विजयपुर । चौपायामा लाग्ने रोक लम्पी स्किनबाट कोशी प्रदेशमा १७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरका अनुसार २०८० जेठ ३० गतेसम्ममा ३ हजार ४ सय ६४ चौपाया मरेका छन् । नेपाल पशु चिकित्सा परिषद्ले हालै गरेको अध्ययनअनुसार प्रतिपशु न्यूनतम् ४९ हजार १ सय ३५ रुपैयाँ पर्ने देखाएको छ ।

कोशी प्रदेशका १४ जिल्लामा गाईगोरु, भैसीराँगा मरेको  र एउटा पशुको मूल्यको आधारमा १७ करोड २ लाख ३ हजार ६ सय ४० बराबर क्षति भएको हो । निर्देशनालयले भने क्षतिपूर्तिको यकिन तथ्याङ्क नआएको जनाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले अध्ययनपश्चात् सरकारलाई दिएको परामर्श पत्रमा नेपालमा गाई ७४ लाख १३ हजार १ सय ९७ र भैंसी ५१ लाख ३२ हजार ९ सय १३ गरी कुल १ करोड २५ लाख ४६ हजार १ सय २८ गाईभैंसी रहेको जनाइएको छ । यस तथ्यका आधारमा अनुमानित २० प्रतिशत पशुमा रोग सर्ने दर, नेपालको हालको मृत्युदर ३.८ प्रतिशत र प्रतिपुश ४९ हजार १ सय ३५ नोक्सान हुने देखिन्छ ।

प्रतिपशुको मूल्यका आधारमा २०८० जेठ ३० गतेसम्ममा झापामा ३ सय ४० पशु मर्दा १ करोड ६७ लाख ५ हजार ९ सय क्षति भएको छ । इलाममा १ हजार ७ सय ४१ पशु मर्दा ८ करोड ५५ लाख ४४ हजार ३५ रुपैयाँ क्षति भएको छ । मोरङमा १ सय ८७ पशु मर्दा ९१ लाख ८८ हजार २ सय ४५ क्षति भएको छ । उदयपुरमा २ सय २६ मर्दा १ करोड ११ लाख ०४ हजार ५ सय १० रुपैयाँ क्षति भएको छ । खोटाङमा १ सय ५५ पशु मर्दा ७६ लाख १५ हजार ९ सय २५ रुपैयाँ क्षति भएको छ । ओखलढुङ्गामा ६९ पशु मर्दा ३३ लाख ९० हजार ३ सय १५ रुपैयाँ क्षति भएको छ । धनकुटामा १ सय १२ पशु मर्दा ५५ लाख ३ हजार १ सय २० रुपैयाँ क्षति भएको छ । तेह्रथुममा ६४ पशु मर्दा ३१ लाख ४४ हजार ६ सय ४० रुपैयाँ क्षति भएको छ । सङ्खुवासभामा ३ सय २३ पशु मर्दा १ करोड ५८ लाख ७० हजार ६ सय ५ रुपैयाँ क्षति भएको छ । भोजपुरमा ३३ पशु मर्दा १६ लाख २१ हजार ४ सय ५५ रुपैयाँ क्षति भएको छ । सुनसरीमा १ सय २३ पशु मर्दा ६० लाख ४३ हजार ६ सय ५ रुपैयाँ क्षति भएको छ ।

निर्देशनालयका अनुसार कोशी प्रदेशमा कुल १ लाख ५४ हजार ५ सय ६२ गाई, गोरु, भैंसी, राँगा सङ्क्रमित भएका छन् । १ हजार ३ सय ५४ भैंसी, राँगा रहेका छन् । यस्तै कुल ३ हजार ४ सय ६४ मरेकोमा ४३ भैंसी, राँगा रहेका छन् भने अन्य गाई, गोरु रहेका छन् । पशु सेवा विभाग ललितपुरका अनुसार मुलुकभर ‘लम्पी स्किन’ का कारणले २५ हजार ४ सय ८ चौपाया मरेका छन् । बुधबार विभागले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म सङ्क्रमित ६ लाख ८२ हजार ८० भएका थिए भने ४ लाख ९ हजार १ सय ७५ चौपाया निको भइसकेका छन् । २ लाख ४७ हजार ४ सय ९७ पशु सङ्क्रमित छन् । नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैंचा नगरपालिकाका गाईगोरुमा रोग देखापरेको ‘लम्पी स्किन’ हाल मनाङबाहेक ७६ वटा जिल्ला फैलिएको छ । प्रदेशभरमा कति पुँजीको क्षति भएको भन्ने यकिन तथ्याङ्क भने कुनै निकायसँग छैन ।

८२ प्रतिशत पशु चिकित्सकको दरबन्दी रिक्त   
नेपाल पशु चिकित्सा परिषद्को अध्ययनअनुसार नेपालमा ८२ दशमलव २ प्रतिशत स्थानीय तहमा पशु चिकित्सक दरबन्दी रिक्त रहेको छ ।

परिषद्को परामर्श पत्रमा ‘पशु रोगको उपचार, रोकथाम, नियन्त्रण गर्नका लागि स्थानीय तहमा रहेको ८२.२ प्रतिश पशु चिकित्सकहरूको दरबन्दी रिक्त रहेको र अधिकांश स्थानीय तहका वडाहरूमा पशु स्वास्थ्य प्राविधिकहरूको उपस्थिति न्यून रहेको छ’ उल्लेख गरिएको छ । सङ्घीयतापछि पशु सेवा केन्द्र खुम्चिएको परिषद्ले उल्लेख गरेको छ । सङ्घीयताअघि १ हजार पशु सेवा केन्द्रहरू भएकोमा पुनर्संरचनापश्चात् ७ सय ५३ मा खुम्चिएको अध्ययनले देखाएको छ । स्थानीय तहमा पशु चिकित्सा सेवा दिनका लागि हालसम्म चितवनको माडी नगरपालिकाबाहेक अन्य स्थानीय तहमा भेटेरिनरी अस्पतालको स्थापना तथा सञ्चालन गरेको छैन ।