जोगवनी–किमाथाङ्का व्यापारिक राजमार्गअन्तर्गत धरान सडक–खण्डमा ८० फिट बनाउने बुधबार बसेको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
यसअघि सातौं नगरसभाले गरेको निर्णयलाई निरन्तरता दिने कार्यपालिकाले निर्णय गरेको नगरका वरिष्ठ प्रशासकीय अधिकृत शम्भुप्रसाद पाण्डेले जानकारी दिए ।
तत्कालीन नगरप्रमुख तिलक राईको पालामा ८० फिट बनाउनका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बुधबारको कार्यपालिका बैठकले सोही निर्णयलाई निरन्तरता दिने निर्णय गरेको हो ।
राजमार्गको मापदण्डअनुसार केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर चौडाइ हुनुपर्ने हो । धरान–८ तीनकुनेदेखि धरान–४ भेडेटारसम्मको सडकमा कति मापदण्ड भन्ने विषयमा राजनीतिक दलको आ–आफ्नो मत रहेको छ भने नगरले अग्रसरता नदेखाउँदा अन्यौल हुँदै आएको छ ।
यता जोगवनी–किमाथाङ्का राजमार्ग आयोजना इटहरीका प्रमुख दानबहादुर शाक्यले नगरले सडकको सीमा खाली गरिदिएमा बनाउन तयार भएको बताए ।
उनले भने, ‘नगरको निर्णय जनताले मान्नुप¥यो ।’ उनले सडकको सीमा कायम गर्नुपर्ने नागरिकको माग भएको बताए । सडक आसपासको १ सय २० फिट जग्गा रोक्का हुँदा स्थानीय समस्यामा पर्दै आएका छन् ।
यस्तै कार्यपालिका बैठकले धरानका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा थप गर्न अनुमति दिने निर्णय पनि गरेको छ । कक्षा ११ र १२ विभिन्न विषयमा कक्षा थप गर्न अनुमति दिने निर्णय गरेको नगरका प्रवक्ता तथा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर (भट्टराई)ले जानकारी दिए ।
धरान–१५ स्थित तीनकुने र भेडेटारमा सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ । विशेषगरेर पर्यटनसम्बन्धी सूचना प्रदान गर्ने उद्देश्यले केन्द्र स्थापना गरिने निर्णय गरेको हो ।