कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालमा राजनीति दलको खेलोफड्को राम्रैसँग छ भन्ने १६ महिनामा तीन जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएकोबाट पुष्टि हुन्छ । अस्पताललाई राजनीतिक अखडा बनाउने ‘राजनीतिक दलहरूको पुरानै रोग’ हो । नेपालमा राजनीतिक दलहरूले नछोएको कुनै पनि यस्तो ठाउँ अब रहेन । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पनि राजनीति गरिनु सर्मनाक विषय हो । पछिल्लो १६ महिनाको अवधिमा एउटा मेसु करिब ६ महिनाको हाराहारीमात्रै टिकेका उदारहण छन् । यो लज्जास्पद विषय हो । सरकार परिवर्तनसँगै मेसु परिवर्तन हुँदा त्यसको प्रत्यक्ष असर अस्पताल व्यवस्थापनमा पर्न जान्छ । अर्कातिर मेसुले राम्रोसँग आफ्नो जिम्मेवारी बहन नै नगरी फिर्ता हुने अवस्था हुन्छ । यसले उनीहरूमा काम गर्ने तत्परतामाथि आँच आउँछ । सङ्घीय सरकारमा परिवर्तन हुने स्वास्थ्यमन्त्रीपिच्छे नै मेसुु परिवर्तन हुने संस्कारको अन्त्य गरिनुपर्छ । यो घोर निन्दनीय कार्य हो ।

अस्पताललाई ‘गैर राजनीतिक’ क्षेत्रको रूपमा विकास गर्नुपर्छ । अस्पतालमा मेसु परिवर्तन गरिरहने प्रवृत्तिले अस्पतालको वृत्ति विकासमा तीव्र रूपमा ह्रास आउँछ । योग्य व्यक्तिलाई एकपटक नियुक्त गरिसकेपछि कम्तीमा पनि उसको कार्यकाल पूरा गर्ने अवसर दिनुपर्छ । उसले गरेका कामहरू चित्त नबुझेको अवस्थामा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार सरकारसँग हुनुपर्छ । वैधानिक तवरबाट कानूनी हिसाबमा जाने हो भने त्यसले गतिलो अर्थ राख्छ । राजनीतिक नियुक्तिले गर्दा अस्पतालभित्र पनि राजनीतिक दलप्रति आस्था राख्ने चिकित्सकहरूको बाहुल्यता बढ्छ । त्यहाँ कामभन्दा पनि बढी राजनीति हुने अवस्था सिर्जना हुन्छ । भागबण्डाको राजनीति सुरु हुन सक्छ । यसले गर्दा अस्पतालको वृत्ति विकासमा तीव्र रूपमा ह्रास आउँछ । त्यो वातावरण तयार गर्नु नै अहिलेको अवस्थामा गम्भीर भुल हो । यस्ता भुलहरूलाई बेलैमा सुधार गर्न आवश्यक छ । नेपालमा अहिले पनि राजनीतिमा नलागी वृत्ति विकास हुँदैन भन्ने धारणा विकास हुँदै गएको छ । यो हुनु सरासर गलत हो । यस्तो प्रवृत्तिको विकास हुँदै गएमा भविष्य डामाडोल हुने देखिँदै छ । जुनसुकै क्षेत्रमा पनि यस्तो प्रवृत्ति मौलाउँदै गएको छ । यो प्रवृत्ति मौलाउने वातावरण कसले सिर्जना गरेको छ ? किन यस्तो प्रवृत्ति हावी भइरहेको छ ? यसतर्फ राजनीतिक दलहरू गम्भीर भएर सोच्न आवश्यक छ । आज हाम्रो सामुदायिक शिक्षा किन यति साह्रो खस्कियो ? भन्ने मनन् गर्ने हो भने पक्कै पनि उत्तरहरू भेटिनेछन् । कम्तीमा स्वास्थ्य र शिक्षा क्षेत्रमा राजनीति नगरिदिने हो भने भोलिको भविष्य सुनिश्चित छ, अन्यथा हामी यस्तो दलदलमा फस्दै छौँ । जहाँबाट बाहिर निस्कन हामीलाई गाह्रो हुने निश्चित छ । यसको अन्त्य आजैबाट र अहिलेबाटै सुरु गरिनुपर्छ ।

कोशी अस्पताल विगतभन्दा धेरै सुधार भएको अस्पताल हो । यसका भौतिक संरचनादेखि लिएर स्वास्थ्य सेवामा पनि सुधार भएको अवस्था छ । कुनै समय यो अस्पतालको हवीगत कस्तो थियो ? र आज कस्तो छ सबै भलिभाँती जानकार छन् । यसकारण पनि अब यो अस्पताललाई कोशी प्रदेशको उच्चतम् गुणस्तरयुक्त अस्पताल निर्माण गर्नु आजको आवश्यकता हो । यो आवश्यकतालाई मध्यनजर गर्दै सङ्घीय सरकारका स्वास्थ्यमन्त्रीहरूले आफू अनुकूलको मेसु ल्याउने र फिर्ता पठाउने यत्नको अन्त्य गरिनुपर्छ । अस्पतालको हित अनुकूल काम गर्ने मेसुलाई ल्याउने व्यवस्था गरिनु चाहिँ सबैको हितअनुरूप हो । हेर्दा सामान्य लागे पनि मेसु परिवर्तनले एउटा ठूलो अर्थ राख्छ । अस्पतालको व्यवस्थापनदेखि चुस्त, दुरुस्त राख्नेसम्मको काममा मेसुको भूमिका हुन्छ । चिकित्सकहरूलाई नियमित गर्नेदेखि लिएर अस्पतालको श्रीवृद्धिका लागि पनि महŒवपूर्ण भूमिका हुन्छ । मेसु एउटा पद मात्रै होइन । यो एउटा संस्कार र संस्कृतिको धरोहर पनि हो । यो धरोहरलाई जीवन्त राख्नका लागि राजनीतिक दलहरूले ‘राजनीतिलाई बन्द’ गरिनुपर्छ । राजनीति बन्द भए मात्रै अस्पतालको उन्नयन हुन्छ । अन्थया राजनीतिको भुमरीमा फस्दै जानेछ । अन्ततः त्यसले समग्र प्रणालीलाई नै ध्वस्त बनाउनेछ ।