एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसक्दा हिक्मत कार्की नेतृत्वको सरकार शुक्रबार पदमुक्त भएको छ । अब गठबन्धन दलले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने भएको छ ।
कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल सुरु भएको हो ।
गठबन्धन दलबाट माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापामध्ये एक जना मुख्यमन्त्री हुने पक्का छ ।
तर, अहिलेसम्म गठबन्धनबाट मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन । प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले गठबन्धन दलबाटै मुख्यमन्त्री बन्ने बताए । ‘अहिले केन्द्रमा गठबन्ध दलहरुबीच नेतृत्वको लागि छलफल भइरहेको छ,’ उनले भने, ‘कसले नेतृत्व गर्ने केन्द्रले टुंगो लागउनेछ ।’
यद्यपि गठबन्धनभित्र सहमति हुन बाँकी रहेको भन्दै उनले अबको मुख्यमन्त्री माओवादी र कांग्रेसमध्येबाटै हुने दाबी गरे । ‘हामीले शीर्ष नेताहरुले गरेको सहमतिलाई मान्ने निर्णय गरिसकेका छौं । उहाँहरुले अन्तिम निर्णय गर्नुहुन्छ ।’
अबको मुख्यमन्त्री भनेको कि त उद्धव थापा हो कि त इन्द्रबहादुर आङ्बो हो । गठबन्धन दलका एक नेता बताउँछन् ।
कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहँदा नेकपा एकीकृत समाजवादीले भने यसअघि नै माओवादी नेता आङ्बोलाई मुख्यमन्त्रीमा सघाउने सार्वजनिक गरिसकेको छ । उक्त दलका नेतासमेत रहेका राजेन्द्रकुमार राईले नैतिक हिसाबले आफूले यस पटक इन्द्रबहादुर आङ्बोलाई समर्थन गरेको स्पष्ट संकेत गरे ।
उनले पनि अहिले मुख्यमन्त्रीको दौडमा थापा र आङ्बोमात्रै रहेको दाबी गरे । ‘दाबी आ–आफ्नो ढंगले गर्नु स्वाभाविक नै हो । कांग्रेसले ठूलो दल भएको कारण अझ बढी दाबी गर्नु झनै स्वाभाविक हो । तर, राप्रपाले उद्धव थापालाई स्वीकार गर्न सकिँदैन भनेको खण्डमा कांग्रेसले या दलको नेता परिवर्तन गर्नुप¥यो वा माओवादीलाई छोड्नु पर्यो,’ उनले भने ।
९३ जना प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसका २९, नेकपा माओवादीको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गठबन्धन दलसँग सभामुखसहित ४७ सांसद रहेको छ । एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद रहेका छन् ।