विषय प्रवेशः

पछिल्लो समय समाजवाद निकै जनप्रिय पदावली भएको छ । समग्रमा यो लोकप्रिय, कर्णप्रिय र ध्वनिप्रिय स्थापित नारा सावित भइरहेको छ । पुँजीवादी संसदीय लोकतन्त्रको असमान, विभेद र शोषणजन्य व्यवहारबाट आजीत आम जनताहरूलाई समाजवादी स्वाद थाहा छैन । तर, पनि उनीहरू सबैले स्वादिलो हुन्छ भनेकै र सुनेकै भरमा चाँडै चाख्न वा स्वाद लिन लालायित छन् । उनीहरूमा समाजवादी अनुभव लिने हुट्हुटी र व्यग्र इच्छा थामिनसक्नु छ ।

समानता र न्यायको एकल शर्तमा त्याग र बलिदान दिन पनि तयार छन् । उत्पीडक र उत्पीडित सबै वर्ग, जाति, क्षेत्र र लिङ्गले समान अधिकार र व्यवहार पाउँछन् भने जस्तोसुकै दुःख–कष्ट र हैरानी झेल्न पनि राजी छन् । अर्थात् उनीहरूमा कहिल्यै नचिनेको, नभेटेको र नदेखेको वा अपरिचित समाजवादी इमोसन चिने बराबरै मनमुटुमै गडेको छ । दिल–दिमागमा उनिएको वा जेलिएको छ । सुन्दर सपनाको तलाउहरूमा छचल्किएको छ, बगेको छ अनि सजिएको छ । 

यही संवेगात्मक वस्तुगत भावभूमिमा तमाम् राजनैतिक पार्टी, नेता र कार्यकर्ताहरूलाई भने यो शब्दावली भजाएर खाने भाँडो बनेको छ । यसको लागि समाजवादी कार्यदिशा र कार्यक्रम आवश्यक पर्दैन । केवल नारा घन्काए हुन्छ । भाषण र वक्तव्यबाजी गरे पुग्छ । यसले सक्कली र नक्कली समाजवादीहरू हात्तीछाप चप्पलजस्तो उस्तै उस्तै भएका छन् ।

अर्थात् यो जनताका कमलो भावना र चाहनामा इमोसनल ब्ल्याकमेलिङ गर्ने राम्रो मसला बनेको छ । आवधिक चुनावमा जनता झुक्याउने वा दिग्भ्रमित पार्ने रामवाण अस्त्र भएको छ । मतदातासँग जोडिने वा नजिकिने कडी बनेको छ । वस्तुतः यस्तो रवैयाले आवधिक चुनाव त जितिएला, सरकार पनि बनाइएला अनि सांसद् र मन्त्री पनि भइएला तर, समाजवादमा भने पुग्न सकिँदैन । यसको लागि नितान्त भिन्न ढङ्गले पहलकदमी लिन जरुरी छ । 

समाजवादी सिद्धान्तः

संसदीय पुँजीवादी अभ्यासबाट मात्र समाजवादमा सङ्क्रमण सम्भव हुँदैन । संविधानमा लेखेर मात्र पनि समाजवाद स्थापित हुँदैन । यसको लागि समाजवादी सिद्धान्त, आन्दोलन, कार्यदिशा, कार्यक्रम र कार्ययोजना अनिवार्य हुन्छ, जुन कम्युनिष्ट दर्शनमा आधारित हुनुपर्दछ । यसले अलिक पृथक आन्दोलनको माग गर्दछ ।

नेपालमा कतिपय कम्युनिष्ट नामधारी, लोगोधारी र झण्डाधारी पार्टीहरू पनि समाजवादको पक्षमा छैनन् । वस्तुतः समाजवादलाई उनीहरूले अस्थायी चुनावी नारा मात्र बनाइरहेको देखिन्छ । उनीहरूलाई संसदीय हावाहुण्डरीले नराम्ररी लतारिसकेको छ । यस्तो प्रतिकूल परिस्थितिमा समाजवादी सिद्धान्तलाई स्थापित गर्ने सवाल निकै चुनौतीपूर्ण हुन्छ ।

यद्यपि समाजवादी बाटोमा जाने नै हो भने यसको अर्को सहज र समथर विकल्प पनि छैन । यही बहुमतीय सरकार र अल्पमतीय विपक्ष आलोपालोको अनन्त शृङ्खलाहरूमा मात्र समाजवाद भेट्न सकिँदैन । यसको लागि समाजवादी दृष्टिकोणद्वारा निर्देशित भिन्न आन्दोलनको प्रक्रिया गुजार्नै पर्दछ ।

आफैंबाट आरम्भ गर्ने 

वर्तमान औसत तेरो–मेरो निहीत स्वार्थ बोकेर समाजवादमा पुग्न सकिन्न । हाम्रो राष्ट्रिय राजनैतिक जीवन–व्यवहारमा अभ्यास गरिँदै आएको जीवनशैली र कार्यशैली समाजवादी आधार तयार गर्ने सन्दर्भमा सहयोगी देखिँदैन । यसले केवल संसदीय चुनावदेखि चुनावसम्म मात्र फन्फनी घुमाइरहन्छ ।

पद, पावर र प्रतिष्ठा खोजीको गोलचक्करमा रिङ्ग्याइरहन्छ । त्यसैले समाजवादको लागि सबैभन्दा पहिला तपाईं हामी रूपान्तरण हुन जरुरी छ । हाम्रो जीवनशैली, कार्यशैली, संस्कार–संस्कृति, उठबस, खानपान र समग्र सामाजिक जीवन–व्यवहार वा सामाजिकी बदल्न जरुरी छ । आजैबाट सरकार सरकारकै ठाउँबाट, पार्टी पार्टीकै ठाउँबाट, नेता नेताकै ठाउँबाट, कार्यकर्ता कार्यकर्ताकै ठाउँबाट अनि सङ्घ–संस्था सङ्घ–संस्थाकै ठाउँबाट रूपान्तरण भएर जाँदा मात्रै समाजवादी ऐतिहासिक मिसन पूरा गर्न सकिन्छ ।

किनभने समाजवाद भनेको भाँडाकुटी खेलेजस्तो होइन । यो कसैको नारा, भाषण, वक्तव्यबाजी र प्रतिबद्धता व्यक्त गरेकै भरमा प्राप्त हुने समाज व्यवस्था होइन । यसको लागि आन्दोलनको निकै लामो ऐतिहासिक प्रक्रिया गुजार्नै पर्दछ । तब समाजवादको लागि तपाईं हामीले रूपान्तरण हुने हिम्मत गर्नैपर्दछ । अन्यथा समाजवाद पदावली पुस्तौंसम्म चुनावी मसला मात्रै बनिरहनेछ ।

दलगत र व्यक्तिगत स्वार्थ त्यागः

समाजवादमा आधारभुत रूपमै सामूहिक वा साझा उत्पादन पद्दति हुन्छ । यसमा साझा एवम् सामाजिक स्वार्थ मात्र राखिन्छ । यहाँ तेरो–मेरो निहीत स्वार्थ हुँदैन । अर्थात् दलगत र व्यक्तिगत स्वार्थको रथमा चढेर समाजवादी गन्तव्य तय गर्न सकिँदैन । यो साश्वत् सत्य हो । आज नेपाली समाजमा म, मेरो परिवार, आफन्त, साथीभाइ र चिनेजानेकाहरूको स्वार्थद्वारा निर्देशित छ । यसका अतिरिक्त व्यावसायिक, प्रशासनिक र संस्थागत स्वार्थ मिलाउने प्रचलन छ ।

त्यो भनेको व्यक्तिगत निहीत स्वार्थद्वारा परिचालित हुनु हो । यस्तो दलगत, व्यक्तिगत, परिवारगत, आफन्तगत, साथीभाइगत, चिनजानगत, क्षेत्रीयगत र भनसुनगत पद्दतिको माध्यमबाट कहिल्यै पनि समाजवादमा पुग्न सकिँदैन । यसले हामीलाई यही आवधिक चुनावदेखि चुनावसम्म, संसद्वाददेखि संसद्वादसम्म अनि औसत सरकार गठन र विघटनको दुष्चक्रमा फन्फनी घुमाइरहन्छ । यही प्रणालीको सहज परिधिमा घुमेर अर्को ग्रह पुग्न सकिँदैन ।

अर्थात् चन्द्रकक्षमा घुमेर सूर्य परिक्रमा गर्न सकिँदैन । तेरो–मेरो निहीत स्वार्थी सोच चिन्तन र लोभपाप बोकेर समाजवाद स्थापित हुँदैन । त्यसैले निहीत तथा निकृष्ट स्वार्थ त्यागेर सामूहिक स्वार्थ अनुसरण नगरेसम्म समाजवाद स्थापना गर्न सकिन्न ।

श्रमसंस्कृतिः

पुँजीवादमा श्रमसंस्कृति हुँदैन । यहाँ श्रमलाई हेयभावबाट हेरिन्छ । दुःखी गरिबहरूले मात्र श्रम गर्छन् भन्ने भाष्य बनाइएको हुन्छ । सम्भ्रान्तहरू कुनै पनि किसिमको श्रम गर्दैनन् । उनीहरू श्रमिकवर्गमाथिको शोषण र विभेदबाट प्राप्त अतिरिक्त नाफा वा मूल्यबाट मोटाउने गर्दछन् । यही पुँजीवादी दृष्टिकोणको कारण नेपालमा पनि श्रमसंस्कृति छैन ।

यहाँ श्रम गर्नेलाई सम्मान गरिँदैन, उल्टै हेप्ने गरिन्छ । ठालु पल्टिएर काम नगरी बस्नेहरूलाई मानसम्मानसँगै ठूलाबडा अनि भलादमीको संज्ञा दिइन्छ । यही अर्थराजनीतिक दृष्टिकोणमा रहेको दृष्टिदोषको कारण यहाँ मान्छेहरू श्रम गर्न लजाउने, धकाउने, सङ्कोच मान्ने अनि लघुताभाष गर्छन् । तर, यता श्रम विना समाजवादको कल्पनै गर्न सकिन्न ।

समाजवादीहरू मानव सभ्यताको विकास श्रमबाट भएको तथ्य स्वीकार गर्छन् । उता पुँजीवादीहरू भने कुनै अमूक वीरबहादुरहरूले रचना गरेको दावी गर्छन् । मूलतः समाजवादको आधार नै सामूहिक श्रम हो । सिङ्गो समाजलाई एउटै परिवार मान्दै क्षमताअनुसारको काम र कामअनुसारको दाम समाजवादी मान्यता हो ।

अर्थात् क्षमताअनुसारको श्रम सबैलाई अनिवार्य गरिन्छ । वस्तुतः समाजवाद भनेको भजन–कीर्तन र रुद्रीवाचनबाट प्राप्त हुँदैन । यो निकै कष्टसाध्य लामो प्रक्रिया हो । यसको लागि श्रम, रगत–पसिना, मेहनत र त्याग अनिवार्य हुन्छ । यसकारण समाजवादको लागि श्रमसंस्कृतिको संस्थागत विकास पहिलो शर्त हुन्छ । 

राष्ट्रिय पुँजी निर्माणः

पुँजीवादी संसदीय प्रणालीमा दलाल पुँजी हावी हुन्छ । परनिर्भरता चरम् उत्कर्षमा पुग्दछ । मागेरै भए पनि राम्रो लगाउने र मीठो खाने भन्ने उपभोगवादी र रूपवादी सोच हाबी हुन्छ । आयातित वस्तुहरूप्रतिको आकर्षण असाध्यै बढी हुन्छ । सिर्जना र निर्माणमा होइन, अनुत्पादनशील क्षेत्र अन्तर्गत देखासिकी र नक्कल अचाक्ली हुन्छ ।

स्वदेशी उत्पादनलाई निरुत्साहित गरिन्छ भने विदेशी वस्तुहरू फेसन र विशिष्ट ब्राण्डको रूपमा प्रोत्साहित गरिन्छ । मुलुकको सार्वभौमिकतालाई लिलाम गरिन्छ । यस्तो रवैयाले समाजवाद कल्पनै गर्न सकिन्न । समाजवादको लागि राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र पहिलो शर्त हुन्छ । बलियो अर्थतन्त्र विना समाजवाद टिक्दैन । स्वदेशी उत्पादन र उपभोगमा जोड दिनुपर्दछ ।

‘मेड इन नेपाल’ नीति लागू गर्नुपर्दछ । बाहिरको सामान ल्याउनै परे पनि दोहोरो व्यापार गर्ने हैसियत हुनुपर्दछ । राष्ट्रिय पुँजी निर्माणको लागि कृषिको आधुनिकीकरण र वैज्ञानिकीकरण अनि औद्योगिकीकरण अनिवार्य हुन्छ । तब मात्र आत्मनिर्भर बन्न सकिन्छ । आत्मनिर्भर अर्थतन्त्रको पूर्ण विकास नगरी साँच्चैको समाजवाद सङ्क्रमण सम्भव हुँदैन ।

सुशासन

पुँजीवादमा कुरा र प्रतिबद्धतामा सुशासन भए तापनि व्यवहारतः कुशासनले घर गर्दछ । चारैतिर बेथिति र विसङ्गति हाबी हुन्छ । भ्रष्टाचार, कमिसन, तस्करी, महँगी र कानून वा दण्डहीनता उत्कर्षमा पुग्दछ । पद्दति, थिति, विधि र मूल्य–मान्यता शक्तिजन्य प्रभावको सामु निरीह हुन पुग्दछ । सक्ने वा कथित प्रभावशालीहरूको एकछत्र राज चल्दछ ।

सुशासनको सूचकाङ्कहरूलाई पद, पावर, प्रतिष्ठा र पैसाको पर्दाले छोप्ने गरिन्छ । तर, समाजवादको लागि उन्नत, सभ्य र सचेत पहलकदमीको जरुरत पर्दछ । थिति, विधि, पद्दति र मूल्य–मान्यता अपरिहार्य हुन्छ । वस्तुत समाजवाद भनेको अझ उन्नत बन्ने बनाउने प्रक्रिया हो । यसको लागि भ्रष्टाचार, कमिसन, तस्करी, लेनादेना, बेथिति, विसङ्गति अनि गलत परम्पराहरूलाई निस्तेज गर्नु पर्दछ । महँगी नियन्त्रण, सेवा पर्वाह चुस्तदुरुस्त राख्नु पर्दछ । तब मात्र समाजवादको आधार तयार हुँँदैजानेछ ।

सामाजिक न्यायः

पुँजीवादी उत्पादन पद्दतिमा सामाजिक न्यायकोे प्रत्याभूति हुँदैन । त्याग र अवसर स्रोतसाधन वा पहुँच हुनेहरूमा सीमित गरिन्छ । यो जसको शक्ति उसैको मस्तीमा आधारित समाजव्यवस्था हो । तर, समाजवाद भन्नु नै समानता र सामाजिक न्यायको पर्याय हो । यहाँ वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय आधारमा शोषण उत्पीडन गर्न पाइँदैन ।

यसले सबै मानव जातिलाई न्याय, समानता र अधिकार बराबरी हुनुपर्दछ भनेर वकालत गर्दछ । तब समाजवादमा सबै नागरिकहरूलाई समान शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुताको सुनिश्चितता गरिएको हुन्छ । समाजमा रहेकामध्ये पनि सबैभन्दा उत्पीडित, सीमान्तीकृत, अल्पसङ्ख्यक र हेपिएकाहरूलाई अधिकार प्राप्तिको सिलसिलामा सबैभन्दा पहिलो प्राथमिकतामा राखिन्छ । यहाँ मान, मर्यादा, पद, पावर, प्रतिष्ठा र पैसाको आधारमा विभेद गर्न पाइँदैन ।

यसकारण औसत चुनावी नारामा आधारित सामाजिक न्यायले मात्र समाजवादी आधारशिला थेग्न सक्दैन । यसको लागि ढिलो(चाँडो वास्तविक न्यायसहितको प्रक्रियागत आन्दोलन उठाउनै पर्दछ ।

निश्कर्षः

तसर्थ समाजवादी बाटोमा जाने भए समाजवादी सिद्धान्तलाई अनुसरण गरौं । आपैmबाट रूपान्तरणको निर्मम प्रक्रिया थालनी गरौं । पुरानो परम्पराले त्यहाँ पुगिँदैन । दलगत, समूहगत, व्यक्तिगत, आफन्तगत र साथीभाइगत स्वार्थबाट माथि उठौं । निहीत तथा निकृष्ट स्वार्थ र चिन्तनशैलीहरू बदलौं । श्रम गर्ने बानी बसालौं ।

समाजमा श्रम नै सबै समस्याहरूको समाधान हो भनेर दर्ज गरौं । दलाल पुँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय आत्मनिर्भर औद्योगिक पुँजी निर्माणमा सबै जुटौं । भ्रष्टाचार, कमिसन, बिचौलिया, तस्करी र महँगीलाई ठाउँको ठाउँ निस्तेज गर्दै सुशासनको जग हालौं ।  सबै नागरिकहरूलाई समानरूपमा समानता र सामाजिक न्यायको प्रत्याभूति दिलाऔं । तबमात्र समाजवाद सम्भव हुन्छ । अन्यथा यस्ता सबै बकवासहरू आवधिक चुनावमा मतदातालाई दिग्भ्रमित पार्ने रणनैतिक षड्यन्त्र मात्र हुनेछ । सबैलाई चेतना होस् !