एसईई स्पिकर २०८० मा धरान ६ सरस्वती माविका विद्यार्थीले तीन उपाधि हात पारेका छन् ।

र्‍याडिकल नेपाल प्रालीले आयोजना गरेको एसईई स्पिकरमा सरस्वतीमा माविका स्नेहा निरौला, विपना मंग्राती र दिनेश खरेलले व्यक्तिगत विधातर्फ उपाधि जितेका हुन् ।

स्नेहा निरौला प्रतियोगिताको सेकेण्ड रनर–अप भइन् भने बिपना मग्राती मस्ट सिन्सियर र दिनेश खरेल मस्ट एक्टिभ घोषित भए । 

उपाधि विजेता विद्यार्थीलाई आइतबार विद्यालयले बधाई ज्ञापन गरेको छ भने धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले जनही १ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन् । 

‘सुनसरी जिल्लाभरमा तीन उपाधि जित्न सफल हुनु अहिले पनि विद्यालय कमजोर छैन भन्ने प्रमाण हो ।’ विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका वडाध्यक्ष भट्टराईले भने, ‘सरस्वती मावि यस अघि पनि पूर्वाञ्चलमा उत्कृष्ट भएको थियो ।’  

प्रतियोगिताका सेकेण्ड  रनर–अप निरौलालाई विद्यालयले कक्षा ११ र १२ निःशुल्क अध्यापन गराउने भएको छ । यस्तै एसईई स्पिकरमा मस्ट एक्टिभको उपाधि जितेका दिनेश खरेललाई वडाध्यक्ष भट्टराईले कक्षा ११ र १२ मा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने भएका छन् ।

‘शैक्षिक गुणस्तरमा अब्बल विद्यालय’

धरान ६ पानवारीस्थित सरस्वती मावि शैक्षिक क्रियाकलापमा पनि अब्बल रहेको प्रधानाध्यापक गङ्गा धमलाले बताए । 

‘हाम्रो विद्यालयका बारे अफवाह फैलाइएको छ, वास्तविकता त्यस्तो होइन, हाम्रा विद्यार्थी धरानका धेरै विद्यालयका तुलनामा अब्बल छन्,’ प्रधानाध्यापक धमलाले भने, ‘विद्यार्थी अनुशासित र मिहिनेती पनि छन् ।’ 

विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालले शैक्षिक गुणस्तरमा मात्रै नभएर अतिरिक्त क्रियाकलापमा पनि विद्यालय उत्कृट रहेको बताए । 

विद्यालयका शिक्षक दीपक सुवेदीले विद्यार्थीहरुलाई सम्बोधन गर्दै कर्म र मिहिनेत गर्न  प्रोत्साहित गरे । 

blastkhabar.com (1)

‘आर्थिक अभावमा शिक्षाबाट बञ्चित हुनु पर्दैन’ 

धरान ६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले आर्थिक अभावका कारण बालबालिकालाई अध्ययनबाट बञ्चित हुन नदिने बताएका छन् । 

‘आर्थिक अभावका कारण बालबालिकालाई पढ्नबाट बञ्चित हुन दिन्नँ,’ वडाध्यक्ष भट्टराईले भने, ‘मलाई अभिभावक सम्झेर भन्नुहोस् ।’ 

उनले सरस्वती माविमा अध्ययन गर्ने जेहेन्दार र आर्थिक रुपमा विपन्न विद्यार्थीको पोसाकका लागि ५० हजार रुपैयाँ नगद यस अघि नै दिइसकेका छन् । 

वडाध्यक्ष भट्टराईले कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन लागि तीन जना शिक्षकलाई बजेटको व्यवस्था गरिदिएका छन् । २ जना शिक्षकलाई वडा कार्यालयबाट बजेट व्यवस्थापन गरेका हुन् भने एक जना शिक्षकलाई अध्यक्ष भट्टराईले व्यक्तिगत रुपमा बजेट व्यवस्थापन गरेका छन् ।