारले त्यसको रोकथाम तथा नियन्त्रणमा चालेका कदमका बारेमा जानकारी गराएकी थिइन् । सहभागी पालिका प्रमुखहरूलाई सम्बोधन गर्दै चापागाईंले रोग नियन्त्रण तथा उपचारमा स्थानीय तहको साथ अपरिहार्य भएको बताइन् । उनले सरकारले बजेट छुट्याए पनि त्यो पर्याप्त भने नहुने बताइन् ।

चापागाईंले बर्डफ्लू, स्वाइन फ्लूले आक्रान्त भएका किसानका लागि लम्पी स्किन टाउको दुखाइको नयाँ विषय भएको बताइन् । जसको समाधानका लागि खोप अनिवार्य भएकाले पालिकाको समन्वय र सहकार्यको खाँचो भएको उनले बताइन् । उता कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले भने सरकारी अनुदान कटौती र सीमित स्रोतका कारण बजेट व्यवस्थापनमा समस्या रहेको बताए । पालिका प्रमुखको तर्फबाट धारणा राख्दै हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारीले कोरोनाकालको भोगाइले आफूहरू त्रसित रहेको बताए ।

सरकारले दिन्छु भनेको आर्थिक सहयोगसमेत नपाउँदा व्यवस्थापनमा आफूहरूले ठूलो समस्या झेल्नु परेको बताएका अन्सारीले लम्पी स्किन रोकथाम तथा नियन्त्रणमा सकेको सहयोग गर्न तयार रहे पनि ठूलो सहयोगको प्याकेज भने सरकारले नै उपलब्ध गराउनु पर्ने बताए । कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले भने पालिकाका पशुपालक किसानको हकमा आफ्नो नगरले यथाशक्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महामारीको रूपमा फैलिँदै गएको लम्पी स्किन रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय तहको साथ आवश्यक रहेकाले समन्वय गरी उपचार सेवाको बन्दोबस्ती मिलाइने बताइन् । जसका लागि पशु सेवा विज्ञ केन्द्रलाई स्थानीय तहसँगको समन्वयमा सेवा प्रवाह गर्न निर्देशनसमेत दिइन् । कार्यक्रममा दिइएको जानकारीअनुसार सुनसरीमा पशुपन्छी पालनमध्ये गाई पाल्नेको सङ्ख्या अधिक रहेको छ । भैँसी, बाख्रा, बङ्गुर, भेडा, कुखुरा र हाँस गाईपालनपछिको क्रमशः किसानको रोजाइमा रहेको छ ।