पहिचानको आधारमा प्रदेशको नामाकरण हुनुपर्ने माग राख्दै आन्दोलित पहिचानवादीहरुले आइतबार झापामा करिब १ दर्जन सरकारी कार्यालयमा रहेको बोर्डमा लेखिएको ‘कोशी प्रदेश’ मेटाएका छन् ।
आन्दोलनकारीले बिर्तामोड नगरपालिका, नगरका विभिन्न वडा कार्यालय, चन्द्रगढी खानेपानी, कृषि विकास बैंक, मालपोत कार्यालय, जिल्ला आयुर्वेद कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कलबलगुडीस्थित अनुसधान केन्द्रमा लेखिएको कोशी प्रदेश नामलाई मेटाएका छन् ।
कोशी प्रदेश मेटाएर आन्दोलनकारीले १ न प्रदेश लेखेको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष तथा ‘प्रदेश नम्बर १ पुनः नामाङकन संयुक्त संघर्ष समिति’ झापाका संयोजक पाण्डवलाल चौधरीले जानकारी दिए । उनले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा लेखिएको प्रदेशको नाम मेटेर पहिचानका आधारमा नामाङकन गर्न दबाब दिने आन्दोलनको खाका तयार गरिएको बताए ।
कतिपय स्थानमा आन्दोलनकारीले जनचेतनामुलक पोष्टरसमेत कोशी प्रदेशको नाम लेखेको भन्दै च्यातेका थिए । उनीहरुले झापाका विभिन्न सरकारी कार्यालयको भित्तामा ‘नो कोशी’ लेखेका छन् । पहिचानवादीहरुले कुनै पनि अअवस्थामा कोशी प्रदेश नाम स्वीकार गर्न नसकिने भन्दै पहिचानको आधारमा पुनः नामाकरण हुनुपर्ने माग राखेका छन् ।
यसैबीच पहिचानवादीहरुले बिर्तामोडको होटल हेवनमा आयोजित कवि सम्मेलन बिथोलेको बताएका छन् । कवि सम्मेलनको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले गर्ने कार्यक्रम तय भएको थियो । असुरक्षाको अवस्था सिर्जना भएपछि सो कार्यक्रम स्थगित भएको छ । कार्यक्रम सोमबार सञ्चालन हुने जनाइएको छ ।