धरान । धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद टुङ्गोमा पुग्ने सम्भावना न्यून देखिएको छ ।

धरान उपमहानगरपालिकाले सोमबार राखेको सीमाक्षेत्र भनी लेखिएको बोर्ड इटहरी उपमहानगरपालिकाले यसपटक आधिकारिक रूपमै हटाएपछि विवाद झन् जटिल मोडमा पुगेको हो । यसअघि पनि धरान उपमहानगरपालिकाले राखेको बोर्ड नेकपा (एमाले) समर्थित युवा सङ्घ नेपालका कार्यकर्ताले हटाएका थिए ।

झण्डासहित आएका युवाहरूले बोर्ड हटाएपछि धरानका नगरप्रमुख हर्कराज राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीलाई निवेदन दिएको खुलाएका थिए । यता सोमबार राखेको आधिकारिक बोर्डलाई इटहरी उपमहानगरका नगर प्रहरी र कर्मचारीले नै हटाएका छन् । इटहरीले सेउती खोलालाई आधिकारिक रूपमा सीमा सुरु हुने जनाउँदै आएको छ ।

तर, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आधिकारिक नक्सामै धरानको सीमा इटहरी उपमहानगरपालिका–२० नम्बर वडास्थित पानीपियाभन्दा ३ सय मिटर माथि उल्लेख गरिएको नक्सा प्रकाशित गरेको छ । धरान उपमहानगरपालिकाले पनि आफ्नो आधिकारिक नक्सामा मन्त्रालयले जारी गरेको नक्सालाई नै आधार बनाएको छ । सोही आधारलाई मान्दै धरान नगरले सीमा बोर्ड पानीपियाभन्दा तीन सय मिटर माथि राख्दै आएको छ । धरानले राख्ने र इटहरीले उखेल्ने कारण नागरिकको तहमा समस्या हुनसक्ने भन्दै धरानका यातायात व्यवसायी सरोज श्रेष्ठले फेसबुकमार्फत् समाधान गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘दुई उपमहानगरको सीमा विवाद पटक–पटक भइरहेको र एउटाले राख्ने अर्कोले उखेल्ने । आखिर के हो सत्यता ? केही आधार भएर धरानले राखेको हो भने सत्यतथ्य बोल्न अन्य यतिका धेरै निकायहरू छन् किन बोल्दैनन् ? छलफल र संवादबाट सीमा विवादको समाधान गर, भोलि कुनै अप्रिय घटना नघटोस् ।’ यता इटहरीवासी दीपेश ढुङ्गानाले सामाजिक सञ्जालमा आक्रोससहितको स्टाटस लेखेका छन्, ‘के मजाक चल्दै छ । पूरै इटहरी नै धरानलाई सुम्पिँदा हुन्छ । इटहरीमा त खोइ कोही होला जस्तो लागेन ?’ धरान र इटहरीको सीमा विवादको सुरुवात पहिलो स्थानीय तहको चुनावयता नै भएको हो । इटहरीका तत्कालीन नगरप्रमुख द्वारिकलाल चौधरी र धरानकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले पनि समस्या समाधानका लागि छलफल गरेका थिए । तर, समस्या समाधान हुन सकेको थिएन ।

त्यसयता बेला बेलामा विवाद बढ्दै आएको छ । यता इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले सामाजिक सञ्जलाहरूमा समन्वय र संवादमार्फत् हल गर्नुपर्ने बताउँदै आइरहेका छन् । इटहरी उपमहानगरपालिकाका प्रवक्ता एवम् सूचना अधिकारी सूर्यप्रसाद सुवेदीले सीमा विवादको विषयमा आफूलाई आधिकारिक रूपमा जानकारी नआइसकेको र यसअघि पनि मौखिक रूपमा मात्रै आएकाले जवाफ दिन नसकिने बताए । उनले प्रमुख प्रशासकीय अधिकृतलाई बुझ्न भन्दै पन्छिए । यता प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने जिल्ला समन्वय समितिका प्रमुखलाई विवादको समाधान गर्नका लागि जानकारी गराइसकेको बताए । उनले राजनीतिक मुद्दा भएकाले राजनीतिक हिसाबमै अन्त्य गर्नुपर्ने बताए ।

यता सीमा विवादलाई ध्यान नदिएको भन्दै जिल्ला समन्वय समितिमाथि आक्रोस पोखिँदै आएको छ । यसैबीच विवादलाई जिससले गम्भीरतापूर्वक लिएको प्रमुख राजन मेहताले जानकारी दिए । फोनसम्पर्कमा उनले भने, ‘धरान इटहरीकै प्रशासकीय अधिकृतहरू र मेयरहरूसँग कुरा हुँदैछ । बसेर यसलाई समाधान गर्ने भन्ने छ । चाँडोभन्दा चाँडो समाधान खोज्नेतिर लाग्दै छु ।’ उनका अनुसार दुवै उपमहानगर भएकाले यसअघि इटहरीमा गाँभिएको तरहरा गाविसको साँधसीमा कहाँसम्म थियो, त्यो बुझ्ने कामहरू पनि भइरहेको छ । सीमा विवादलाई चाँडै समाधान गर्ने उनले बताए ।