‘बुधबार बिहान ८ बजिसकेको छ । आज विद्यालयको विशेष दिन । हेडमिस हस्याङफस्याङ गर्दै विद्यालय आइपुग्नुभयो । सँगसँगै सुनिता मिस, रेनुका मिस, भूमिका मिस र कृष्णा मिस पनि आउनुभयो । निकै दिन अघिदेखि विद्यालयलाई सौन्दर्यीकरण गर्न हेडमिस मेनुका सापकोटासँगै विद्यार्थीहरू लागिपरेका छन् । आज वडाध्यक्ष धनबहादुर राईले विद्यालयको फूलबारी उद्घाटन गर्दैहुनुहुन्छ । वडाध्यक्षसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि राई र जग्गादाता पर्शु गुरुङ पनि आउने कुरा छ । स्थानीय समाजसेवी तथा हार्ट एफएम धरानका स्टेशन म्यानेजर रमेश राईसँग केही पत्रकारहरू पनि आउँदै हुनुहुन्छ । आज विद्यालयको फूलबारी सजाउने दिन । विद्यार्थी पनि बेलैमा विद्यालय आएका छन् । फूलका सबै बिरुवाहरू मिसहरूले छनोट गरिसक्नुभयो । विद्यालय प्राङ्गणमा रहेको फुलबारीमा विद्यार्थीसँगै मिसहरू पनि फूल सार्ने काममा लाग्नुभयो । साढे नौ बज्यो । विद्यालयको प्रार्थना सुरु भयो । प्रार्थना सकिएपछि विद्यार्थीहरू आ–आफ्ना कक्षामा गए । पहिलो घण्टी पूरा भएपछि औपचारिक कार्यक्रम सुरु हुँदैछ । साढे १० बजेपछि अतिथिहरूमा सबैभन्दा पहिला पत्रकारहरू आउनुभयो । विद्यालयमा प्रवेश गर्ने बित्तिकै उहाँहरूले मोबाइल, क्यामेराबाट फोटो भिडियो खिच्न थाल्नुभयो । केही छिनपछि हाम्रो विद्यालय रहेको धरान–४ का वडाध्यक्ष धनबहादुर राई आउनुभयो । हेडमिस र हाम्रा अरू मिसहरूले पनि उहाँहरूलाई नमस्कार गर्नुभयो । अनि स्वागत पनि गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका जग्गादाता, वडासदस्य राजन राई, विद्यालयका अभिभावकहरू पनि आउनुभयो । वडाध्यक्षले फूलबारीमा बिरुवा रोपेर हाम्रो विद्यालयको पुष्पवाटिकाको उद्घाटन गर्नु भयो ।’

आज बिहान ८ बजेतिर म अफिस आइपुगेँ । पूर्वको प्रसिद्ध छापा माध्यम ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध छु । साथै अनलाइन सञ्चार माध्यम ब्लाष्टखबरडटकमको कार्यकारी सम्पादक पदमा कार्यरत छु । अफिसमा आएर केही समाचार अनलाइनमा पोष्ट गर्दै थिएँ । धरान–१५ मा रहेको मेरो अफिसनजिकै पर्ने हार्ट एफएमका स्टेशन म्यानेजर रमेश राईले फोन गर्नुभयो । ‘आज पुष्पवाटिका उद्घाटन गर्ने कार्यक्रम छ, मेरो गाउँको सानो विद्यालय हो, रिपोर्टिङमा जाऔं न हौ’ उहाँले भन्नुभयो । ‘कस्तो कार्यक्रम हो, कुन स्कुल हो ?’ मैले प्रश्न गरेँ । उहाँले ‘मिसहरूले चलाएको स्कुल छ । म पनि व्यवस्थापन समितिको पूर्वसदस्य हुँ’ भन्नुभयो । मिसहरू मात्रैले चलाएको स्कुल... भनेपछि ‘लौ यो त गज्जबको कुरो भो’ भन्ने लाग्यो । अफिसमा प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र कार्कीसँग बिदा मागेर म हार्ट एफएमतिर लागेँ । त्यहाँबाट हामी लाग्यौँ, वसन्तटार । जुन धरान–४ को ग्रामीण क्षेत्र र केही अग्लो ठाउँमा पूर्वोत्तरतर्फ छ । वसन्तटार पुगेपछि ...

मैले सुरुमै शिक्षाज्योति आधारभूत विद्यालयका पूर्व विद्यार्थी सनम राना मगरको अन्तरवार्ता लिएँ । विद्यालयनजिकै घर भएका उनले सविस्तार घटना सुनाए । उनी एक भ्लगर हुन् । उनी आफ्नो भ्रमणका क्रममा भिडियोहरू बनाउँछन् र युट्युबमा अपलोड गर्छन् । रेडियो र टेलिभिजनको प्राविधिकका रूपमा काम गरेको पनि उनको अनुभव छ ।

‘भव्य भवन । प्रशस्त पूर्वाधार । आधुनिक शिक्षा । प्रविधिमैत्री पठन–पाठन ।’ सम्पन्न धरानको सम्पन्न विद्यालयहरूका यस्तैयस्तै छन् नारा । तर, धरानकै एउटा बस्तीमा उस्तै शिक्षण सिकाइ हुने विद्यालय भने खोजिरहेको छ अझै पनि सहारा ।
२०५२ सालमा शिक्षाज्योति आधारभूत विद्यालय स्थापना भएको रहेछ । सुरुमा केही विद्यार्थी बटुलेर ट्युसन जसरी पठन–पाठन थालिएको रहेछ । घर पनि अर्काको । ठाउँ सरीसरी पढाउनुपर्ने । विद्यार्थी केही सङ्ख्यामा भेला हुन थालेपछि अब कसरी विद्यालयको रूपमा कक्षा सञ्चालन गर्ने भन्ने समस्या परेछ । सल्लाहपछि, गाउँकै समाजसेवी पर्शु गुरुङले अढाई कठ्ठा जग्गा उपलब्ध गराउनु भएछ । समुदायले नै त्यहाँ एउटा झुप्रो विद्यालय स्थापना गरेछन् र सञ्चालन हुन थालेछ– शिक्षा ज्योति आधारभूत विद्यालय ।

यही सहारा खोजिरहेको शिक्षा ज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापकसँग मैले सुरुमा कुराकानी गरेँ । उहाँलाई मैले सोधेँ ‘महिला शिक्षकहरूले विद्यालय चलाउनुभएको रहेछ । मलाई त बडो गज्जब लाग्यो । तपाईंको अनुभव के छ ?’ उहाँ बोल्न थाल्नुभयो । म भिडियो खिच्न थालेँ ।   

–अनुभव एकदम राम्रो छ । हामी खुसी पनि छौँ । हामी महिला–महिला भएकाले । स्कुलको अवस्था दयनीय पनि थियो । यहाँ हामी ०६५ सालदेखि महिला मात्रै छौँ । महिलाहरूले सञ्चालन गरेका छौँ । अहिले राम्रो छ । जे कुरामा पनि सल्लाह मिल्छ । यही निर्माणको कुरामा पनि हामी बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म स्कुलमै खटिरहेका छौँ । सायद पुरुष भएको भए ‘मेरो काम छ’ भन्दै हिँड्नुहुन्थ्यो होला । हामी महिलाहरू घरका धेरै कामका बावजुद पनि यहाँ खटेका छौँ । हामी सबै शिक्षिका छौँ । धेरै नै खुसी छौँ ।

विद्यालयको दरबन्दी एउटामात्रै स्थायी दरबन्दी छ । दुईवटा राहत । १ जना कर्मचारी हुनुहुन्छ । एक जना बालविकासमा हुनुहुन्छ । १ जनाले दुईवटा कक्षा अनिवार्य कभर गर्नैपर्छ ।

हाम्रो स्कुल धरान–४ का छ वटा स्कुलमध्ये अलि बढी विद्यार्थी भएको स्कुल हो । यो स्कुलमा हाम्रा बालबालिकाहरू बाहिरबाट पनि आएका छन् । धादिङबाट पनि ६ जना अनाथ बालबालिकाहरू आएका छन् । यहीँ एउटा होस्टल छ । बसेर पढ्ने गरेका छन् । हामी साढे आठदेखि पौने नौ बजेसम्ममा विद्यालय आइपुगिसकेका हुन्छौँ प्रत्येक दिन ।

शिक्षण सिकाइ  
नियमित शिक्षण सिकाइको अवस्था हाम्रा लागि त अति नै राम्रो छ । प्रभावकारी रूपमा शिक्षा दिने अठोट गरेका छौं । मूल्याङ्कन त समुदायले गर्ने हो । अन्य विद्यालयका तुलनामा अतिरिक्त क्रियाकलाप पनि बढी नै छ । प्रत्येक शुक्रबार फरक–फरक कार्यक्रम हुन्छन् । हामीले जम्मा चार शुक्रबारमा एक दिन चित्रकला गर्छौं । एक दिन नृत्य प्रतियोगिता हुन्छ । बालबालिकाको अन्तर्निहित प्रतिभा के छ ? त्यसको प्रष्फुटन गराउने काम गर्छौं । नाच्ने, गीत गाउने पालैपालो हुन्छ । एउटा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता गर्छौं । र, एक दिन बच्चाहरूलाई घुमाउन लान्छौं । घुमाउन टाढा लाँदैनौं । किताबसँग सम्बन्धित, बोटबिरुवा वनस्पतिसँग सम्बन्धित रहेर नजिकै भ्रमणमा लान्छौं ।

नमुना विद्यालय
विद्यालयलाई नमुना विद्यालय भनेर घोषणा गरिएको छैन । तर, हामीले काम नमुना गरिरहेका छौँजस्तो लाग्छ । मूल्याङ्कन गर्ने काम धरान उपमहानगरपालिका, शिक्षा महाशाखाको हो । हाम्रो वडा कार्यालय नजिकै छ । हामीले राम्रो छ भन्नुभन्दा पनि उहाँहरूले मूल्याङ्कन गर्नुपर्ने हो । उहाँहरूको नजरमै रहेर काम गरिरहेका छौँ ।

पुष्पवाटिका निर्माणका लागि २ लाख रुपैयाँ रकमले हामीले काम गरेका छौं । धरान उपमहानगरको शिक्षा महाशाखाबाट शैक्षिक गुणस्तरका लागि कार्यसम्पादनमा आधारित ५० हजार रुपैयाँ गतवर्ष परेको थियो । बालबालिका बर्खे बिदा, हिउँदे बिदाका बेला घरमा अल्मलिइरहेका हुन्छन् । त्यो ‘टाइम’ मा २–३ घण्टा स्कुलमै बोलाएर ‘क्लास’ लिन्छौंँ । बच्चाहरू कुन विषयमा कमजोर छन्, उनीहरूलाई नै सोधेर हामी अतिरिक्त कक्षा सञ्चालन गर्ने गर्छौं । कम्तिमा कक्षा १२ पास गरेका सहयोगी शिक्षकमार्फत् विद्यार्थीलाई अतिरिक्त कक्षा लिन्छौँ । शिक्षकलाई केही रकम दिएर कक्षा सञ्चालन गरिन्छ । यसका अतिरिक्त छुट्टीकै समयमै भए पनि ‘म्याम’ हरूलाई बोलाएर पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।

दातृ निकायको सहयोग
आर्थिक रूपमा दातृ निकायको त्यति ठूलो सहयोग हामीले पाउन सकेका छैनौं । क्यान एजुकेशन फाउन्डेशन नामक संस्थाबाट हामीलाई पूर्ण सहयोग छ । संस्थाले सन् २०११ बाट सुरुमा १८ जना र त्यसपछि २६ जना नानीहरूलाई सहयोग गरेको छ । हाम्रो विद्यालयमा १ कक्षादेखि भर्ना भएर ५ कक्षासम्म पढिसकेपछि पनि धरानका अन्य विद्यालयमा कक्षा १२ सम्म पढाउने जिम्मा हामीले फाउन्डेशनमार्फत् लिएका छौं । एक वर्षका लागि रकम आउँछ । स्टेशनरी, बच्चालाई चाहिने आवश्यक ड्रेस, ब्याग र धेरै कमजोर आर्थिक अवस्था रहेका विद्यार्थीलाई थप सहयोग पनि हुने गरेको छ । आमाबुबा नभएका अनाथ बालबालिकाहरू विद्यालयमा अध्ययनरत छन् । उनीहरूलाई सहयोग भइरहेको छ ।

तत्कालीन आवश्यकता
हाम्रा आवश्यकताहरू धेरै नै छन् । आजको कार्यक्रमलाई पनि हेर्न सकिन्छ । हामीले पुष्पवाटिका त निर्माण ग¥यौँ । अब माथि छानाबाट फूलबारीमा पानी खस्छ त्यसको व्यवस्थापनका लागि पनि केही रकम आवश्यक छ । अर्को दरबन्दी थप भइदिए हुनेथ्यो । सिकाइ उपलब्धि अझै राम्ररी बढाउन सकिन्थ्यो । ४५ मिनेट कक्षा लिनुपर्नेमा हामी वल्लो कक्षा पल्लो कक्षा गर्दागर्दै बढीमा ३० मिनेट मात्रै कक्षा लिन पाउँछौं । कति होमवर्क चेक गर्ने, कति पढाउने त्यसको मूल्याङ्कन कति गर्ने ? हामीले त्यसलाई कन्ट्रोल गर्नै सक्दैनौं । कक्षा ५ मा २२ जना बच्चा छन् । अर्को कक्षामा २१ जना छन् । २१ वटा कपी चेक गरेर उसलाई दुईवटा हिसाब दिँदा तुरुन्तै सक्छ । फेरि २१ वटै कपी चेक गर्न गाह्रो हुन्छ ।

विद्यालयमा बच्चाहरू खाली खुट्टा आइरहेका छन् । १० रुपैयाँको झोलामा किताबहरू बोकेर आउँछन् । समस्या भएका बालबालिकालाई हामी पाँचजना मेमहरूले व्यवस्थापन गर्ने गर्छौं । कोही बच्चाहरू ब्याग किन्न सक्दैनन् । ड्रेस नै छैन । मेमहरू मिलेर विद्यार्थीका आवश्यकता पूरा पनि गर्दिने गरेका छौँ । त्यसैले गर्दा पनि बच्चाहरू विद्यालयमा आकर्षित छन् ।

दीर्घकालीन योजना
स्कुललाई आठ कक्षासम्म लान पाए हुन्थ्यो भन्ने योजना पनि छ । आठ कक्षासम्म लाँदा पनि दरबन्दीकै कुरा आउँछ । अहिलेको समयमा सबै बालबालिकाहरूलाई बोर्डिङ लाने गरेका छन् । निजी विद्यालय पठाउने पनि छन् । त्यति हुँदा पनि अभिभावकका घरघरमा चैत लाग्ने बेला तीन–चार पटक धाउँछौँ । अभिभावकलाई अनुरोध गरेर भए पनि विद्यालयमा ल्याएका छौँ । विद्यालयमा राम्रो शिक्षा दिन तत्परता आवश्यक छ । भौतिक रूपमा राम्रो कक्षा मात्रै भएर पनि हुँदैन । शैक्षिक सामग्रीहरू पर्याप्त मात्रामा चाहिन्छ । माथिल्लो क्लास भएपछि पाठ्यपुस्तकमा आधारित शैक्षिक सामग्री हामीसँग उपलब्ध हुन नसक्दा हामीले सोचेजस्तो विद्यालय सञ्चालन गर्न सक्दैनौँ ।

प्रविधिको प्रयोग
हाम्रोमा आइसिटी प्रोग्रामअन्तर्गत दुई वर्षअघि साढे ६ लाख रुपैयाँमा ल्यापटप, प्रोजेक्टर, प्रिन्टर, डेस्कटपसहित आठ थान कम्प्युटर ल्याएका छौँ । हामी पर्याप्त मात्रामा बच्चाहरूलाई यो देखाउनै सक्दैनौँ । हाम्रो समय छैन । ६ घण्टी हामीले अनिवार्य लगाएका छौँ । कम्प्युटर सिकाउने दुई जना छौँ । मसहित अर्को एकजना मेम हुनुहुन्छ । बच्चाहरूले आफै कम्प्युटर खोलेर आफ्नो नाम लेख्न सक्छन् । ड्रइङ गर्छन् । हामीले नयाँ कुरा लेखिदियौँ भने कसरी लेख्ने उत्सुकतापूर्वक हेर्छन् । लेख भन्दा लेख्न सक्ने बनाएका छौँ । गुगलबाट खोजी गर्न सक्छन् । गीतहरू बजाउन सक्छन् । साना बालबालिकालाई त्यति नै होला हामीले सिकाउन सक्ने । एक प्याराग्राफ लेख भनेर दिन्छौँ । लेख्नसके पनि छिटो गर्न सक्दैनन् । एउटा बच्चा बराबर १० देखि १५ मिनेटभन्दा बढी समय दिन सक्दैनौँ । हाम्रै समय नभएर हो । मुख्य कुरा जनशक्ति पनि नभएर हो ।

म एकजना । प्रशासक पनि आफै । क्लास लिनु परे पनि आफै । अभिभावकसँग समन्वय पनि आफै । कम्प्युटर सिकाउने पनि आफै । त्यसैले पनि कम्प्युटरमा धेरै समय दिन सकिएको छैन । अरू त सबै राम्रै छ भन्नुप¥यो ।

रिजल्ट
मूल्याङ्कनका क्रममा हामीले एक वर्षमा तीनवटा परीक्षा लिन्छौँ । प्रत्येक परीक्षामा हामी अभिभावक बोलाउँछौँ । परीक्षा लेखिसकेपछि उनीहरूले कस्तो लेखे भनेर विद्यार्थीको कापी अभिभावकलाई दिने गरेका छौँ । गार्जेनलाई आफ्नो बच्चा कमजोर लागेको अवस्थामा त्यस विषयमा अलि बढी मिहिनेत गराउने गर्छौं । एउटा परीक्षामा अलिक घटी नम्बर ल्याएको छ भने अर्को परीक्षामा उसले प्रगति गरेकै हुन्छ । वार्षिक परीक्षामा सबै विद्यार्थीले ७० प्रतिशतदेखि माथि नै स्कोर गरेका छन् । सयमा सय नै ल्याउने ६–७ जना विद्यार्थी पनि छन् । यहाँबाट ५ क्लास पास गरेर अन्य ठूला विद्यालयमा गएका विद्यार्थी पनि उत्कृष्ट १० भित्रै परेका छन् । प्रथमदेखि दशौंसम्म पनि हाम्रै शिक्षाज्योतिका विद्यार्थी छन् । अब त्यो सिकाइ उपलब्धि कस्तो भो भन्ने ? यस्तै छ ।

भोकभोकै विद्यालय
हाम्रो विद्यालयमा ‘इएमएस’ भर्दा जम्मा १ सय १२ जना विद्यार्थी रहेको तथ्याङ्क छ । हाम्रो एउटा बालविकासको छुट्टै विद्यालय छ । ०६३ सालदेखि हामीले मातृ विद्यालय घोषणा गरेर बालविकासको अर्को छुट्टै विद्यालय सञ्चालन गर्दै आइरहेका छौं । त्यहाँ २६ जना बालबालिका छन् । यहाँ अझै २ जना थप भएका छन् । यहाँ आउने ८६ जना बालबालिकामध्ये १५ देखि २० जना बालबालिका मात्रै आमाबुवासँग बस्छन् । बाँकी कोही अनाथ छन् । कोही आमाले छाडेका, कोही बुबाले छाडेका, कोही बाजेबजूसँग बस्ने गरेका छन् ।

५० प्रतिशत बालबालिका भोकै विद्यालय आउँछन् । अहिले पनि हेर्न सक्नुहुन्छ बच्चाहरू खाना नखाई आएका छन् । हाम्रो स्कुलमा टिफिन टाइममा हामी प्रायःजसो चाम्रेभात नै दिन बाध्य हुन्छौँ । हामीले हप्तामा दुई–तीन दिन मात्रै बच्चाहरूलाई चना, मटर र चिउरा दिन्छौँ । बाँकी समय हामीले चाम्रेभात नै दिनुपर्छ । किनभने बिहानदेखि बच्चा भात खाएर आएको हुँदैन । टिफिन हुनुभन्दा अगाडिदेखि नै विद्यार्थी आज के पाक्छ ? आज के पाक्छ ? भन्दै खोजीनीति गर्छन् । पढ्नमा भन्दा खानमा बढी ध्यान दिन्छन् । टिफिनपछाडि भने आनन्दले पढ्छन् ।

प्रधानाध्यापकसँग कुरा गरिसकेपछि मलाई नरमाइलो लाग्यो । विद्यार्थी विद्यालयको खाजाको घरमा पढ्छन् । म आफै पनि भोकै विद्यालय जान्थेँ । कहिले काँचैकाँचै खाएर । कहिलेकाहीँ भोकभोकै बाटामा हिँड्दा मुस्कुराइरहेका अनुहारहरू तृप्त देख्दथेँ । कतिपय मलिन अनुहारहरूलाई प्रश्न गर्न मन लाग्थ्यो– ‘आज भोकै छौ के ?’  धेरै समय भयो बाध्यताले म भोकै रहिनँ । न बाध्यताले सडकमा सुतेँ । तर, आज अचानक भोकको गम्भीर्यता बारे घोत्लिन पुगेँ । औपचारिकताका लागि मान्छेहरूले, ‘खानपिन भयो’ भनेर कयौंपटक सोध्दासम्म नबल्झिएको मेरो पुरानो भोक आज अनायासै आलो बन्न पुग्यो । ‘बीपीको वाणी सम्झेँ– ‘भोको पेटमा अन्न जाओस् । रोगीले ओखतीमूलो पाऊन् ...।’

घरकी आमा विद्यालयकी गुरुआमा
केही छिनपछि मैले महिला शिक्षक कृष्णकुमारी घलेसँग कुराकानी गर्न थालेँ । कहिलेदेखि यहाँ शिक्षण थाल्नुभयो ? उहाँ धरान–१५ बाट झण्डै ३ किलोमिटर बढी यात्रा गरेर वसन्तटार पुग्नुहुनेरहेछ । कृष्णा मिसले भनेका कुरा मैले भिडियोमा खिच्न थालेँ ।

शिक्षण पेशा यसै विद्यालयबाट ०६३ सालदेखि सुरु गरेकी हुँ । विद्यालयमा हामी महिला, महिला छौँ । समस्या, साह्रोगाह्रो अप्ठेरो पर्दा सहयोग पाएका छौँ । कार्यसम्पादनमा पनि धेरै सजिलो हुन्छ । धेरै कुरा सेयर गर्न सजिलो । विद्यार्थीको आनीबानीका बारेमा बताउन पनि सजिलो हुन्छ । घरको आमा पनि अनि गुरुआमा पनि । हामीलाई धेरै सजिलो छ ।

आजको दिन हामीले के पढाउने भन्ने  विषयमा हामी छलफल गर्छौं । लेसन प्लानबारे कुराकानी हुन्छ । तयारी गरेर कक्षामा जान्छौँ । हामी शिक्षकलाई साह्रै समस्या छैन । सबै जिम्मेवारी लिएर प्रअले काम गर्नुहुन्छ । कतै टाढा जानुपर्दा यातायातका कारण प्रअलाई कठिनाइ हुने गरेको बताउनुहुन्छ । हामीलाई भने सबै कुरामा सजिलो छ ।

सरकारी स्कुल त्यो पनि गाउँको । आर्थिक अवस्था कमजोर हुन्छ । दैनिक खानपानमा पनि समस्या हुने गरेको देखिन्छ । स्कुलमा केटाकेटी कोही भोकभोकै आउँछन् । यहाँ खाजाको सुविधा भएकाले उनीहरूलाई केयर गर्ने, टिफिनको खानेकुराबाट मेकअप गरेर भए पनि भोको नराख्ने हिसाबले भरसक हामी पढाउने गरिरहेका छौँ ।

अभिभावकहरूले विद्यालयलाई सहयोग नै गरिरहनुभएको छ । नानीहरू पठाइदिनु भएकै छ । हाम्रो विद्यार्थी सङ्ख्या पनि साह्रै घटेको छैन । प्राइभेट स्कुलमा लान सक्नेले त लानुहुन्छ पनि । हाम्रो ‘क्याचमेन्ट एरिया’ मा हामी अभिभावकलाई आग्रह गर्छौं । बोर्डिङ स्कुलभन्दा नराम्रो यहाँ पनि पढाइ हुँदैन । वार्षिक परीक्षा सकिएको दिनदेखि हामी पाँचै जना शिक्षक भर्ना अभियानमा समेत जाने गरेका छौँ । भर्ना कार्यक्रममा हाम्रो राम्रै सक्रियता रहेको छ ।

घरमा हेरचाह छैन
रेनुका राई बालविकास शिक्षक हुनुहुन्छ । उहाँले बालविकासमा १६ जना बालबालिका पढाउनु हुँदो रहेछ । मैले उहाँलाई सोधेँ– ‘नानीहरू पढाउन गाह्रो छ हगि ?’

–गारो छ नि । हाम्रो विद्यालयमा आमाले छाडेको, बाबुले अर्को श्रीमती ल्याएका, अनाथ नानी छन् । नानीहरूलाई सम्हाल्न गाह्रो छ । ग्रामीण क्षेत्र, मजदुरी गर्नेहरू धेरै छन् । विद्यालयको भरमा नानीहरूलाई छाडिदिन्छन् । प्यारेन्ट्सले हेरिदिँदैनन् । होमवर्क दियो भने घरबाट गरेर ल्याउँदैनन् । क्लासमै गराउनुपर्छ । घरमा केयर गर्ने हुँदैनन् । सबै काममा गएका हुन्छन् । बिहान हिँडेका बेलुका मात्रै आउँछन् । कोही ननुहाई आउँछन् । सबै स्कुलमै गरिदिनुपर्छ ।

मैले रेनुका मिसलाई सोधेँ, अनि मिस खुसी हुनुहुन्छ ?
शिक्षण पेशामा सन्तुष्ट छु । १० देखि ४ सम्म स्कुलमा छाडेपछि सबै हाम्रै जिम्मेवारी हुन्छ । सेलरीको कुरा अलिक अप्ठ्यारो छ । नानीहरूलाई एकछिन छाड्नु हुँदैन । मैले हेरिरहेका नानीहरूलाई अरू शिक्षक साथीहरूले हेर्न सक्नुहुन्न । को कस्तो बानीबेहोरा थाहा हुँदैन । कुनै दिन आफूले छाडेँ भने अन्य शिक्षक साथीहरूको बिजोग हुन्छ । मैले ०७२ सालदेखि विद्यालयमा नानीहरू हेरिरहेको छु ।

महिला शिक्षकको मिहिनेत
केही वर्षअघि यो विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष पनि महिला नै हुनुहुँदो रहेछ । तर, केही वर्षयता विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरि राईलाई जिम्मेवारी दिइएछ । विद्यालय कसरी व्यवस्थापन गरिरहनुभएको छ त ? मैले अध्यक्षज्यूलाई सोधेँ ।

–हामी सुन्दर ठाउँमा अवस्थित छौँ । सबैको नजर पुगिरहेकै छ । शिक्षकहरू सबै महिला हुनुहुन्छ । जिम्मेवारीका साथ काम गरिरहनुभएको छ । उहाँहरूको अतिरिक्त जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । पुरुष शिक्षक छैनन् । महिला शिक्षकहरूले मिहिनेत गरिरहनुभएको छ । यो ठाउँ गरिब दुःखीहरूको बसोबास भएको ठाउँ हो । त्यस्तै खाले अभिभावकका नानीहरू अध्ययन गर्न आउँछन् । अनाथ, असहाय, गरिब, दुःखी पृष्ठभूमिका छन् । आठ वर्ष भयो म अध्यक्ष भएको । विद्यालयको भवन निर्माण, पानी ट्याङ्कीको निर्माण गरेका छौँ । विद्यालय विस्तारै परिवर्तन हुँदैछ । नानीहरू सबै अब्बल छन् । दाताहरूले सहयोग गर्नुभएकै छ ।

विकासको गति विस्तारै
अध्यक्षज्यूले दाताको कुरा गर्नु भएपछि मैले विद्यालयलाई जग्गा प्रदान गर्ने पर्शु गुरुङसँग कुराकानी गरेँ । उहाँ बडो हँसिलो मिजासको हुनुहुँदो रहेछ । विद्यालयको इतिहास भनिदिनुप¥यो भनेर मैले आग्रह गरेँ ।
उहाँले भन्नुभयो– ‘२०५२ सालतिरको कुरा हो । यो ठाउँका नानीहरू धरान बजार गएर पढ्नुपर्ने अवस्था थियो । बर्सेनि खोलाले दुःख दिने हुँदा नानीहरू पढ्न पाउँदैनथे । खोला तरेर पढ्न जानुपथ्र्यो । यहाँका नानीहरू भेला पारेर पढाउन थालिएको थियो । पढाउने ठाउँ पनि व्यक्तिको घरमा थियो । स्थानीय अभिभावकहरूले विद्यालयको आवश्यकता देख्नुभयो । यो ठाउँमा सानो झुपडी बनाएर हामीले विद्यालय सुरु ग¥यौँ । विकासको गति विस्तारै हुने भए पनि हुने नै रहेछ । विद्यालय यस्तो होला भन्ने सोचेका थिएनौं । सबै मिसहरू हुनुहुन्छ । मिहिनेती हुनुहुन्छ । मैले अढाई कठ्ठा जग्गा प्रदान गरेको छु । मनमा सन्तोष हुन्छ । हामी सबैले समाजकै सेवा गर्ने हो । जुन माध्यमले भए पनि मैले एउटा प्रयास गरेको छु । यसको थप विकासको लागि सबै क्षेत्रबाट सहयोग हुन आवश्यक छ ।

भावनात्मक काम
स्थानीय जनप्रतिनिधि वडासदस्य राजन राईलाई मैले सोधेँ– राजनजी विद्यालयको विकासमा के गर्न सकिन्छ ?   
उहाँले भन्नुभयो– मैले यो स्कुल पढ्न पाइनँ । तर, मेरा भाइबहिनीहरू सबै यही स्कुल पढे । यहाँको पढाइ राम्रो छ । शिक्षिकाहरूले मिहिनेत गर्नुभएको छ । यहीँ गाउँकै भएकाले उहाँहरूले भावनात्मक रूपमा काम गर्नु भएको छ । नानीहरू बटुलेर ल्याउने, विद्यालयको सरसफाइ आफै गर्ने, जिम्मेवार भएर काम गरिरहनुभएको छ ।

यहाँ दरबन्दीको आवश्यकता छ । कतिपय विद्यालयमा दरबन्दी फर्किरहेको छ । तर, यो विद्यालयमा दरबन्दी आवश्यक छ । नियामक निकायले ध्यान दिनुपर्छ । हामी पनि स्थानीय सरकारको प्रतिनिधि भएकाले यो कुरा अवश्यै उठाउँछौँ । विद्यार्थीअनुसार शिक्षकको दरबन्दी कायम गराउन हामी पहल गर्नेछौँ ।

ज्ञानमा क्यानको योगदान
स्थानीय सरकारले विद्यालयलाई यथासक्य सहयोग गर्न सक्छ । मात्र हाम्रो उचित पहल आवश्यक छ । लामो समयदेखि यहाँका अनाथ बालबालिकाका लागि सहयोग जुटाउँदै आउनुभएको छ रमेश राईले । उहाँ सञ्चारकर्मी पनि । साथै समाजसेवी पनि हुनुहुन्छ । क्यान एजुकेशन फाउण्डेशनको स्थानीय संयोजक पनि हुनुहुन्छ ।

उहाँले भन्नुभयो– सन् २०११ देखि क्यान एजुकेशन फाउण्डेशनमार्फत् हामीले विद्यालयलाई सहयोग गर्दै आएका छौँ । विभिन्न कारणले ड्रपआउट हुने कुरा थाहा पाएपछि स्कुललाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयमा हाम्रो छलफल भयो । यो स्कुलको संस्थापक सदस्य ‘बिना मिस’ लाई कुरा राखेपछि क्यानडामा रहनुभएका उहाँका भाइमार्फत् नानीहरूलाई स्कुल ड्रेस, कपी–कलम उपलब्ध गराउँदै आउनुभएको छ । सुरुवातमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई सहयोग गर्न सुरु गर्नुभयो । केही समयपछि कक्षा १२ सम्मकै विद्यार्थीलाई सहयोग गर्ने अभिभारा लिनुभयो । वार्षिक स्कुल ड्रेस, ब्याग, जुत्ता र स्टेशनरीका सम्पूर्ण खर्च बोहोरिदिनुभयो । कक्षा दशदेखिमाथि स्कुल–फी, एड्मिसन र कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाका लागि पनि आर्थिक सहयोग गर्दै आउनुभएको छ । सहयोग सुरु गर्दा रत्नकुमार राई अध्यक्ष हुनुहुन्थ्यो । अहिले फाउण्डेशनको अध्यक्ष सम्झना तामाङ हुनुहुन्छ । म चाहिँ विद्यालयको प्रोजेक्ट को–अर्डिनेटरका रूपमा काम गरिरहेको छु । उहाँहरूको सहयोगले विद्यार्थीमा पढ्ने चासो जागेको छ ।

रमेश सरको कुरा सुनिसकेपछि मलाई लाग्यो सहयोगी हातहरूले समुद्र पारिबाट पनि आफ्ना ठाउँको शिक्षाको विकासका लागि लगानी गरिरहेका छन् । उहाँहरूको उत्साह र उत्प्रेरणामा कमी आउन हुँदैन । त्यसैअनुसार हामीले विद्यालयको शिक्षण सिकाइमा मिहिनेत गर्नुपर्ने हुन्छ ।

गुणस्तरीय शिक्षामा पहल
अन्त्यमा मैले धरान–४ का वडाध्यक्ष धनबहादुर राईसँग कुराकानी गर्ने समय मिलाएँ । उहाँले विद्यालयको सौन्दर्यीकरण र गुणस्तरीय शिक्षामा आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनु भयो ।
–यो विद्यालय मिसैमिसले चलाउनु भएको छ । सरहरू हुनुहुन्न । मिसहरू साह्रै मिहिनेती हुनुहुन्छ । उहाँहरू विद्यालयमा केही नयाँ सिर्जना गरौँ भन्ने सोचको हुनुहुन्छ । सामुदायिक विद्यालयलाई वातावरणमैत्री बनाउन धरान उपमहानगरको वातावरण शाखाले उपलब्ध गराएको आर्थिक सहयोगबाट मिसहरूले पुष्पवाटिका निर्माण गर्नुभएको छ । विद्यालयको सौन्दर्यीकरण गर्न थप सहयोग आवश्यकता छ । विद्यालय स्थापना गर्न र व्यवस्थित गर्न यहाँका समाजसेवीहरूको सहयोग छ । विद्यालयलाई आन्तरिक पर्यटनको गन्तव्य बनाउनसमेत हामीले पहल गरिरहेका छौँ । पुष्पवाटिकाले यहाँको वातावरणमा थप सुन्दरता थपेको छ । दाताहरूको सहयोग पनि प्रशंसनीय छ । महिला शिक्षकहरू मात्रै हुँदा अरूलाई अह्राउनेभन्दा पनि आफै सहभागी भएर सबै काम गर्नुहुन्छ । यसो गर्दा विद्यालयको गुणस्तरमा प्रभावकारी रूपले विकास भएको मैले पाएको छु ।

शिक्षाज्योति आधारभूत विद्यालयलाई आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने वडाध्यक्षको सदीक्षा सुनेर म दङ्ग परेँ । धरान पूर्वको सुन्दर नगरी, सफा सहर, धार्मिक पर्यटकीय स्थल र पछिल्लो समय श्रम संस्कृतिको सहरका रूपमा चिनिएको छ । हुन त यहाँ शैक्षिक क्षेत्रका ठूला र नामी संस्थानहरू छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस, पिण्डेश्वर विद्यापीठ, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस साथै निजी क्षेत्रबाट सञ्चालित सुनसरी टेक्निकल कलेज, नास्ट कलेज र फस्टाउँदै गरेका होटल म्यानेजमेन्ट र हस्पिटालिटी क्षेत्रका कलेजहरूले धरानलाई शैक्षिक गन्तव्यका रूपमा विकास गरेको छ । शिक्षाज्योति आधारभूत विद्यालयजस्ता अनाथ, असहाय र श्रमिक वर्गका बालबालिका पढ्ने विद्यालयलाई प्रवर्धन गर्नु र यसलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्नु स्थानीय सरकारको बढी दायित्व हुन आउँछ । शिक्षाज्योतिमा शिक्षाको ज्योति छर्ने महिला शिक्षकहरूको लगनशीलता मनन् गरी यहाँको आवश्यकता र समस्या पहिचान गरेर सरोकारवाला सबै शैक्षिक गुणस्तर उकास्न लाग्नु अपरिहार्य छ ।