विजयपुर । धरान उपमहानगरपालिकाका २० वटै वडामा डेङ्गुको प्रकोप फैलिएको छ । २ मिहना अघिदेखि धरानमा डेङ्गीको देखिए पनि नियन्त्रणमा प्रभावकारी पहल गरिएको छैन ।
डेङ्गी नियन्त्रणका लागि प्रभावकारी उपाय लार्भा नष्ट गर्ने ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान भर्खर सुरुवात गरिएको छ । त्यो पनि सबै वडामा प्रभावकारी तरिकाले गरिएको छैन । शुक्रबारदेखि मात्रै लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु भएको हो । शुक्रबार धरान–१७ इन्द्रेणी मार्ग नमुना चोकदेखि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु भएको उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । उनका अनुसार नगरप्रमुख हर्कराज राईको नेतृत्वमा अभियान सुरु भएको हो । उनले भने, ‘साङ्केतिक अभिायन हो । अरूलाई पनि परिचालिन गर्छौं ।’
धरान उपमहानगरको तथ्याङ्कअनुसार हाल धरानका २० वटै वडामा डेङ्गु सङ्क्रमित रहेका छन् । नगरको असार १० गतेदेखि १३ गतेसम्मको तथ्याङ्क अनुसार नगरमा २ सय ४१ डेङ्गु सङ्क्रमित रहेका छन् । कुल ७ सय ७८ जनाको परीक्षण गर्दा २ सय ४१ सङ्क्रमित देखिएको हो ।
तथ्याङ्कअनुसार वडा नं. १ मा १३, वडा नं. २ मा ७ जना, वडा नं. ३ मा १७ जना, वडा नं. ४ मा ३ जना, वडा नं. ५ मा २५ जना, वडा नं. ६ मा १७ जना, वडा नं. ७ मा ९ जना, वडा नं. ८ मा ४५ जना, वडा नं. ९ मा ३ जना, वडा नं. १० मा २२ जना सङ्क्रमित रहेका छन् । यस्तै वडा नं. ११ मा १ सय ३८ जना, वडा नं. १२ मा १५ जना, वडा नंं. १३ मा ३२ जना, वडा नं. १४ मा १३ जना, वडा नं. १५ मा ६२ जना, वडा नं. १६ मा ९१ जना, वडा नं. १७ मा १ सय ६८ जना, वडा नं. १८ मा ३५ जना, वडा नं. १९ मा १२ जना र वडा नं. २० मा ११ जना सङ्क्रमित रहेका छन् ।
जसमा वडा नम्बर नखुलेका १३ जना सङ्क्रमित रहेका छन् । धरानमा जेठ २३ गते नै धरान–१७ का एक जनाको मृत्यु भएकाले २ महिनाअघि डेङ्गु फैलिएको हो । तर, नगरसँग असार १० गतेदेखि यता ३ दिनको मात्रै तथ्याङ्क छ । त्यसअघिको नगरमा तथ्याङ्क नै छैन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १४ गते परीक्षण गराएका ६८ जनामध्ये ३० जना सङ्क्रमित देखिएका छन् । सबै वडामा डेङ्गु प्रकोपको रूपमा देखिए पनि नगरले नियन्त्रणमा प्रभावकारी कदम चालेको छैन । हाल केही वडाहरूले नियन्त्रणका लागि सामान्य पहल थाले पनि पर्याप्त नभएको गुनासो बिरामीका आफन्तहरूको छ । असार १० देखि तथ्याङ्क भए पनि असार १० अघिको तथ्याङ्कमेत नगरसँग छैन ।
डेङ्गीको लक्षण
महाशाखा प्रमुख मेहेताका अनुसार डेङ्गुको प्रमुख लक्षण एक्कासि ज्वरो हो । ज्वरो हप्तादिनसम्म रहन सक्छ । यस्तै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्नु, वाक्वाकी लाग्नु, पेट दुख्नुलगायतका लक्षण देखा पर्दछ ।
बच्ने उपाय
लामखुट्टेको टोकाइबाट हुने यो रोग नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट गर्न ‘सर्च एण्ड डिस्ट्रोय’ गर्नुपर्ने मेहेता बताउँछन् । उनी भन्छन्, ‘सर्च एण्ड डिस्ट्रोय’ प्राइमरी उपाय हो । फगिङ सेकेण्डरी हो ।’ पानी तीन दिनभन्दा बढी भण्डारण गरी राख्न हुँदैन । बिहान घाम झुल्किने र अस्ताउने बेलामा डेङ्गु सार्ने लामखुट्टे सक्रिय हुने भएकाले शरीर पूरा ढाक्ने गरी लुगा लगाउन उनी सुझाव दिन्छन् । डेङ्गुबाट बच्नका लागि घर आसपास, टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । पानी भण्डारण गरिएको भाँडावर्तन खुला छाड्नु हुँदैन । भान्सा र बाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल, ढोकामा जाली लगाउनु पर्छ ।