पाँचथर जिल्लामा भएको बाढीपहिरोको अनुगमन र निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली पाँचथर आएको छ ।
शनिबार इलाम जिल्ला हुदै पाँचथर सदरमुकाम फिदिममा आइपुगेको टोलीले जिल्ला प्रशासन कार्यालयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
अन्तर्क्रियामा मन्त्री ज्वालाले भौतिक पूर्वाधार निर्माण, क्षतिको विवरण साथै पछिल्लो अवस्थाको जानकारी लिए । मन्त्री ज्वालासँगै पाँचथरका संघीय संसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेश सांसद मैयाँ श्रेष्ठ लावतीलगायतको टोलीले चासो देखाएका थिए ।
मन्त्री ज्वालाले पाँचथरसहित बाढीबाट प्रभावित क्षेत्रको अनुगमन र निरीक्षणपछि आवश्यक पर्ने स्थानमा सरकारले राहतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
उनले प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सरोकारवालाहरुसँग बाढी पहिरोको अवस्था र राहतबारे परामर्श गरेका थिए । बाढीपहिरोले क्षति पुर्याएको तमोर करिडोरको बेलिब्रिज, मेची राजमार्गको हेँवाखोला हुँदै च्याङथापुसम्म मन्त्री ज्वालाले अनुगमन गर्ने तालिका रहेको बताइएको छ ।
मन्त्री ज्वालासँगै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, उपमहानिर्देशक रामहरी पोखरेल लगायत प्राविधिकको टोलीसमेत रहेको छ । मन्त्री ज्वालाले जतिसक्दो छिटो क्षति भएका पुल तथा हाइड्रोपावर निर्माण र राहात वितरण गर्न सरकार गृहकार्यमा लाग्ने बताए ।
अन्तर्क्रियामा बाढी–पहिरोबाट हालसम्मको क्षति, राहत र गतिविधिबारे प्रजिअ मेखबहादुर मगरातीले विवरण प्रस्तुत गरेका थिए । अन्तर्क्रिया जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाबीच भएको थियो ।