- १६ महिनामा तीन मेसु परिवर्तन ।
- ६ महिना पनि टिक्न नपाई मेसु परिवर्तन ।
- १ वर्षमा फेरिएका तीन जना मेसुले ६ महिना पनि पूरा गरेनन् कार्यकाल ।
विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा सङ्घीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुने गरेको छ ।
स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो । कोशीका निमित्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका छन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त गरिएको छ । झा चार महिनाअघि बढुवा भएका ११ औं तहका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत रहेका छन् । कोशीमा काम गर्नुअघि उनी मेची अस्पतालमा कार्यरत थिए । समायोजन भएपछि झाले कोशी अस्पताल रोजेका थिए । उनी २०७६ सालदेखि कार्यरत रहेका छन् ।
सिंहले भने गत फागुन २ गते कोशीको निमित्त मेसु भएर कार्यभार सम्हाल्दै आएका थिए । झा मेसु नियुक्ति भएसँगै सिंह पुरानै जिम्मेवारीमा फर्किएका छन् । सङ्घीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने कोशीको पुरानै रोग रहेको छ । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेसबाट मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बहाल रहेका छन् । स्वास्थ्यमन्त्रीमा बहाल भएपछि मन्त्री बस्नेतले स्थानीय नेताहरूको दबावमा अस्पतालका सर्जन डा. सिंहलाई चार महिनामै हटाएर नयाँ मेसुमा झालाई नियुक्त गरेका हुन् । आइतबार मन्त्रीस्तरीय निर्णयले झालाई मेसुमा नियुक्त गरेको हो । उनले मङ्गलबार कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
कोशी अस्पतालमा मेसुको ११ औं तहको दरबन्दी छ । मेसुमा नियुक्ति भएका झा ११ औं तहकै चिकित्सक हुन् । कोशीमा ११ औं तहका डा. दीपक सिग्देल र बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी मात्र रहेका छन् । यसरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री परिवर्तन भएसँगै छोटो अवधिमा मेसु परिवर्तन हुँदा अस्पतालको काम कारबाही प्रभावित हुने गरेको अस्पतालका कर्मचारी बताउँछन् । ‘नयाँ आएका मेसुले अस्पताल प्रशासन र सेवाहरूको बारेमा बुझ्न २–३ महिना लाग्छ । सेवा प्रवाह सुधार गरी लैजाने तयारी गर्दा गर्दै बुझेका मेसु र विकास समितिबीच तालमेल नहुँदा राजनैतिक दबावको कारणले परिवर्तन हुने गरेको छ । ‘यसरी छिटोछिटो मेसु फेरिँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुने गर्दछ’ –अस्पताल प्रशासनका कर्मचारी बताउँछन् ।
अस्पतालमा राजनीतिक दलहरूले आफ्ना मान्छेहरू भर्ना गर्ने र दक्ष जनशक्ति भर्ना नगर्दा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको छ । अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका बीचमा समन्वय नहुँदासमेत अस्पतालमा समस्या भएको छ । अस्पताल विकास समितिका सदस्य देवा यादवले चाँडै मेसु परिवर्तन हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या सिर्जना हुने गरेको बताए । ‘एउटा अस्पताल विकास समिति छ, अर्को नियुक्ति गरेर सरकार नै पठाउँछ, राम्रोसँगले काम गर्नै पाउँदैन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिदिन्छ र कर्मचारी नियुक्तिमा लाग्छ अनि कसरी अस्पताल सुधार हुन्छ र ?’–उनी भन्छन् ।
तीन वर्षमा ७ जना मेसु फेरिए
अस्पतालमा ०७६ सालयता मात्रै ७ जना मेसु परिवर्तन भएका छन् । ०७६ सालअघि अस्पतालको मेसु हालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन खड्का थिए । उनलाई २०७६ भदौ १ गते स्वास्थ्य मन्त्रालयमा सरुवा गरेसँगै तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गुणराज लोहनीलाई मेसुमा नियुक्त गरेका थिए ।
लोहनी ०७६ भदौ १ गतेदेखि ४ महिना पूरा नभई पुनः अर्को मेसु नियुक्त गरिएको थियो । उनै यादवले डाक्टर सङ्गीता कुशल मिश्रलाई २०७६ पुस २५ गते मेसुमा नियुक्त गरे । स्वास्थ्य मन्त्रीबाट यादव हटेर स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल आएसँगै मिश्रले पनि पाँच महिना मात्रै आफ्नो कार्यकाल पूरा गर्न पाइन् । ढकालले मिश्रलाई हटाउँदै डाक्टर चुमनलाल दासलाई २०७७ असार १ गतेदेखि मेसु पदमा जिम्मेवारी दिए । दास भने झन्डै २० महिना मेसुको भूमिकामा रहेका थिए ।
१६ महिनामा तीन जना मेसु फेरिए
कोशीमा पछिल्लो १६ महिनामा तीन जना मेसु परिवर्तन भएका छन् । २०७८ फागुन ५ गते स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर यज्ञराज खरेललाई मेसुमा नियुक्त गरिएको थियो । खरेलले ६ महिना पूरा हुन नपाउँदै मन्त्री खतिवडाको पद धरापमा पर्यो । खतिवडाको ठाउँमा स्वास्थ्य मन्त्री भवानी खापुङ नियुक्त भए । उनै खापुङले डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए । त्यसपछि खरेल २०७९ भदौ १५ गतेदेखि अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए ।
२०७९ भदौ १६ गते डाक्टर यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताको दबावले उनको जिम्मेवारी खोस्यो । मन्त्रालयले २०७९ फागुन २ निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको थियो । सिंहले जिम्मेवारी सम्हालेको ४ महिनापछि नयाँ मेसुमा चन्द्रभाल झा आएका छन् ।
कोशी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्डअनुसार कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढङ्गले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।
साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपीडीमा १ हजारदेखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।