इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा धार्मिक शिक्षातर्फ कक्षा ११ र १२ सञ्चालनमा ल्याइएको छ ।

भोक्राहा–४ मा रहेको जामिआ इस्लामियाले नेपाल सरकारबाट इजाजत प्राप्त गरी धार्मिक शिक्षातर्फ कक्षा ११ र १२ सञ्चालनमा ल्याएको हो । धार्मिक शिक्षातर्फ कक्षा ११ र १२ सञ्चालनको अनुमति पाउने पहिलो शैक्षिक संस्था भएको दाबी गरेको छ ।

जामिआ इस्लामिया भोक्राहाले गाउँपालिकाको सहयोगमा उच्च शिक्षाको बन्दोबस्ती मिलाइएको जनाएको छ । जामिआले पठन–पाठनतर्फ सरकारले तोकेका तीन वटा पाठ्यक्रम अनिवार्य रहने र बाँकी पाठ्यक्रम भने मुस्लिम धर्मअनुसारको हुने जनाएको छ । जामिआ स्लामियाका सचिव अम्जत हुसेनले लामो पर्खाइ र मिहिनेतपश्चात् धार्मिक शिक्षातर्फ कक्षा ११ र १२ सञ्चालन इजाजत प्राप्त भएको बताए । उनले पठन–पाठनमा डिजिटल शिक्षा पद्दति अपनाइने बताए ।

धार्मिक शिक्षालाई लक्षित गरी सञ्चालनमा ल्याइएको कक्षा ११ र १२ मा भोक्राहा मात्रै नभई मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेका छिमेकी पालिकाहरू कोसी र हरिनगर गाउँपालिकासमेत लाभान्वित हुने गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बताए ।

गाउँमै खुलेको मावि तहको स्कुलले विशेषगरी मुस्लिम समुदायभित्रका छोरीचेली लाभान्वित हुने आजादको भनाइ छ । अध्यक्ष आजादले टाढा गई उच्चशिक्षा अध्ययन गर्दाको असहजता र कठिनाइको अन्त्य भएको बताए । जामिआ इस्लामियाका अध्यक्ष हाजी अलाउद्दीनले विद्यार्थी आकर्षण बढाउन पालिकासँग मिलेर काम गरिने बताए । उनले जामिआले धार्मिक कक्षातर्फ कक्षा ११ र १२ सञ्चालनमा ल्याउन पाउनु ठूलो उपलब्धिको विषय भएको बताए ।